राजावादी नेता घरै बसे, दुर्गा प्रसाईंले तीनकुनेमा भाँडभैलो मच्चाए

चिनिएका राजावादी नेताहरु दुर्गा प्रसाईंजस्ता विवादित व्यवसायीलाई कमान्डर मान्न अस्वीकार गर्दै घरै बसे । तीनकुनेमा राजसंस्था फर्काउने आन्दोलनको नेतृत्व गरेका प्रसाईंले भीडलाई प्रहरी र आम नागरिकविरुद्ध अराजक र उत्तेजक बन्न उक्साए ।
१५ चैत, काठमाडौं । राजावादी र समाजवादी मोर्चाका प्रदर्शनमध्ये कसमा कति सहभागी थिए भनी जान्नलाई केही प्रतिनिधि तस्बिर हेरे काफी हुन्छ ।




सायद त्यसैले राजधानीको तीनकुनेमा शुक्रबार सभा गर्नुभन्दा सर्वसाधारणका घरमा ढुंगा हान्नुमा, अनि प्रहरीमाथि जाइलाग्नुमा दुर्गा प्रसाईंले बढ्ता प्रभावकारिता देखे । उत्तेजक सूचनाहरुमा स्वतः खिचिने आम मानिसको आँखा, कान र ध्यान भृकुटीमण्डतर्फ कम, तीनकुनेतर्फ बढ्ता आकृष्ट भयो ।
सुरुमा राजसंस्था पुनस्र्थापनाको मागमा नाराजुलुस चलिरहेको थियो । जब कमान्डर दुर्गा प्रसाईं आए, तब स्थिति बिथोलियो । ढुंगा हान्न नपुगेर व्यक्तिका घरमा आगो लगाउन थालियो ।
राजावादी नाममा जुलुस सुरु हुँदा राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायत नेता भने घरै बसे । कोही संसदतिर पनि थिए ।
उनीहरु प्रसाईंको विगत तथा वर्तमानप्रति आपत्ति मात्रै जनाउँदैनन्, पूर्वराजा ज्ञानेन्द्रले अति विश्वास गर्न थालेकामा क्षुब्ध पनि छन् ।
माओवादी, एमाले हुँदै पूर्वराजा ज्ञानेन्द्रका विश्वासपात्र बन्न पुगेका प्रसाईंमा यो अतिआत्मविश्वास त्यसै बढेको होइन । बैंकका खराब ऋणीमध्ये एक प्रसाईं किन सामाजिक भड्काउको कोसिसमा छन्, अनि पूर्वराजा ज्ञानेन्द्रको धाम पाइरहेका छन्, यसको पृष्ठभूमि याद गर्नुपर्ने खालको छ ।

०४६ को परिवर्तनयता पूर्वपञ्च धारको नेतृत्व गर्दै आएको राप्रपालाई पूर्वराजा ज्ञानेन्द्र शाहले खासै भाउ दिँदैनन् । राप्रपाहरुले राजा फिर्ताको कुरा गरिरहे पनि राजसंस्था पुनस्र्थापनाका लागि जोडतोड नलगाएको उनको गुनासो छ । चलाख दुर्गा प्रसाईंलाई जब यो जानकारी हुन आयो, उनले राप्रपालाई उपेक्षामात्रै गरेनन् । सार्वजनिक रुपमा ललकार्न थाले ।
हिजो बिहीबार पनि यस्तै भयो । चाबहिलमा प्रेसमिट गर्नुअघि नवराज सुवेदी र प्रसाईंले पूर्वराजा शाहलाई निर्मल निवासमा भेटेका थिए । ४ चैतमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजक तोकिएका ८६ वर्षे सुवेदीप्रति राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, अनि कमल थापा नेतृत्वको राप्रपा नेपाल दुवै असन्तुष्ट थिए ।
०४६ को परिवर्तनपछि आफूहरू सधैं राजाको पक्षमा बोलिरहे पनि सुवेदी सम्पूर्णतः निस्क्रिय बसेको भन्दै उनीहरूको आपत्ति थियो । सुवेदी र करिब ८० वर्षको हाराहारीमा रहेका नेताहरूलाई अघि सारेर राजा फर्काउने आन्दोलनले गति लिन नसक्ने निर्मल निवासको बुझाई थियो ।
यस्तैमा बिहीबार सुवेदी नेतृत्वको राजसंस्था पुनर्सथापनाका लागि संयुक्त जनआन्दोलन समिति अन्तर्गत आज शुक्रबार हुने प्रदर्शनको कमान्डर तोकिए, दुर्गा प्रसाईं ।

लिङ्देन र थापालाई मज्जैले उपेक्षा गर्दै हिँडेका प्रसाईंले जब आफू प्रदर्शनको कमान्डर तोकिए, त्यसपछि आफ्नो मूल समिति अर्थात राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति र यसका संयोजकलाई समेत उपेक्षा गर्न थाले ।
तीनकुनेमा शुक्रबार राखिएको मूल ब्यानरमा पूर्वराजा ज्ञानेन्द्र र प्रसाईंको उत्रै साइजको तस्बिर छ, तर संयोजक सुवेदीको भने कुनै तस्बिर छैन । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत तस्बिर राखेका उनीहरुले पृथ्वीनारायण शाह र योगी आदित्यनाथको तस्बिर राखेका छन् ।
तर जुलुसले शान्तिपूर्ण हुने घोषणालाई कत्ति पनि कार्यान्वयन गरेन । विवादित धर्मगुरु आचार्य श्रीनिवास लगायत सहभागी जुलुसले प्रहरीमाथि ढुंगा हान्न थाल्यो । अनि निहत्था नागरिकका घर जलाउन सुरु गर्यो ।
तीनकुने जुलुसका प्रत्यक्षदर्शीहरू भन्छन्, ‘सुरुमा जुलुस राम्रोसँग अघि बढिरहेको थियो, दुर्गा दाइ आएपछि प्रहरीमाथि आक्रमण सुरु भयो । अनि अश्रुग्यास र तितरबितर चल्यो ।’
राप्रपाका एक उच्च नेताले दिएको संज्ञाअनुसार ‘दलभित्रका निर्दलीय व्यक्तिहरू’ ले प्रोत्साहित गरेका छन् प्रसाईंलाई । अहिले तीनकुनेमा मच्चिरहेको अराजकतालाई तिनैले मलजल गरेका छन् ।
विवादास्पद विगत भएका प्रसाईं अति महत्वाकांक्षी व्यवसायी हुन्, जसले मारवाडी लगायत समुदायविरुद्ध साम्प्रदायिक भड्काउ अभिव्यक्ति खुलमखुला दिन्छन् । व्यक्तिको चरित्रहत्या गर्नुमा कुनै जवाफदेहिता राख्दैनन् ।

तर यिनै प्रसाईंलाई हिजोआज पूर्वराजा ज्ञानेन्द्रले बढ्ता महत्व दिन थालेका छन् । केही महिनाअघि मेची किनारबाट राजसंस्था समर्थनमा मोटरसाइकल र्यालीको उद्घाटनमा स्वयं ज्ञानेन्द्र पुगेका थिए ।
ज्ञानेन्द्रको अति निकट टिममा रहेका केही सदस्यको भनाईमा, राप्रपा र त्यसबाट फुटेको राप्रपा नेपाल दुर्वतर्फका नेताहरू राजाका बारेमा उति गम्भीर छैनन् । उनीहरूलाई राजसंस्था र हिन्दूराष्ट्रको ब्रान्ड देखाएर मन्त्री, सांसद बन्नेभन्दा ठूलो ध्याउन्न छैन ।
‘ओलीजीले सांसद बनाउँछन्, प्रचण्डले मन्त्री,’ पूर्वराजा ज्ञानेन्द्रको कोर टिममा रहेर काम गरिसकेका एक सचिवालय सदस्यले अनलाइनखबरसँग अघिल्लो महिना भनेका थिए, ‘उहाँहरूको हैसियत यत्ति हो । राजालाई यो कुरा राम्रोसँग थाहा भइसकेपछि किन उहाँहरूलाई पुछिरहने ?’
हामीले सोध्यौं, ‘जे भए पनि नेपालमा पूर्वराजा ज्ञानेन्द्रको पुनस्र्थापनाको एजेन्डा उहाँहरूभन्दा बढ्ता कसले उठाउन सकेको छ र ?’
ती कोर टिम सदस्यले उल्टै प्रतिप्रश्न सोधे, ‘उठाएर चाहिँ के भएको छ र ?’
यसबीचमा ज्ञानेन्द्र आफूसँग भेट्न आउने राप्रपा नेताहरूसँग दूरीमा बस्न थालेका छन् । नपत्याए राप्रपा वा राप्रपा नेपालको कुनै पनि नेतालाई सोधौं । उनीहरूले पूर्वराजासँग भेट नभएको ६ महिनाभन्दा बढी भएको भन्ने गरेका छन् । कसैले पनि दशैंमा टिका लगाएको बाहेक ठ्याक्कै समय बताउन सक्दैनन् ।
यसो भन्नेमा दुवै राप्रपाका अध्यक्ष अर्थात् राजेन्द्र लिङ्देन र कमल थापासमेत छन् । अनौपचारिक गफगाफका क्रममा राप्रपा नेताहरूमा पूर्व राजाको रेस्पोन्सलाई लिएर चिढचिढाहट उत्पन्न भएको प्रष्ट बुझ्न सकिन्छ ।
डिल्लीबजारको भोजनगृहमा दुई साताअघि आयोजित एक कार्यक्रममा त्यसको प्रत्यक्ष अनुभूति भयो । पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी लगायत राजावादी नेता उपस्थित कार्यक्रममा नवराज सुवेदी बोलिसकेपछि राणा र लोहनीले बोले । दुर्गा प्रसाईंले बोल्नुभन्दा पहिले तिनीहरूले मन्च छाडे । ‘दुर्गा प्रसाईंजस्तो अविश्वसनीय र उद्दण्ड व्यक्तिलाई अघि लगाएर हाम्रो राजसंस्था पुनस्र्थापना अभियान बढ्न सक्दैन,’ नेताहरूले अनौपचारिक रुपमा भनेका थिए ।
नेता लोहनीले दुर्गा प्रसाईं लगायत पात्रहरूको नियतमाथि प्रश्न उठाउँदै भने, ‘दिज् पिपुल क्यान नट बि ट्रस्टेड ।’ अर्थात् लोहनीको भनाईमा यी पात्रहरू राजसंस्थाको गरिमा फिर्ता गराउँदै आन्दोलन हाँक्न योग्य, अनि पत्यारलाग्दा पात्र होइनन् । लोहनी लगायत नेताहरूले सुझबुझपूर्ण दलीय नेतृत्वबाट मात्रै राजसंस्था फिर्ताको आन्दोलन अघि बढ्न सक्ने बताए । यद्यपि लोहनी स्वयंले निर्दलीय व्यक्तिहरूलाई उक्साइरहेको आरोप लगाउँछन् राप्रपाका उच्च नेताहरू ।
लोहनीले भनेजस्तै जब दुर्गा प्रसाईं बोल्न मन्चमा चढे, उनले गणतन्त्रवादी नेतामात्रै होइन, राजसंस्थावादी नेतालाई समेत तथानाम भने । उनले आफू सिधै राजासँग संवाद गर्ने, बीचमा हलीहरू नराख्ने भन्दै लिङ्देनलगायत नेताको मानमर्दन गरे ।
लोहनी र राणाले भोजनगृह छाडिसक्दा पनि राणा, रवीन्द्र मिश्र तथा कुन्तीकुमारी शाहीलगायत नेता भने अन्तिमसम्मै रहे । भोजनगृहमा रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत राप्रपा वरिष्ठ नेताहरूको सहभागितालाई लिएर राप्रपा अध्यक्ष लिङ्देनले आपत्ति जनाए । उनले आफूले पठाएका प्रतिनिधिलाई अघि बढाउनु साटो आफैं सक्रिय देखिएको भन्दै मिश्र र राणाप्रति आपत्ति समेत जनाए ।

‘नवराज सुवेदी दाइले मलाई आउनुपर्यो भन्नुभएको थियो, तर हाम्रो आफ्नो आन्दोलन परिचालन समिति छ, साथ–सहयोग हुन्छ भनेको थिएँ,’ लिङ्देनले उक्त बैठकमा भनेका थिए, ‘मैले पठाएका प्रतिनिधि कहाँ हराए, तर वरिष्ठ नेताहरू चाहिँ त्यहाँ सक्रिय भएको देखियो, कुरो के हो ?’
मिश्र ४ चैतको सोही भेलाबाट राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सदस्य सचिव तोकिए, जसबारे अध्यक्ष लिङ्देनसँग परामर्श नभएको भन्दै राप्रपाले आपत्ति जनायो । मिश्रले आत्मालोचना समेत गर्नुपरेको थियो ।
तिनै मिश्र, धवल राणा, कुन्ती शाही लगायत केही राप्रपा नेता शुक्रबार तीनकुने प्रदर्शनमा सहभागी भए । राप्रपा नेताहरू भने प्रसार्इंको नेतृत्वले समाजमा भाँडभैलोमात्रै हुने भन्दै घरै बसे । यद्यपि राजसंस्था पुनस्र्थापनाका लागि हुने प्रत्येक अभियानमा आफ्नो साथ सहयोग हुने भन्दै राप्रपाले समर्थन भने दिएको छ । प्रवक्ता मोहन श्रेष्ठले बिहीबार जारी गरेको वक्तव्यमा शुक्रबारको प्रदर्शनलाई समेत साथ दिन अपिल गरेका छन् ।
‘सैद्धान्तिक रुपमा विरोध गर्ने कुरै भएन, त्यो उहाँहरूको एक किसिमको बाध्यतात्मक वक्तव्य हो,’ राप्रपा नेतृत्वलाई नजिकबाट चिन्ने एक नेताले अनलाइनखबरसँग भने, ‘त्यसैले राप्रपा र राप्रपा नेपाल दुवैतिरका नेताहरू शुक्रबार तीनकुने जानुभएन ।’
राप्रपाले २६ चैतमा बागमती प्रदेशस्तरीय प्रदर्शन राखेको छ । ८ वैशाखदेखि देशव्यापी आन्दोलन चर्काउने नेताहरूले दाबी गरेका छन् ।
राप्रपाको संस्थापन दलीय व्यवस्थामा दलकै अस्तित्व सर्वोपरि हुनुपर्ने भन्दै समाजमा अराजकता मच्चाएर उदाएका पात्रहरूलाई राजसंस्था पुनर्स्थापनाको नाममा स्पेस दिइएकामा असन्तुष्ट छ ।
प्रतिक्रिया दिनुहोस्