मूलधारको अमेरिकाको राजनीतिमा नेपाली मूलको गौरवपूर्ण उपस्थिति

अमेरिका : अमेरिकाको मूल धारको राजनीतिमा नेपाली अमेरिकनको उपस्थिति बढ्दै गएको छ। हालसम्म अमेरिकाको स्टेट हाउससम्म नेपाली अमेरिकनहरूले उपस्थिति भएको छ। अमेरिकाको मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्समा ह्यारी भण्डारी, मेम्बर अफ द न्युयोर्क स्टेट एसेम्बलीमा सराहना श्रेष्ठ र न्यू ह्याम्पसायर राज्यको हाउस अफ रिप्रिजेन्टेटिभ्समा सुरज बुढाथोकी छन्। राज्य सांसदमा कार्यरत तिनैं जना डेमोक्रेटिक पार्टीबाट निर्वाचित भएका हुन्।
उदाहरणीय ह्यारी





नेपाली अमेरिकन समुदायबाट पहिलो राज्य सांसद ४८ वर्षीय डा.ह्यारी सन् २०१९ देखि डिष्ट्रिक्ट ८ बाट मेरिल्यान्ड हाउस अफ डेलिगेट्स छन्। उनको यो दोस्रो कार्यकाल हो। १९७७ मा जन्मिएका ह्यारी सन् २००५ मा अमेरिका आएका हुन्। उनी जर्ज म्यासन युनिभर्सिटीमा पेपर प्रिजिन्टेसनका लागि अमेरिका आएका थिए। नेपालमा रहँदा शिक्षण पेसामा संलग्न उनले अमेरिका आएपश्चात् पनि शिक्षण पेसालाई निरन्तरता दिएका छन्। अमेरिका आएपश्चात् बाल्टिमोर काउन्टी पब्लिक स्कुलमा अध्यापन थालेका उनले बाल्टिमोर सिटी कम्युनिटी कलेजमा समेत अध्यापन गरेका थिए। पर्वत जिल्लाका डा. ह्यारीले सन् २००८ मा तत्कालीन राष्ट्रपतिका उम्मेदवार बाराक ओबामाको चुनावी अभियानमा सक्रियतापूर्वक लाग्दै आफ्नो राजनीतिक यात्रा अघि बढाएका थिए। योङ डेमोक्रेटिक अफ अमेरिकाको सचिव, डेमोक्रेटिक पार्टी, एसियल अमेरिकन एन्ड प्यासिफिक आइलेन्डर ककस लगायतमा समेत डेलिगेट्स भण्डारीले भूमिका निर्वाह गरिसकेका छन्।
सन् २०१४ मा हाउस अफ डेलिगेट्सका लागि डेमोक्रेटिक प्राइमेरी इलेक्सनमा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि बन्ने अभियानमा डा. ह्यारी जुटेका थिए। त्यो पहिलो प्रयासमा सफलता हात नपरे पनि सन् २०१८ मा उनी पहिलो पटक हाउस अफ डेलिगेट्स चुनिएका थिए। र, सन् २०१९ देखि सो जिम्मेवारीमा छन्। दोस्रोपटक उनी सन् २०२२ मा हाउस अफ डेलिगेट्स चुनिएका थिए। डा. ह्यारीले अमेरिकामा रहेका नेपालीको अप्ठ्यारोमा साथ दिँदै आएका छन्। अमेरिकाको कुनै स्थानमा नेपाली मूलका कोही व्यक्ति चुनाव लड्दा उनी हिम्मत बढाउन त्यहाँ पुग्छन्। उनले आफ्नो राजनीतिक यात्राबारे दिने धारणाले अन्यलाई उत्प्रेरणा मिल्ने गर्दछ, चुनावी अभियानसँग जोडिएका विषयहरूसमेत यिनले नयाँ पिँढीलाई राजनीतिमा चासो राख्नेहरूलाई साट्दै आएका छन्।
२०१५ मा नेपालमा गएको भूकम्पपश्चात् अमेरिकी सहयोग लैजानका लागि समेत डा. ह्यारीले उल्लेखनीय भूमिका निभाएका थिए। मेरिल्यान्ड हाउस अफ डेलिगेट्सहरूले नेपालको भ्रमणसमेत गरेका थिए। भण्डारीले दसैं बिल स्पोनसर गर्दै मेरिल्यान्ड हाउसबाट पास गराएका छन्।
यो नेपाली मुलका अमेरिकनको लागि मात्र नभई हिन्दू धर्मालम्बीहरूका लागि समेत एउटा महत्वपूर्ण उपलब्धि हो। उनको चुनावी अभियानको एउटा महत्वपूर्ण नारा टिचर फर मेरिल्यान्ड हाउस तथा टिचर फर कंग्रेस निकै लोकप्रिय बनेको थियो। ह्यारीले बाल्टिमोर काउन्टी एसियन अमेरिकन अवार्डसमेत प्राप्त गरेका छन्।
सराहनाको सराहनीय काम

पहिलो नेपाली अमेरिकन महिला स्टेट डेलिगेट्स ४४ वर्षीया सराहना श्रेष्ठको स्टेट एसेम्बली मेम्बरमा यो दोस्रो कार्यकाल हो। १९८१ मा काठमाडौंमा जन्मिएकी उनी सन् २००१ मा अमेरिका आएकी थिइन्। अध्ययनको क्रममा अमेरिका आएकी उनले नेपालमा रहँदा लोकतन्त्र प्राप्तिको लडाइँलाई नजिकबाट बुझ्न पाएकी थिइन्। जलवायु परिवर्तनले पारेका असरदेखि कोभिड–१९ ले जनजीवनमा परेका असरलाई नजिकवाट बुझेकी उनले न्युयोर्कमा रहेका नेपालीका लागि कोरोनाको समयमा महत्वपूर्ण सहयोग पु¥याएकी थिइन् जनतासँग प्रत्यक्ष जोडिने जलवायु परिवर्तन र यसका असरका मुद्दालाई नेतृत्वदायी भूमिका सहित अभियान नै बनाई आवाज उठाउँदै आएकी थिइन्। सन् २०१९ मा अमेरिकी नागरिकता लिएकी उनले आप्रवासीहरूको अधिकारका सवालमा वकालत गर्दै आएकी छन्। पब्लिक पावर एड्भोकेसी संस्थामा आबद्व रहँदै मुद्दाहरू उठाउन सुरु गरेकी उनी स्टेट एसेम्बलीमा न्युयोर्कको डिष्ट्रिक्ट १ सय ३ बाट प्रतिनिधित्व गर्छिन्। उनको कार्यकाल जनवरी १, २०२७ सम्म रहेको छ। उनले खासगरी न्युयोर्कको ऐतिहासिक हडसन भ्यालीको निम्ति प्रभावकारी काम गर्दै आएकी छन्।
स्वच्छ ऊर्जाका लागि आवाज बुलन्द गर्दै आएकी सूचना प्रविधिकी विद्यार्थी श्रेष्ठले ग्राफिक्स डिजाइनरका रूपमा समेत काम गर्दै आएकी छिन्। न्युयोर्क राज्यकी एक मात्र नेपाली मूलकी सांसद श्रेष्ठले त्यहाँ रहेका नेपाली समुदायका लागि काम गर्दै आएकी छन्। नेपाली मूलका अमेरिकनलाई मूल धारको राजनीतिसँग जोड्न र अभियानमा लागेकालाई साथ दिन उनी सक्रिय छिन्।
नेपाली मूलको साथी अमेरिकाको जुन कुनाबाट जनप्रतिनिधि बन्ने चाहना राख्दा अमेरिकाभर नै अभियान चलाउँछाैँ । विस्तारै हाम्रो उपस्थिति मेन स्ट्रिममा बढेको छ, पहुँच पुगेको छ। केशव पौडेल पूर्वअध्यक्ष, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वयपरिषद् अमेरिका
सुरजको उदय

नेपालीभाषी ४४ वर्षीय सुरज बुढाथोकी ४० औं डिष्ट्रिक्टवाट न्यूह्याम्पसायर राज्य हाउसमा प्रतिनिधित्व गरिरहेका छन्। १९८० मा भुटानको सामरांग गाउँमा जन्मिएका उनको जिवनको लामो समय नेपालमा बित्यो। उनी नेपालको शरणार्थी शिविरबाट २००९ को फेबु्रअरीमामा अमेरिका पुनर्वास भएका थिए।
नेपाली भाषी भुटानी अमेरिकन समुदायमा पहिलो राज्य सांसद उनको कार्यकाल डिसेम्बर २, २०२६ सम्म रहेको छ। त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर दोस्रो वर्ष अध्ययन गर्दै गर्दा उनी अमेरिका आएका थिए। ‘पढ्छु र समाज सेवा गर्छु’ भन्ने यिनको चाहनाले अमेरिकी भूमिमा फक्रिन मद्दत ग¥यो। अमेरिका आइसकेपश्चात् पनि म्यानचेस्टर कम्युनिटी कलेज हुँदै साउर्थन न्यू ह्यामसायर युनिभर्सिटीबाट स्नातक, नर्भिज युनिभर्सिटी भरमण्टबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका उनी सेभरुक युनिभर्सिटी क्यालिफोर्नियाबाट परिवर्तनकारी सामाजिक परिवर्तनमा विद्यावारिधी गर्दै छन्। नेपालमा पोलिटिकल साइन्स अध्ययन गर्दा नै राजनीतिसँग चासो राख्ने बुढाथोकी अमेरिका आएपश्चात् पनि सामाजिक कार्यमा जुटिरहे। र, यिनको राजनीतिक यात्राको टर्निङ बिन्दु भने सन् २०२० मा राष्ट्रपतिको चुनावी अभियान चल्दै गर्दा भरमण्टका बर्नी स्यान्र्डस राष्ट्रपति तयारी गर्दै गर्दा उनको चुनावी अभियानमा जोडिनु बन्यो, उनले डेपुटी पोलिटिकल डाइरेक्टरको अभियानमा संलग्नता देखाए। जुन अभियानमा क्रममा उनले गरेको योगदानप्रति सबैले प्रशंसा गरे, त्यही नै आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण पल भएको उनले सुनाए। उनी यसअघि म्यानचेस्टर सिटी मेयर कन्डक्ट बोर्ड मेम्बरमा समेत मनोनीत भएका थिए। जसले उनलाई जनताको कुरा कसरी उठाउने र कसरी समाधान खोज्ने कुरा सिकाएको थियो।
राजनीतिक संलग्नता बढाउँदै लग्दा उनी २०२४ मा चुनाव लड्ने निचोडमा पुगे। चुनाव लड्नु अघिको अवस्था भने अनुकूल थिएन, तर उनलाई विश्वास थियो। सबैको साथ सहयोगले आफूले परिणाम पनि अनुकूल निकालेको उनको भनाइ छ। ‘मेरो यो उपलब्धिले सबैलाई हामी पनि सक्छौं भन्ने म्यासेज दिएको छ,’ उनले भने, ‘मनमा डर नराखी, म यसका लागि निर्वाचन लड्दै छु, मैले यो मुद्दा उठाउँदै छु त त्यसका लागि यो काम गर्नेछु भनेर स्पष्ट कुरा राख्न सक्दा मत पाइन्छ।’ अहिलेको उपलब्धि सानो रहेको जाने बाटो लामो रहेको उनले बताए।
सिटी मेयरमा टीका र किरण
राज्य सांसदमा तीन जनाको सहभागिता रहँदा दुई सिटी उपमेयर टीका पौडेल र किरण सिटौलासहित काउन्सिल मेम्बरमा हाल डिल्ली भट्टराई, रामचन्द्र श्रेष्ठ, ज्ञानु श्रेष्ठ, चिरन न्यौपाने, भुवन प्याकुरेल सिटी काउन्सिल मेम्बरका रूपमा सेवारत छन्। पौडेल टेक्सस राज्यको सिटी अफ युलेसमा प्रोटम मेयर छन् भने सिटौला मेरिल्यान्ड राज्यको टाउन अफ इन्डियन हेडमा भाइस मेयरका रूपमा रहेका छन्।
नेपाल चितवनका पौडेल दोस्रो पटक काउन्सिल मेम्बरमा निर्विरोध निर्वाचित हँुदै अहिले प्रो टम मेयर भएका हुन्। उनी २००७ देखि युलेसमा बस्दैं आएका छन्। १९९४ मा अमेरिका आएका सिटौलाको टाउन अफ इन्डियन हेडमा यो तेस्रो कार्यकाल हो। सन् २०१५ मा पहिलो पटक निर्वाचित सिटौला जनप्रतिनिधि बन्ने नेपाली अमेरिकी समुदायका पहिलो प्रतिनिधि हुन्। यूएस डिपार्टमेन्ट अफ ट्रेजरीको माथिल्लो पदमा काम गरिरहेका सिटौला नेपाली मूलका अमेरिकनका लागि जनप्रतिनिधि बन्ने सपना देखाउने एउटा विपना हुन्।
डिल्ली भट्टराई क्यालिफोर्निया राज्यको सिटी अफ हर्कुलसको काउन्सिल मेम्बरमा सेवारत् छन् उनी यही कार्यकालमा उपमेयर हुँदै मेयर बन्नेछन्, यदि उनी मेयर बने भने नेपाली अमेरिकन समुदायबाट अमेरिकन सिटीको पहिलो मेयर बन्नेछन्। क्यालिफोर्निया राज्यको पहिलो नेपाली मूलका जनप्रतिनिधि भट्टराई लामो समयदेखि गैरआवासीय नेपाली अभियानमा पनि सक्रिय छन्।
कंग्रेसमा तीनजनाले गरे प्रतिस्पर्धा
मेरो यो उपलब्धिले हामी सबैलाई सक्छौं भन्ने म्यासेज दिएको छ । मनमा डर नराखी, म यसका लागि निर्वाचन लड्दै छु, मैले यो मुद्दा उठाउँदै छु । त्यसका लागि यो काम गर्ने छु भनेर स्पष्ट कुरा राख्न सक्दा मत पाइन्छ। सुरज बुढाथोकी, ४० औं डिष्ट्रिक्टवाट न्यूह्याम्पसायर राज्य हाउस प्रतिनिधि
नेपाली अमेरिकनहरूले यहाँको कंग्रेसका लागि समेत प्रतिस्पर्धा गरेका थिए। पहिलो पटक कंग्रेसका प्रतिस्पर्धा गर्नेमा दर्शन रौनियार हुन्। उनले सन् २०१२ मा वासिङ्टन राज्यको फस्ट कंग्रेसनल डिष्ट्रिक्टबाट चुनाव लडेका थिए। उनीबाहेक ह्यारी भण्डारी र एड्रियन पोखरेलले पनि यूएस कंग्रेसका लागि प्रतिस्पर्धा गरेका थिए।
ह्यारीले मेरिल्यान्ड राज्यको सेकेण्ड कंग्रेसनल डिष्ट्रिक्टबाट २०२४ मा र पोखरेलले भजिर्निया राज्यको टेन्थ कंग्रेसनल डिष्ट्रिक्टबाट २०२४ मै चुनाव लडेका थिए। यस्तै, टेक्सस राज्यको हाउस अफ रिप्रिजेन्टेटिभ्समा दिनेश शर्मा, न्यू ह्यामसायर राज्यको हाउस अफ रिप्रिजेन्टेटिभ्समा मडलशा गुरुङ, न्युयोर्क सिटी काउन्सिलमा नवराज केसी, युलेस सिटी काउन्सीलमा मोहन ज्ञवालीले प्रतिस्पर्धा गरेका थिए।
नेपाली अमेरिकनको अमेरिकाको मूलधारको राजनीतिमा सहभागितासँग संजिता प्रधान पनि जोडिएकी छन्। उनलाई एसिया प्यासिफिक क्षेत्र हेर्ने गरी राष्ट्रपति बाराक ओबामाले आफ्नो सल्लाहकार समितिमा मनोनयन गरेका थिए, जसले गर्दा आप्रवासी नेपालीले पनि स्थान हासिल गर्न सक्छन् भन्ने उदाहरण उनको मनोनयन बनेको थियो।
त्यसो त, अमेरिकाको मूल धारको राजनीतिमा नेपाली अमेरिकनको सहभागितासँग जोडिने अर्को नाम हो डा. श्याम कार्की, उनी निरन्तर नेपाली समुदायलाई अमेरिकी मूलधारको राजनीतिमा जोड्नका लागि सक्रिय छन्। यस्तै, प्राध्यापक पेसामा संलग्न प्रभात दीक्षित पनि अमेरिकामा रहेको नेपाली समुदायबाट मूलधारको राजनीतिमा सहभागिता र संलग्नताका लागि लागिपरेका छन्।
उनले टेक्सस राज्यमा देखाएको सक्रियताले विस्तारै परिणाम पनि दिन थालेको छ। नेपाली अमेरिकनहरू निर्वाचित मात्र होइन राज्य सरकारका विभिन्न मनोनीत पदहरूमा पनि रहेका छन्। सिटी मेयरदेखि गभर्नरसम्मले नेपाली मूलका अमेरिकनहरूलाई विभिन्न पदहरूमा मनोनीत गरेका छन्। डेमोक्रेटिक र रिपब्लिकन पार्टीका विभिन्न तहका संरचनाहरूमा नेपाली मूलका अमेरिकनहरूको सहभागिता बढ्दै गएको छ। अमेरिकामा नेपालीको उपस्थितिको समय धेरै नभए पनि नेपाली मूलका अमेरिकनको सहभागिताको दर हेर्ने हो भने आशा गर्न सक्ने थुप्रै ठाउँहरू देखिन्छन्।
नेपाली मूलका अमेरिकनहरूको अमेरिकाको मूलधारको राजनीतिमा सहभागिताका लागि धेरैले धेरै प्रकारको सहयोग गरेका छन्। नेपालीको मूलधारका सहभागितालाई यहाँको नेपाली अमेरिकन समुदायले साझा अभियानको रुपमा अगाडि बढाउँदै आएका छन्।
केही वर्ष अघिसम्म नेपाली अमेरिकनको जनप्रतिनिधिमा उपस्थिति के संभव छ र ? भन्ने अवस्था विस्तारै हराउँदै गएको छ, पहिलो पुस्ताबाटै यो रूपको उपस्थितिले दोस्रो पुस्तालाई आशाको किरण जगाएको बताउँछन्, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वयपरिषद् अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडेल।
‘करिब १०÷१२ वर्षअघि मेन स्ट्रिममा नेपालीको सहभागिता सपना जस्तै देखिन्थ्यो। अहिले गौरव गर्न सक्ने अवस्था बनेको छ।
हाम्रो कुराहरू पनि राख्ने ठाउँमा हामी पुगेका छौं।’ डा. पौडेलले भने, ‘त्यो बेला कोही साथीहरू मेन स्ट्रिम पोलिटिक्समा जाने रहर गर्ने अवस्था हुँदा पनि हामी सबैले सहयोग गथ्र्यौं, एउटा नेपाली मूलको साथी अमेरिकामा जुन कुनाबाट जनप्रतिनिधि बन्ने चाहना राख्दा अमेरिकाभर नैं अभियान चल्थ्यो, अहिले विस्तारैं हाम्रो उपस्थिति मेन स्ट्रिममा बढेको छ, हाम्रो पहुँच पुगेको छ। पहिलो पुस्ताले यो अवस्था बनाउँदा अब हाम्रो दोस्रो पुस्ताका लागि नर्मल जस्तो भएको छ।’ नेपालीको सहभागिता मेनस्ट्रिममा हुनुपर्छ भन्ने आवश्यकता महशुस गरी एनआरएनए अमेरिकाभित्र पनि विभिन्न उपसमिति हरू बनाएर गरिएका कामहरू र कहीँ नेपाली मूलका साथी उम्मेदवार बन्दा गरिएका अभियानहरू यसका लागि सहयोगी बनेको डा. पौडेलले सम्झिए।
डा. पौडेलकै जस्तैं भनाइ छ डेमोक्रेटिक पार्टी मेरिल्यान्डका केन्द्रीय कमिटी सदस्य सतिश चापागाईंको । उनी भन्छन्, ‘पहिलो पुस्ताबाटै यो सहभागिताले हाम्रो पहिचान बढाएको त छैन दोस्रो पुस्तालाई राजनितिको मूल प्रवाहमा जोड्न पनि यसले सघाएको छ। हामीले हाम्रा सन्ततीहरूलाई यो हिम्मत दिँदै छांै कि अमेरिका आएका उनीहरूका पहिलो पुस्ताका अभिभावकहरू अमेरिकाको मुल प्रवाहको राजनीतिमा पनि सक्रिय थिए।
जन्मभूमिसँगै कर्मभूमिको मूल प्रवाहमा हामी सहभागी भैरहँदा अहिले हाम्रो उपस्थिति कम देखिए पनि यसलाई पदभन्दा पथको रूपमा बुझ्नुपर्ने र हाम्रा उपलब्धिहरूलाई आयतनमा नभई आयाममा नापिँदा यसको अर्थ महत्वपूर्ण रहेको र पहिलो पुस्ताको यो उपस्थिति दोस्रो पुस्ताका लागि पथ प्रदर्शकको भूमिकामा रहने पत्रकारसमेत रहेका चापागाईंले बताए।
यस्तै, रिपब्लिकन पार्टीसँग नजिक रहेको साउथ एसियन रिपब्लिकन क्लबका उपाध्यक्ष भक्त बब भण्डारीले भने, ‘जुन देशमा हामी बसिरहेका छौं त्यही देशको राजनीतिमा हाम्रो उपस्थिति बढाउनेतर्फ सबै लाग्नुपर्छ।’ अमेरिकामा बस्नेले अमेरिकाको नीति बुझ्नै पर्ने भण्डारीको भनाइ छ। ‘हाम्रो उपस्थितिमा राजनीति हुन सक्दा मात्र पहुँच पनि बढ्छ,’ उनले भने, ‘त्यसैले अहिले जसरी हामीले चासो राखिरहेका छौं यो सकारात्मक कुरा हो, अझ बढाउँदै लग्न जरुरी छ।’
एउटै सिटीमा तीन डाइरेक्टर
रामचन्द्र श्रेष्ठ, ज्ञानु श्रेष्ठ र चिरन न्यौपाने कनेक्टिकट राज्यको सिटी अफ ब्रानफोर्डमा डाइरेक्टरका रूपमा सेवारत् छन्। एउटै सिटीमा तीन जना नेपाली अमेरिकन डाइरेक्टरका रूपमा सेवारत् छन्। श्रेष्ठ सिटीको एजुकेसन बोर्डमा पनि छन्। यस्तै, नेपाली भाषी भुटनिज अमेरिकन समुदायका प्याकुरेल अहिले ओहायो राज्यको रेनोल्र्डस्वर्ग सिटीमा काउन्सिल प्रेसिडेन्ट प्रोटमको रूपमा सेवारत् छन् , उनको यो दोस्रो कार्यकाल हो। प्याकुरेल भुटनिज अमेरिकन समुदायबाट सिटीमा निर्वाचित हुने पहिलो व्यक्ति हुन्।
भर्जिनियाको टाउन अफ हर्नडनमा तीन पटक प्रदीप ढकालले चुनाव जित्दै सिटी काउन्सिल मेम्बरको जिम्मेवारी निभाइसकेका छन्। उनले सो सिटीको मेयरमा समेत प्रतिस्पर्धा गरेका थिए। त्यस्तै, मधु पन्थीले भर्जिनिया राज्यको टाउन अफ हेमार्केटमा काउन्सिल म्यानका रूपमा सेवा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्