समाजवादी दिशामा अगाडि बढ्दै जुम्लाको सिञ्जा गाउँपालिका

संक्षिप्त परिचय
जुम्ला जिल्लामा आठ वटा स्थानीय पालिकाहरु छन्, तीमध्ये एउटा हो सिञ्जा गाउँपालिका । नेपालमा खस भाषाको उद्गम स्थान मानिने जुम्ला जिल्लाको सिञ्जामा विभिन्न जातजातिहरुको बसोवास रहेको छ । ब्राह्मण, क्षेत्री, शुद्र सबै जातिको बसोबास रहे पनि क्षेत्रीको बसोवास बढी रहेको २०७८ को जनगणनाको तथ्याङ्कले देखाएको छ । सिञ्जा गाउँपालिका साविकको तीन वटा गा.वि.स.लाई समायोजन गरी बनेको हो । यसमा जम्मा छ वटा वडाहरू रहेका छन् ।
नेपाल एकीकरण हुनुभन्दा अगाडि २२ औं शक्तिशाली राज्यको रूपमा सिञ्जा परिचित थियो । सिञ्जाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक पर्यटकीय हिसावमा आफ्नै महत्व बोकेको छ । जहाँ धार्मिक रूपमा बुँदबुँदी केदारनाथ तीर्थस्थल, मठ मन्दिरको रूपमा देउलीमाई, मालिका बाँओ, रोप्नीमाई ऐतिहासिक रूपमा पञ्चदेवल, त्रिदेवल आदि छन् ।




यस पालिका पर्यटकीय रूपमा पनि उतिकै महत्व रहेको छ । चारैतिर पहाडले घेरिएको र बीचमा सानो उपत्यकामा रहेको यस सिञ्जा गाउँपालिकामा हिमनदी, दृश्य अवलोकन गर्न सकिने पहाडहरु आदि रहेका छन् । विभिन्न किसिमका जडिबुटी दुर्लभ जनावर पनि यसै गाउँपालिकामा पाइन्छ ।
सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालको परिपक्व नेतृत्व
पूर्णप्रसाद धितालले ३२ वर्षसम्म नेमकिपामा सक्रिय राजनीति गर्दै समावेशी कम्युनिस्ट आन्दोलनलाई सिञ्जामा अगाडि बढाए । २०७४ मा माओवादीमा समाहित भएपछि उनले पार्टी एकता अभियानलाई सफलतापूर्वक अगाडि बढाउँदै जनसमुदायलाई संगठित गरे । २०७९ को स्थानीय निर्वाचनमा माओवादीका तर्फबाट सिञ्जा गाउँपालिकाको अध्यक्षमा विजयी भई समाजवादी विकासलाई मूर्तरूप दिन थाले । उनले पूर्वाधार निर्माणमा प्राथमिकता दिँदै सडक विस्तार, विद्यालय सुधार र स्वास्थ्य सेवामा सुधार ल्याए । सिञ्जा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार सृजनाका क्षेत्रमा योजनाबद्ध विकासको खाका प्रस्तुत गरे । भौतिक विकाससँगै जनचेतना अभिवृद्धि गर्दै जनप्रतिनिधिहरूको प्रभावकारी भूमिका सुनिश्चित गरिरहेका छन् ।
सामाजिक न्याय, समावेशी नीति र महिला सशक्तीकरणलाई उनको कार्यकालमा विशेष प्राथमिकता दिइएको छ । स्थानीय तहलाई सशक्त बनाउन जनता र सरकारबीचको सहकार्यलाई उनले मुख्य रणनीति बनाएका छन् । कम्युनिस्ट आन्दोलनप्रति समर्पित रहँदै, उनले गाउँपालिकालाई समाजवादउन्मुख बनाउन नीति तथा कार्यक्रम सञ्चालन गरिरहेका छन् । धितालको नेतृत्वमा सिञ्जा गाउँपालिकाले राजनीतिक स्थायित्व, सामाजिक समृद्धि र समान विकासको बाटो समातेको छ ।
कम्युनिष्ट आन्दोलनप्रति आकर्षित
जुम्ला जिल्लाका युवाहरु २०३० सालबाटै कम्युनिस्ट विचारप्रति आकर्षित भएका थिए । युवाहरु सुरुमा लालझण्डामा संगठित भएपनि पछि नेपाल मजदुर किसान पार्टीमा आबद्ध हुँदै जनताबीच सक्रिय भएका थिए ।
२०३६ सालको जनमत संग्रहको बेलामा कर्णालीमा यो संगठन पञ्चायतका विरुद्ध र बहुदलको पक्षमा चेतना फैलाउने अभियानमा सक्रिय भयो । माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारालाई जनतामाझ फैलाउनुका साथै सामन्तवादको विरोध र संघर्षमा नेपाल मजदुर किसान पार्टी नेपालमा चर्चित पार्टी बनिरहेको थियो । २०४६ सालको जनआन्दोलनमा त्यस संगठनका दर्जनौँ नेता कार्यकर्ताहरु जेल परेका थिए । सयाँैको संख्यामा भुमिगत रुपमा आन्दोलित थिए ।
नेमकिपाले जुम्ला जिल्लामा २०४८ साल र ०५१ को प्रतिनिधि सभाको निर्वाचन जित्न सफलता प्राप्त गरेको थियो । तर, केन्द्रीय नेतृत्वमा रहेको यथास्थितिवादी कार्यशैलीका कारण कर्णालीमा संगठन निरन्तर कमजोर हुँदै गयो । जनयुद्धको थालनीसँगै त्यहाँ रहेका केही क्रान्तिकारीहरु क्रमशः जनयुद्धमा सामेल भए । शान्ति स्थापनापछि पनि यो क्रम छिटफुट रुपमा चली नै रह्यो ।
नेमकिपामा ओवादीबीच एकता अभियान
खासगरी २०७४ सालमा यस पार्टीका नेता–कार्यकर्ताहरुले गम्भीरतापूर्वक समीक्षा गरे । चुनावलाई जनचेतनाको ब्यारोमिटरको रुपमा हेर्ने नीति पुरानो भएको भन्दै जुम्लाका नेमकिपाका नेता तथा कार्यकर्ताले भक्तपुर र देशका अरु जिल्लाको अवस्था फरक रहेको बोध नेतृत्वलाई गराउन कोशिस गरे । नजित्ने गरी लडिने चुनावले पार्टी पंक्तिमा नैराश्यता मात्र ल्याउने तितो अनुभव त्यहाँका नेता कार्यकर्ताले राम्रैसँग गरेका थिए । कम्युनिस्टहरु छुट्टाछुट्टै रहेर कमजोर हुनुभन्दा बृहत् रुपमा एकताबद्ध भएर जनताको सेवा गर्न सकिने निष्कर्षका साथ केन्द्रीय नेतृत्वलाई जुम्लाका कार्यकर्ताको भावना अवगत गराउँदा पनि कुनै चासो नराखिएको यथार्थले उनीहरुलाई निकै विझाइ रहेको थियो ।
यसै सिलसिलामा जिल्लाका एक सय ३९ जना नेमकिपाका नेता कार्यकर्ताहरु सिञ्जाको धिताललिही गाँउमा भेलाभई छलफल चलाए । उक्त भेलाले नेमकिपाका सबै जिम्मेवारीबाट आफूहरु अलग रहने निर्णय गर्यो ।
साथै भेलाले अर्काे पनि के निष्कर्ष निकाल्यो भने समाजवाद, राष्ट्रिय स्वाधीनता, नेमकिपामा आबद्ध रहेदेखिको कार्यकर्ताको योगदानको इतिहास र उचित जिम्मेवारी आदि विषयमा विचार मिल्नेसँग जिल्लामा पार्टी एकता गर्ने ।
साथै भेलाले पूर्णप्रसाद धितालको संयोजकत्वमा बृहत् कम्युनिस्ट एकता अभियान गठन गर्यो । माथिका एजेन्डामा माओवादी जुम्लाका नेताहरु सकारात्मक देखिए । एकता अभियानको टोलीले माओवादीसँग वार्ता गर्ने गरी दानबहादुर शाहीको संयोजकत्वमा अग्नि जैसी, धर्मदत्त धिताल, खम्बा शाही, शंकर धिताल रहेको पाँच सदस्यीय वार्ता कमिटी गठन गर्यो ।
वार्ता कमिटीले सिञ्जाको बड्की गाउँमा जुम्लाको नेतृत्व कमरेड कार्मासँग लामो छलफल गर्यो । त्यहाँ भएका सहमति ठोस गर्न अभियानका संयोजक पूर्ण प्रसाद धितालले माओवादी पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्डसँग भेट गरे । भेटमा माओवादी नेताहरु शक्ति बस्नेत, गजेन्द्र बहादुर महत र प्रकाश दाहालको उपस्थिति रहेको थियो ।
उक्त भेटमा अध्यक्ष प्रचण्डले संयोजक धितालले उठाएका विषयहरुमा आफ्नो पार्टीको प्रतिबद्धता रहेको र एजेन्डामा सहमति गरी उपयुक्त वातावरण बनाउन जिल्लाको नेतृत्वलाई निर्देशन दिए ।
नेकपामा ओवादीमा नेमकिपा समाहित
पटक पटक गरिएका भेटघाट पछि अध्यक्ष प्रचण्ड ०७४ असोज ८ गते जुम्लाको सिञ्जामा पुग्ने र अभियानका कमरेडहरुलाई माओवादी पार्टीमा धुवीकरणका लागि स्वागतगरिने कार्यक्रम तय भयो ।
तोकिएकै दिन अध्यक्ष प्रचण्ड हेलिकप्टरबाट सिञ्जाको नराकोटमा अवतरण गरे । अध्यक्ष कमरेड प्रचण्डको उपस्थितिमा जुम्लाका पार्टी नेता कमरेड गजेन्द्र बहादुर महत, कमरेड नरेश भण्डारी, कमरेड वीर बहादुर कुँवर, कमरेड नवराज न्यौपाने र कमरेड नवीन शर्माको उपस्थितिमा एउटा साझा सहमति भयो ।
– जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको तयारी गर्ने ।
– जुन मितिदेखि नेमकिपामा क्रियशिल भएको हो सोही मितिदेखि नै पार्टीमा लागेको इतिहास जोडिनुपर्ने ।
– नेमकिपाबाट धु्रवीकरणमा आएका कमरेडहरुलाई उचित जिम्मेवारी दिने ।
– जुम्लामा जनकेन्द्रित विकासको मोडललाई अघि बढाउने ।
– प्रदेश सभाको निर्वाचनमा कमरेड पूर्ण धिताललाई जुम्लाप्रदेश सभा ‘ख’बाट उम्मेदवार बनाउने ।
उक्त सहमतिपछि दशैँ हजार जनसमुदायको उपस्थितिमा भएको कार्यक्रममा जुम्लाका नेमकिपाका नेता कार्यकर्ताहरु नेकपामा ओवादीमा ध्रवीकृत भएका थिए । जुम्लामा माओवादी पार्टी र नेमकिपाका सयौंको संख्यामा युवा, बिद्यार्थी र महिलाहरु तथा समाजका प्रतिष्ठित शिक्षकहरुबीचको समायोजनले जनतामा थप उत्साह र उमंग थपेको थियो ।
आज पनि एकताबाट आएका साथीहरु माओवादी पार्टीमा सक्रियताकासाथ विभिन्न जिम्मेवारीमा रहेर जनताको सेवामा खटिएका छन् ।
सिञ्जा गाउँपालिकाको अध्यक्षमा पाए धितालले टिकट
२०७९ को स्थानीयनिर्वाचनमा सिञ्जा गाउँपालिकामा निर्वाचन लड्न नेकपामाओवादी केन्द्रले पूर्णप्रसाद धिताललाई टिकट दियो । सिञ्जा गाउँपालिकाको अध्यक्षमा धिताल एक हजार नौसय ४९ मत प्राप्त गरी विजयी भए ।
त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सितली रोकायाले विजयी हासिल गरेकी छन् । अध्यक्षमा धिताल तथा उपाध्यक्षमा रोकायाले नेपाली कांग्रेसका नन्दराम बुढा तथा कांग्रेसकै रजनकली शाहीलाई पराजित गरेका हुन् । २०७४ को स्थानीय निर्वाचनमा सोही पालिकामा स्वतन्त्र उम्मेदवारी दिएर कांग्रेससँग थोरै मतान्तरले धिताल पराजित भएका थिए ।
विकासको गोरेटोमा सिञ्जा
केन्द्रीकृत शासन व्यवस्थामा सिंहदरबारको प्रशासनबाट सधैँ ओझेलमा परेको कर्णालीका सिञ्जावासीले जीवनमै पहिलो पटक राज्यको अभिभावकत्वको महसुस गरिरहेका छन् ।
भौतिक पूर्वाधारको निर्माण विकासको मुख्य पाटो यस पालिकाको रहेको छ । सडक निर्माणमा प्राथमिकताहरु छुट्टयाइएको छ । पालिकाका मुख्य सडकहरु ८ मिटरको बनाइने, एक वडादेखि अर्काे वडासम्मका सडकहरु ६ मिटरको बनाइने, एक गाउँदेखि अर्काे गाउँजाने सडकहरु ४ मिटरको बनाइने, भवनहरु भूकम्पप्रतिरोधात्मक निर्माण गरिने जस्ता कार्यक्रम घोषणा गरिएको छ ।
अध्यक्ष धितालले सिञ्जामा नापी र मालपोत कार्यालय स्थापना गर्न पहल बढाइरहेका छन् । यसैगरी सिञ्जा गाउँपालिकाको वडा नम्बर ६ मा बहुप्राविधिक शिक्षालय स्थापना गर्न नागरिकबाट जग्गा प्रदान तथा प्रक्रिया अगाडि बढिरहेको पालिकाले जनाएको छ । यसैगरी गाउँपालिकाले सिञ्जा गाउँपालिकाको सदरमुकाम जोड्ने गौरवको सडक छकालेपानीदेखि झिम्रीकुनासम्मको सड्क अगाडि बढाएको छ । पालिकासँग वडालाई जोडने सडक योजना अगाडि सारेको छ ।
शिक्षा र स्वास्थ्यमा समाजवादी मोडल
सिञ्जाको शैक्षिक स्तरलाई माथि उठाउन प्रत्येक वडाको एउटा विद्यालयलाई लिडर र अरुलाई फिडरको मोडलमा अगाडि बढ्ने घोषणा गरेको छ । पालिकाका सबै विद्यार्थीको प्रश्नपत्रमा एकरुपता कायम गर्ने, प्रविधिमैत्री शिक्षामा जोड दिने, बालविकासका शिक्षिकालाई मन्टेश्वरी तालिम प्रदान गरी बालमैत्री सिकाईलाई बढवा दिइने, सबै विद्यालयमा खानेपानी र सौचालयको व्यवस्था गरिने, घेराबार र कक्षा कोठा विस्तारलाई प्राथमिकता राखिने कार्यक्रम पालिकाले अगाडि सारेको छ ।
स्वास्थ्यको क्षेत्रमा पनि सिञ्जाले निकै मौलिक कार्यक्रम अगाडि सारेको छ । स्वास्थ्य बीमाको पहुँचमा आवद्ध गर्न सिञ्जाबासीलाई प्रोत्साहित गरिने, आर्थिक अवस्था दयनीय भएका विपन्न परिवारहरुलाई निःशुल्क विमा र आर्थिक अवस्था कमजोर परिवारको ५० प्रतिशत प्रिमियम पालिकाले व्यहोर्ने कार्यवि धिबनाई बीमा अभियान सञ्चालन गरिने, गरीब, दुःखी असहाय एकल महिलालाई ठूलो रोग लागेमा औषधि उपचार गर्न नसक्ने अवस्था आउन नदिने, जेष्ठ नागरिकहरुको मासीक रुपमा एक दिन निःशुल्क स्वास्थ्य जाँच गर्ने, दीर्घरोगी, सुगर, मुटु रोगी दम रोग ग्याष्ट्रिक भएकाहरुलाई पालिकावासीलाई निःशुल्क औषधि वितरण गर्ने व्यवस्थालाई निरन्तरता दिइने, विद्यालय स्वास्थ्य कार्यक्रमलाई सरकारी तथा गैरसरकारी साझेदार संस्थाहरुसँग मिलेर थप प्रभावकारी बनाइने, घरमा सुत्केरी हुने चलनलाई रोकी स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई सरसफाई सम्बन्धी सामान उपहारको व्यवस्था, सुत्केरी कुपोषित बालबालिका र ६७ वर्ष उमेर पुगेका घातक रोग लागेका विरामीहरु र आकस्मिक दुर्घटनाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने जस्ता लोककल्याणकारी कार्यक्रमकै मोडलमा पालिकालाई उभ्याएको छ ।
सिञ्जा गाउँपालिकाले खस भाषाको संरक्षण तथा प्रवद्र्धनमा विशेष जोड दिएको छ । गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रममै खस पात्रो निर्माण तथा प्रयोग, पालिका स्तरीय हाट बजार सञ्चालनकासाथै विभिन्न खस सभ्यता संरक्षण, खस संस्कृतिसँग जोडिएको मष्टो परम्पराको प्रवद्र्धन गर्ने घोषणा गरिएको छ । त्यस्तै सिञ्जा गाउँपालिकाले खस संङ्ग्रहालय अगाडि बढाउन बजेट विनियोजन गरेको र केन्द्र र प्रदेश सरकारसँग थप बजेटको पहल गरिरहेको छ ।
पालिकाले खस संस्कृतिको संरक्षणका लागि हरेक वर्ष असार ३० मा काफल दिवस, चैत १२ गते धान दिवस, वैशाख १ गते तागा िदवस, साउन १ गते खस दिवस र भदौ १० गते स्याउ दिवस मनाउने पात्रो सार्वजनिक गरेको छ ।
सिञ्जा गाउँपालिकाका अध्यक्ष प्रचार भन्दा परिणाममा विश्वास राख्ने नेतृत्व हुन् । उनी जनताको प्राथमिकता बुझ्दै सहभागितामूलक विकास मोडेल अपनाइरहेका छन् । विकास परियोजनाहरूमा पारदर्शिता र प्रभावकारितालाई प्राथमिकता दिएका छन् । स्थानीय स्रोत र आवश्यकता अनुरूप योजनाहरू कार्यान्वयन गर्दै आएका छन् । स्रोत र साधनका अभावका वावजुद उनको नेतृत्वमा गाउँपालिकाले दिगो र समावेशी विकासको दिशामा महत्वपूर्ण अग्रसरता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्