रहलपहल सिनियरलाई छुटाएर २०५६ को टोलीबाट डीआईजी बनाउने तयारी

नेपाल प्रहरीमा ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त भएको छ। ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी रिक्त भएकाले हाल कार्यरत ६ जना डीआईजी यही साता एआईजीमा बढुवा हुने सम्भावना छ। उनीहरूको बढुवापछि मात्रै डीआईजीमा बढुवा गरिने भएकाले रिक्त दरबन्दी १० पुग्नेछ। 

१० जना डीआईजीका लागि एसएसपीका दुई ब्याच प्रतिस्पर्धामा छन्। तर २०७९ मा एसएसपीमा बढुवा भएका अधिकारीहरूलाई २०८० को टोलीले उछिन्ने सम्भावना बढी देखिएको छ।

frontline

२०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोली मुख्य दाबेदार देखिएको छ। यस्तै राष्ट्रिय अनुसन्धान विभागमै भर्ना भएका २०५४ माघ २७ गतेको टोलीका अधिकारी पनि अहिले डीआईजी बन्ने लाइनमा छन्। २०५४ चैत १८ गते भर्ना भएर हाल एसएसपीमा कार्यरत केही अधिकारीहरू पनि बढुवा हुँदैछन्। 

यस्तै, २०५५ कात्तिक १ गते भर्ना भएका र २०५६ असार ३ गते भर्ना भएका टोलीका एसएसपी मध्येबाट पनि केही डीआईजी बन्ने सम्भावना देखिएको छ। अघिल्लो ब्याचको टोली छुटाएर पछिल्लो डीआईजी बनाउने तयारी सरकारले गरेको छ। २०५५ र २०५६ को टोलीबाट कम्तीमा ४ जनालाई डीआईजीमा बढुवा गर्ने तयारी छ। अहिले डीआईजीमा बढुवा हुने यो टोलीका अधिकारीहरू नै आफ्नो ब्याचबाट नेतृत्वमा समेत अगाडि लाग्नेछन्। 

रहलपहल एसएसपीबाट को–को छानिएलान्? 
एसएसपीको पहिलो नम्बरमा ओमबहादुर राना छन्। उनी यसअघि नै वरीयतामा अगाडि भए पनि विवादित भएकाले बढुवामा छुटेका थिए। यसपटक पनि उनी बढुवा हुने निश्चित छैन। राना २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर २०६४ पुस ३० गते डीएसपी, २०७४ साउन १९ गते एसपी र २०७९ साउन ३ गते एसएसपी भएका थिए। उनी २ वर्ष बढुवा रोक्कासहित ३ पटक कारबाहीमा परिसकेका छन्। जसकारण एसएसपीमा उनीभन्दा पछाडि रहेको २०५४ को टोली डीआईजी बन्दा उनलाई छुटाइएको थियो। 

दोस्रो नम्बरमा रहेका माधव श्रेष्ठ पनि रानाकै ब्याची हुन्। उनी पनि रानासँगै डीएसपीदेखि एसएसपीसम्म बढुवा हुँदै आएका छन्। उनी अहिले दोस्रो नम्बरका एसएसपी हुन्। राना हाल अख्तियारमा र श्रेष्ठ बुटवल तालिम केन्द्रमा छन्। श्रेष्ठको डीआईजी बन्ने सम्भावना बलियो छ।

तेस्रो नम्बरका एसएसपी हुन् दीपेन्द्र घर्ती क्षेत्री। उनी राष्ट्रिय अनुसन्धान विभागमा २०५५ जेठ ७ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए। पछि उनलाई पनि नेपाल प्रहरीमा सारियो। २०६६ मा डीएसपी, २०७४ मा एसपी र २०७८ मा एसएसपीमा बढुवा भएका थिए। हाल मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख उनी पनि यसपटक डीआईजी बन्ने सम्भावना छ।

चौथो नम्बरमा रहेका एसएसपी दीपक रेग्मी पनि यसपटक डीआईजीमा छुट्ने सम्भावना बढी छ। एक महिलासँगको अश्लील अडिओ बाहिरिएपछि रेग्मीको करिअरमै धक्का लागेको छ। यसअघि २०६८ मा पनि उनी विभागीय कारबाहीमा परेका थिए।

त्यसपछि छन् दिलिप सिंह देउवा। उनी राष्ट्रिय अनुसन्धानको २०५३ पुस ५ गतेको टोलीका हुन्। देउवा पनि ५ पटक विभागीय कारबाहीमा परिसकेका छन्। यसपटक पनि उनको बढुवाको सम्भावना कमजोर छ। तर उनी कांग्रेस नेताको पहुँचमा बढुवा हुन खोजिरहेका छन्। 

एसएसपी विनोद घिमिरे २०५४ माघ २७ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएका हुन्। हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख रहेका घिमिरे पनि यसपटक डीआईजी बन्ने सम्भावना छ। 

लागुऔषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी सुदर्शन कोइराला पनि डीआईजी बन्ने लाइनमा छन्। उनी २०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। उनी यसपटक डीआईजीमा बढुवा हुने बलियो सम्भावना छ। 

२०५४ माघ २८ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका दीपककुमार बस्नेत र जयराज सापकोटाको सम्भावना कमजोर छ। सापकोटा भने यसअघि चारपटक विभागीय कारबाहीमा परेका अधिकारी हुन्। राष्ट्रिय अनुसन्धान विभागबाटै आएका सुरेन्द्रबहादुर गुरुङ र सञ्जीव शर्मा दास पनि अहिले डीआईजी बन्ने दौडमा छन्। दास हाल दिल्ली राजदूतावासमा रहेकाले उनको सम्भावना केही बढेको छ। 

तर पछिल्लो ब्याचका अधिकारीहरू डीआईजी बने गुरुङको भने सम्भावना कम देखिन्छ। गुरुङ २०५३ पुस ५ को टोलीका भए पनि दास अहिलेका एसएसपीमा सबैभन्दा पहिले भर्ना भएका अधिकारी हुन्। उनी २०५२ कात्तिक १३ गते नै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए। तर विभागीय कारबाहीले दुवैजना पछि पर्दै आएका हुन्। 

२०५५ जेठ २० गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीमा आएका र यो टोलीसँगै एसएसपी बनेका शारदाप्रसाद चौधरी पनि डीआईजीका प्रतिस्पर्धी हुन्। तर उनको पनि सम्भावना कमजोर हुँदा उनीभन्दा पछाडिका अधिकारीहरूको भने सम्भावना बलियो देखिएको छ।

२०८० का एसएसपीबाट कसको सम्भावना बलियो? 
२०८० सालमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका अधिकारीमध्ये कम्तीमा चारजना यसपटक डीआईजी बन्ने छन्। यो ब्याचबाट डीआईजी बन्ने कसरतमा अरु पनि एसएसपीहरू लागिरहेका छन्। यो टोलीबाट जति धेरै बढुवा हुन्छन्, अघिल्लो टोलीबाट उति नै बढी छुट्ने छन्। 

काठमाडौँ प्रहरी प्रमुख समेत रहेका विश्वराज अधिकारीको डीआईजीमा बढुवा हुने बलियो सम्भावना छ। उनी २०८० वैशाख २४ गते भएको एसएसपी बढुवामा पहिलो नम्बरमा थिए। केही महिनाअघि मात्रै काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी पाएका अधिकारी यसपटक डीआईजी बन्ने सम्भावना बलियो छ। उनी २०५५ कात्तिक १ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। भर्ना पहिले भए पनि उनी २०५६ को टोलीसँगै डीएसपीदेखि एसएसपीसम्म बढुवामा अटाउँदै आएका छन्। 

२०५६ असार ३ गते भर्ना भएको टोली यसपटक सिनियर टोलीलाई उछिनेर आफ्नो ब्याचबाट प्रहरी नेतृत्वमा पुग्नेगरी अघि बढ्दैछ। यो टोलीबाट भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई र सोमेन्द्र सिंह राठौरको सम्भावना बलियो देखिएको छ। एसएसपीमा भूपेन्द्र दोस्रो र सानुराम तेस्रो नम्बरमा भए पनि सोमेन्द्र अलिक पछि छन्। तर यसपटक उनले फड्को मार्ने सम्भावना देखिन्छ। उनी हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख छन्। 

सानुराम अपराध अनुसन्धान कार्यालय र भूपेन्द्र काठमाडौँ प्रहरी प्रमुख भइसकेका छन्। सोमेन्द्र एसपीमा काठमाडौँ बसिसकेका छन् भने एसएसपी भएर अपराध अनुसन्धान कार्यालय प्रमुखको जिम्मेवारी पनि पाइसकेका छन्। 

सोमेन्द्रभन्दा एसएसपीमा अगाडि रहेका ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले पनि डीआईजीका लागि लबिइङमा छन्। एसएसपी वरीयतामा पछाडि रहे पनि यही टोलीकी तारादेवी थापा यसैपटक डीआईजी बन्ने सम्भावना छ। 

यस्तै मुकुन्द मरासिनी, दीपशमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर र प्रज्ज्वल महर्जन पनि एकैपटक एसएसपी बनेका हुन्। उनीहरू पनि डीआईको प्रतिस्पर्धामा छन्। यसपछि २०८० मंसिर ४ गते एसएसपी भएको टोली छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here