कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ

अध्ययनमा सहभागी ८४ अर्थोडक्स चिया उद्योगमा कुल लगानी ३ अर्ब ६८ करोड ७४ लाख थियो । जसमध्ये ३६.४ प्रतिशत हिस्सा ऋणको छ भने ६३.६ प्रतिशत हिस्सा स्वपूँजी छ ।
१३ चैत, काठमाडौं । कोशी प्रदेशमा किसानले अर्थोडक्स चियाको औसत नाफा किलोको ३० रुपैयाँ पाउने गरेको एक अध्ययनले देखाएको छ ।




कोशीमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान एवं आन्तरिक र वाह्य बजारमा यसको सम्भावना र चुनौती विषयमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार यस्तो तथ्यांक देखिएको हो ।
राष्ट्र बैंकले गरेको स्थलगत सर्वेक्षण क्रममा नमुना छनोटमा परेका किसानबाट लिइएको आम्दानी र खर्च सम्बन्धी विवरणका आधारमा विश्लेषण गर्दा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड नमुना किसानको प्रतिकिलो औसत लागत क्रमशः ४५.१६ रुपैयाँ र २४.७२ रुपैयाँ र औसत आम्दानी ७५.५२ र ४८.४४ रुपैयाँ, प्रतिरोपनी औसत आम्दानी १३ हजार ९ सय ९१ रुपैयाँ र १० हजार ५ सय ७५ रुपैयाँ एवं प्रतिकिलो औसत मुनाफा ३० र २४ रुपैयाँ रहेको देखिन्छ ।
१०० उद्योग सञ्चालनमा, ३ अर्ब लगानी
कोशी प्रदेशमा २१ अर्गानिक सर्टिफाइड र ७९ अर्गानिक अनसर्टिफाइड गरी कुल १ सय अर्थोडक्स चिया प्रशोधन उद्योग सञ्चालनमा छन् ।
आर्थिक वर्ष २०७९/८० मा ७८ लाख ३८ हजार ९ सय ४६ किलो प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको थियो । जसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको हिस्सा क्रमशः ११.९ र ८८.१ प्रतिशत रहेको देखिन्छ ।
प्रशोधित अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको आन्तरिक बजार भाउ किलोको ९४१.६० रुपैयाँ र अन्तर्राष्ट्रिय बजार मूल्य ८०१.५१ रुपैयाँ रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको मूल्य क्रमशः ४३३.७१ र ४०८.३१ रुपैयाँमात्र रहेको पाइएको छ ।
अध्ययनमा सहभागी ८४ अर्थोडक्स चिया उद्योगमा कुल लगानी ३ अर्ब ६८ करोड ७४ लाख थियो । जसमध्ये ३६.४ प्रतिशत हिस्सा ऋणको छ भने ६३.६ प्रतिशत हिस्सा स्वपूँजी छ । २ वटा उद्योगमा मात्रै वैदेशिक लगानी छ ।
अध्ययनमा सहभागी अर्थोडक्स चिया उद्योगले व्यक्तिगत किसान, किसान समूह, सहकारीबाट खरिद गर्ने तथा आफ्नै बगानबाट उत्पादन गर्ने हरियो पत्ताको प्रतिकिलो औसत खरिद/लागत मूल्य ५४.९३ रुपैयाँ छ ।
यसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगको प्रतिकिलो औसत खरिद/लागत मूल्य क्रमशः ८७ र ४९.३५ रुपैयाँ छ ।
कति छ बजार मूल्य ?
अध्ययन अनुसार प्रशोधित अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको आन्तरिक बजार भाउ किलोको ९४१.६० रुपैयाँ र अन्तर्राष्ट्रिय बजार मूल्य ८०१.५१ रुपैयाँ रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको मूल्य क्रमशः ४३३.७१ र ४०८.३१ रुपैयाँमात्र रहेको पाइएको छ ।
औसतमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको प्रतिकिलो बिक्री मूल्य क्रमशः ८२३.१४ र ४११.१२ रुपैयाँ रहेको छ ।
८८ प्रतिशत बढी भारत निर्यात, बजार अधिकांश अन्तर्राष्ट्रिय
अर्थोडक्स चिया उद्योगबाट उत्पादित अर्थोडक्स चियामध्ये ८८.६ प्रतिशत भारत तथा तेस्रो मुलुक निर्यात हुने गरेको छ भने ११.४ प्रतिशत आन्तरिक बजारमा बिक्री हुने गरेको छ ।
अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात २१.६३ प्रतिशत छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात न्यून मात्रामा छ ।
प्रशोधित अर्थोडक्स चियाको बिक्री आय २ अर्ब ५७ करोड ५५ लाख २१ हजार ९ सय १३ रुपैयाँ छ, जसमा निर्यात हिस्सा ८६.७२ प्रतिशत छ । यसले उद्योगको अधिकांश आय अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने र उद्योगको आर्थिक सफलता निर्यातमा निर्भर रहेको देखिन्छ ।

आव २०७९/८० मा कोशी प्रदेशमा सञ्चालित अर्थोडक्स चिया उद्योगहरूको औसत क्षमता उपयोग ५६.२१ प्रतिशत छ । उद्योगहरू कम क्षमतामा सञ्चालन हुनुका प्रमुख कारणमा कच्चापदार्थ अभाव, विद्युत् आपूर्तिमा अनियमितता, प्राविधिक र दक्ष जनशक्ति अभाव, मागमा कमी लगायत छन् ।
अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगमा लगानीको प्रतिफल दर क्रमश १३.५ र १०.८० प्रतिशत छ, जसले सर्टिफाइड उद्योगले उच्च प्रतिफल दिने देखाउने अध्ययनले देखाएको छ ।
‘लाभ लागत अनुपात अर्गानिक सर्टिफाइड उद्योगमा १.२२:१ र अर्गानिक अनसर्टिफाइडमा १.१८:१ रहेको छ, जसले अर्गानिक सर्टिफाइड उद्योग आर्थिक रूपमा लाभदायक हुने स्पष्ट हुन्छ,’ अध्ययनले औंल्याएको छ ।
कस्तो छ मुनाफाको अवस्था ?
अर्गानिक सर्टिफाइड र अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगको बिक्री आम्दानीमा खुद मुनाफा प्रतिशत दर क्रमशः १८.५० र १५.७० तथा कुल आम्दानीमा खुद मुनाफा प्रतिशत दर क्रमशः १७.८७ र १५.५३ रहेको अध्ययनको निष्कर्ष छ ।
अर्गानिक सर्टिफाइड र अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको प्रतिकिलो उत्पादन लागत क्रमशः ६९५.६२ र ३३६.७४ रुपैयाँ रहेको छ भने प्रतिकिलो मुनाफा क्रमशः १५१.८७ र ६४.५५ रुपैयाँ छ ।
अर्गानिक सर्टिफाइड उद्योगमा प्रतिउद्योग औसतमा ४४ जना र अर्गानिक अनसर्टिफाइड उद्योगमा प्रतिउद्योग औसतमा २४ जनाले रोजगारी प्राप्त गरेका छन् ।
अर्गानिक सर्टिफाइड चिया उत्पादन लागत अर्गानिक अनसर्टिफाइड चियाको तुलनामा शतप्रतिशतले बढी भए तापनि मुनाफा १ सय ३५ प्रतिशतले बढी रहेको छ ।
अर्गानिक सर्टिफाइड उद्योगमा प्रतिउद्योग औसतमा ४४ जना र अर्गानिक अनसर्टिफाइड उद्योगमा प्रतिउद्योग औसतमा २४ जनाले रोजगारी प्राप्त गरेका छन् । त्यसैगरी अर्थोडक्स चिया खेतीतर्फ प्रति रोपनी २ जनाले रोजगारी प्राप्त गरेको देखिन्छ ।
कोशी प्रदेशमा अर्थोडक्स चिया उत्पादनले (चियापत्ता प्रशोधित चिया ) कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ०.०५ प्रतिशत योगदानमात्र पुर्याएको देखिन्छ भने कोशी प्रदेशको जीडीपीमा यसको योगदान ०.३३ प्रतिशत छ ।
अध्ययनले भनेको छ, ‘अर्थोडक्स चियाको उत्पादन परिमाण १०० प्रतिशतले वृद्धि हुदाँ निर्यात परिमाण ९४ प्रतिशत र यस्तो चियाको निर्यात मूल्य १०० वृद्धि हुदाँ निर्यात परिमाण ६९ प्रतिशतले बढ्ने पाइएको छ ।’
नमुना छनोटमा परेका अर्थोडक्स चिया खेती गर्ने किसानमध्ये ७ प्रतिशतले मात्र सरकारबाट कृषि अनुदान प्राप्त गरेको देखिएको छ भने ८८ प्रतिशत किसानले तालिम प्राप्त गरेका छन ।
अर्गानिक सर्टिफाइड अर्थोडक्स चिया र अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चिया खेती गर्ने किसानबीच प्रतिकिलो हरियोपत्ता चिया बिक्री आयमा भिन्नता रहेको छैन भन्ने परिकल्पना परीक्षणका क्रममा अस्वीकृत भएको छ ।
अर्गानिक सर्टिफाइड किसानको उत्पादनमा सर्टिफिकेसनले पाएको मान्यता र गुणस्तरका कारण प्रतिकिलो हरियोपत्ता चियामा उच्च मूल्य प्राप्त गर्ने भएकाले किसानहरूको बिक्री आय बढाउन सहयोग पुर्याएको छ ।
राष्ट्र बैंकको अध्ययनमा कुल ८४ अर्थोडक्स चिया उद्योग र ४२ अर्थोडक्स चिया खेती गर्ने किसान समावेश छन् । अध्ययनमा सहभागी उद्योग र किसानबाट प्राप्त तथ्यांक तथा द्वितीय स्रोतबाट प्राप्त तथ्यांक विश्लेषण गरी राष्ट्र बैंकले प्रतिवेदन तयार गरेको हो ।
प्रतिक्रिया दिनुहोस्