ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?

ऋग्वेदलाई ऋषि अगस्त्यले लेखेको भनिन्छ । तर ऋग्वैदिक कालका यस्ता महिला पनि छन्, जसले ऋग्वेदका ऋचाहरू रचना गरेका थिए । हामी धेरैलाई थाहा नहुन सक्छ,ऋग्वेदका ऋचाहरू लेख्ने ती विदुषीको नाम हो— लोपामुद्रा ।
लोपामुद्रा महामुनि ऋषि अगस्त्यकी धर्मपत्नी थिइन् । अगस्त्य ऋषिलाई ‘मन्त्र द्रष्टा ऋषि’ पनि भनिन्छ ।




ऋषि अगस्त्यले सबै प्राणीको उत्तम–उत्तम अंगहरू लिएर एउटी कन्या उत्पत्ति गरे र पालन–पोषणका लागि उनले त्यो कन्या विदर्भराजलाई सुम्पिदिए । विदर्भराज निसन्तान थिए । त्यी कन्या ठुली हुँदै गइन् । विवाहयोग्य भएपछि अगस्त्य ऋषि ती कन्या स्वयं आफूलाई विवाहका लागि माग्न पुगे ।
अगस्त्य ऋषिले लोपामुद्रासँग विवाह गर्ने प्रस्ताव राखे । उनको प्रस्ताव सुनेर विदर्भ नरेश बिलखबन्दमा परे । विदर्भले ऋषिलाई आदर–सत्कारसहित आसनमा राखे । अनि आफ्नी पत्नीकहाँ गएर भने, ‘हे महारानी, यदि मैले हुँदैन भनुँ भने महर्षि रुष्ट हुनुहुनेछ । यदि हुन्छ भनुँ भने मेरी पुत्रीले तपस्विनीको जीवन बच्नुपर्नेछ ! म के गरुँ ? मेरो मन विचलित छ ।’
ऋषि अगस्त्यको यो प्रस्ताव लोपामुद्राले सखीहरूबाट सुनिन् । अनि उनी तुरन्त आफ्नो माता–पिताकहाँ आइन् । उनले माता–पितालाई आदरसहित प्रणाम गरेर भन्छिन्, ‘हे ! मातापिता ! परम ज्ञानी ऋषि अगस्त्यजस्ता महापुरुष अकारण केही पनि गर्दैनन् । गिरिवरनन्दिनी माता पार्वती सदैव तापस शिरोमणि शिवशंकरसँग विवाह गरेर जगज्जननी हुनुभयो । हाम्रो वंशको कीर्ति फैलाउन नै ऋषिवर आउनुभएको हुन सक्छ । हे माता ! हे पूज्य पिता ! हजुरहरू व्यर्थमा शोक नगर्नुहोस् । यही क्षण म महामुनि अगस्त्यजीलाई पतिको रूपमा वरण गर्दछु ।’
आफ्नी पुत्रीको बोधयुक्त वाणी सुनेर विदर्भ नरेश र महारानी अति प्रशन्न भए । शास्त्रोक्त विधिपूर्वक ऋषि अगस्त्यसँग लोपामुद्राको पाणिग्रहण संस्कार सम्पन्न भयो । पत्नीसहित अगस्त्यमुनि अगस्त्याश्रम आए ।
अनि ऋषि अगस्त्य पत्नीसँग भन्छन्, ‘देवी लोपामुद्रा ! यी बहुमूल्य आभूषण तथा रेशमी वस्त्रहरू जुन तिमीले लगाएकी छौ, अब यसको के प्रयोजन ? अतः यिनीहरूलाई त्यागिदेउ ।’
राजकुमारी लोपामुद्राले पतिको आदेश मानेर सुन्दर वस्त्रहरू फुकालेर चर्म र पातहरूले तन सजाइन् र आभूषणको स्थानमा रुद्राक्ष धारण गरिन् ।
त्यसपछि अगस्त्य ऋषि हरिद्वारमा आश्रम बनाएर बस्न थाले । पतिपरायण लोपामुद्रा बडो अहोभावले ऋषिको सेवा गर्न लागिन् । अगस्त्य ऋषि आफ्नी पत्नीलाई बडो प्रेम गर्दथे ।
एक दिन ऋतुस्नानपश्चात् तपले कान्तिमयी भएकी लोपामुद्रालाई ऋषिवरले देखे । पत्नीको सेवा, पवित्रता, संयम, कान्ति तथा रूप माधुर्यले उनलाई मुग्ध गरायो । समागमका लागि अगस्त्यले लोपामुद्रालाई आग्रह गरे ।
लोपामुद्राले लाज मान्दै भनिन्, ‘मुनिवर ! निस्सन्देह पतिले पत्नीलाई सन्तान प्राप्तिका लागि सांसारिक बन्धनमा बाँध्छन् । मेरो र हजुरको प्रीति सार्थक होस् । किन्तु हे ऋषिश्रेष्ठ ! यो तपस्विनी वेशभूषामा म हजुरको नजिक आउँदिनँ । कृपया, मैले पिताकहाँ लगाउने जस्तो नै वस्त्र–भूषण दिनुहोस् ।’
अगस्त्यमुनि भन्नुहुन्छ, ‘मसँग त्यत्रो धन ऐश्वर्य छैन ?’
अनि लोपामुद्रा संयमित भएर दृढ स्वरमा भन्छिन्, ‘स्वामी, हजुरको तपोबलको अगाडि कुबेरको सम्पत्ति, वैभव सबै नगण्य हुन्छन् । हजुरले इच्छा गर्नुभयो भने ती सारा सम्पत्ति तुरुन्तै प्राप्त हुन्छन् !’
अगस्त्यमुनि भन्नुहुन्छ, ‘तिमीले भनेको सत्य हो । ममा यो शक्ति छ । तर देवी ! मेरो सञ्चित तपोबल मैले यसरी प्रयोग गरे भने क्षीण हुन्छ । तर एउटा उपाय छ, कुनै सामथ्र्यवान् राजासँग दक्षिणा मागेर ल्याउँछु ।
अगस्त्यमुनि धेरै सामर्थवान् राजाहरू कहाँ गए । तर सबैले आफ्नो आय–व्यय घाटा देखाए । अन्त्यमा ती राजाहरूसहित अगस्त्यमुनि असुरराज इल्वल कहाँ गए । इल्वल निकै धनी थिए ।
अगस्त्यमुनि भन्नुहुन्छ, ‘हे असुरराज, इल्वल ! म तपाईंलाई सामथ्र्यवान् र धनकुबेर सम्झन्छु । अतः तपाईं मेरो सहायता गर्नुहोस् । म केही धन चाहन्छु ।’
इल्वलले अगस्त्यमुनिलाई आदर–सम्मान गरेर भन्छन्, ‘म हजुरलाई अवश्य धन दिन्छु तर मेरो आसुरीवृत्ति हजुरसँग एउटा प्रश्न सोध्न चाहन्छ । के हजुर यो भन्न सक्नुहुन्छ कि म हजुरलाई कति धन दिन चाहन्छु ? हजुरले मेरो गुप्त मनोभाव भन्न सक्नुभयो भने हजुरलाई धन दिनेछु ।
लोपामुद्राले गर्भाधारण गरेपछि ऋषि अगस्त्य तपस्या गर्न गए । सात वर्षसम्म गर्भ पेटमै रह्यो । सात वर्ष समाप्त भएपछि दृढस्यु नामक बुद्धिमान्, तेजस्वी पुत्रको जन्म भयो ।
अगस्त्य ऋषिले एक लामो श्वास लिनुभयो र सोच्नुभयो, ‘यो कस्तो अप्रिय प्रदर्शन–क्रीडा हो ?’
ज्ञानको महासमुद्र समान संसारको विलक्षण ज्ञानी अगस्त्य ऋषिको मनमा यो सुझाव मनपरेन ।
तैपनि उनी भन्छन्, ‘हे असुरराज ! मसँग तपाईंको राजप्रसादमा आउनुभएका हरेक राजनलाई तपाईं दश सहस्त्र गाई तथा दश सहस्त्र स्वर्णमुद्रा दिन चाहनुहुन्छ । मलाई उहाँहरूको भन्दा दुई गुना गाई तथा स्वर्णमुद्रा दिन चाहनुहुन्छ । स्वर्ण निर्मित रथ, जसमा मनको गतिभन्दा वेगवान् दुई अश्व विराव तथा सुराव पनि हुनेछन्, जसले धन राशिलाई बोकेर मेरो आश्रमसम्म पुर्याइदिन्छन् । तपाईं यही सबै मलाई दिन चाहनुहुन्छ ।’
ऋषि अगस्त्यले भनेको सुनेर सबै अचम्मित भए । इल्वल प्रशन्न भए । ऋषिलाई सहर्ष दान दिए र असुरराज पुण्यवान् भए । राजाहरूबाट बिदा भएर अगस्त्य ऋषि लोपामुद्रा कहाँ गए ।
प्रिय पत्नी लोपामुद्राको सबै मनोकामना ऋषि अगस्त्यले पूर्ण गरिदिए । लोपामुद्रा हर्षित भएर भन्छिन्, ‘हजुरले मेरो सबै मनोकामना पूर्ण गरिदिनुभयो । हे परम् तेजस्वी ऋषिवर ! कृपा गरेर मलाई एउटा यस्तो पुत्र दिनुहोस्, जो बुद्धिमान् होस्, बलशाली होस् तथा पराक्रमी बनोस् ।’
अगस्त्यजी भन्नुहुन्छ, ‘हे परम सुन्दरी ! तिम्रो यो प्रशन्न छविले म सन्तुष्ट छु । सन्तानको विषयमा मेरो विचार सुन । तिमी एउटा यस्तो पुत्र चाहन्छ्यौ, जो सहस्त्रको समकक्ष होस् या सय पुत्रको ?’
लोपामुद्रा भन्छिन्, ‘हे तपोधन ! म सहस्त्रको तुलनामा एउटा श्रेष्ठ पुत्र चाहन्छु । किनकि सहस्त्र अयोग्य पुरुषभन्दा एउटा योग्य एवं विद्वान् पुरुष नै श्रेष्ठ हुन्छ ।’ लोपामुद्राको निर्णय सुनेर अगस्त्य ऋषिले ‘तथास्तु’ भने ।
लोपामुद्राले गर्भाधारण गरेपछि ऋषि अगस्त्य तपस्या गर्न गए । सात वर्षसम्म गर्भ पेटमै रह्यो । सात वर्ष समाप्त भएपछि दृढस्यु नामक बुद्धिमान्, तेजस्वी पुत्रको जन्म भयो ।
राजसी वैभव त्यागेर ‘ऋषि’ महिलाका रूपमा वेदका ऋचा रचना गर्ने परम सुन्दरी लोपामुद्राको व्यक्तित्वले चिनाउँछ, उनी निष्काम कर्मयोगको पालन गर्ने एक पतिव्रता स्त्री थिइन् ।
पतिको पदचिह्नको अनुसरण गर्ने लोपामुद्रा वैदिक मन्त्रद्रष्टा हुनुका साथै यज्ञ–होम आदि सम्पन्न गराउन पनि प्रवीण थिइन् । किनकि ऋग्वैदिक कालमा स्त्रीहरू पनि वैदिक शिक्षा प्राप्त गर्थे, साथै उनीहरू पनि यज्ञ–होम आदि गर्थे । ऋग्वैदिक कालमा छोरीको पनि उपनयन संस्कार हुन्थ्यो । वैदिककालीन महिलाहरूलाई स्वतन्त्र जीवन बाँच्ने अधिकार थियो । विवाह आफ्नो चाहना र रुचिमा हुन्थ्यो । महिलाहरू अविवाहित पनि बस्न सक्थे । लोपामुद्रा त्यसकै एक उदाहरण हुन् । उनले अनेक ऋचाहरूको रचना गरिन् । यसैले उनलाई ‘ऋषि’ पनि भनिन्छ ।
अगस्त्य ऋषिकी पत्नी लोपामुद्रालाई ऋग्वेदका रचनाकारहरूमध्ये एक मानिन्छ । उनले ऋग्वेदका कतिपय छन्दहरू देवी रतिलाई समर्पित गरेकी छिन्, जसमा पति–पत्नीको सम्बन्धको अतिरिक्त ब्रह्मचर्यबारे व्याख्या गरिएको छ ।
अगस्त्यमुनि र लोपामुद्राको कथाको उल्लेख महाभारत, रामायण र पुराणमा पाइन्छ । लोपामुद्राको त्याग केवल भौतिक वस्तुको मात्र थिएन, उनले आफ्नो भावना र इच्छाहरूलाई पनि समर्पित गरिन् । यो कथाले केवल पौराणिक महत्त्व मात्र दर्शाउँदैन, अपितु आज पनि प्रेरणाको स्रोत बनेको छ । यो कहानीले हर व्यक्तिलाई जीवनमा धैर्य, प्रेम र त्यागको महत्त्व सिकाउँछ ।
अगस्त्यमुनि र उनकी पत्नी लोपामुद्राको कथाले एक अद्भुत आदर्श प्रस्तुत गर्छ । लोपामुद्राले आफ्नो राजसी जीवन त्यागेर तपसी जीवन अपनाइन् र अगस्त्यमुनिलाई साथ दिइन् । यो केवल एक साधु र उनकी पत्नीको प्रेम समर्पणको कहानी मात्र होइन, विवाहले गृहस्थ जीवन र आध्यात्मिक साधनाका बिचमा कसरी सन्तुलन कायम राख्न सक्छ भन्ने उदाहरण समेत हो । गृहस्थ जीवन र आध्यात्मिक साधनालाई साथै लिएर हिँड्यौँ भने जीवन सफल र सुफल दुवै हुन्छ भन्ने दृष्टान्त पनि हो, ऋषि अगत्स्य र लोपामुद्राको कथा ।
प्रतिक्रिया दिनुहोस्