बुटवल–गोरुसिंगे सडक विस्तार गर्दा करिब ७ हजार रुख काटिने

५० किलोमिटर लामो दुरीको बुटवल–गोरुसिंगे सडकखण्ड विस्तारको क्रममा करिब सात हजार रुख काटिने भएको छ । तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरूसिङ्गे सडकखण्ड आगामी माघ महिनादेखि विस्तारको काम सुरु हुँदैछ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत असार १३ गते ठेक्का पाएका थिए । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ ।

frontline

आयोजनाका अनुसार सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा ३७ दशमलब ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा कायम हुनेछ । त्यसका लागि निर्माण व्यवसायीहरुले सडक क्षेत्रमा आवश्यक तयारीका काम सुरु गरिसकेका छन् ।

विस्तार हुने सडक क्षेत्रको नापजाँच, सर्भे, विद्युत पोल सार्ने, सडक क्षेत्र मिचेर बनेका संरचना खाली गराउने, माटो परीक्षण र रुख कटानको अनुमति लिने प्रक्रिया पुरा भैसकेको छ । सडक विस्तारकै लागि सडक किनारमा रहेका करिव सात हजार बढी रूख काट्न सडक विभागले स्वीकृति दिइसकेको आयोजना प्रमुख कुशलता न्यौपानेले जानकारी दिइन् । उनका अनुसार काटिने रुखमा मार्किङ गर्ने काम सम्पन्न भैसकेको छ ।

सडक क्षेत्रभित्र बनेका संरचनालाई घर धनीले आफैं भत्काएर क्षतिपूर्ति समेत लिइसकेका छन् ।

ठूलो परियोजना भएकाले पूर्व तयारीका काम धेरै हुने र अन्तर्राष्ट्रिय परामर्शदाताले निर्माण सामग्रीको गुणस्तर परीक्षण गरेर मात्र निर्माणको अनुमति दिने भएकाले पूर्व तयारीको काम धमाधम भैरहेको उनले बताइन् । ‘सडक विस्तारका क्रममा आवश्यक पर्ने तयारी अन्तर्गत निर्माण सामग्रीहरु ठाउँ–ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचनाहरु हटाउने, कटान गर्ने रुखको अन्तिम गणना गर्ने, पुल बनाउने र अण्डरपास हुने स्थानको माटो परीक्षण गर्ने लगायतका काम भइरहेको छ’ इन्जिनियर न्यौपानेले भनिन् ।

सुरुमा दायाँ–वायाँ सडक बनाइसकेपछि मात्रै बीच भाग भत्काइने

बुटवल–नारायणगढ सडक खण्डमा जस्तो सवारी साधन र यात्रुहरुलाई सास्ती नहोस् भनेर बुटवल–गोरुसिंगे सडक विस्तार गर्दा अहिलेको पिच नभत्काई सुरुमा दायाँ–बायाँतर्फको लेन बनाइसकेर मात्र बीच भागको सडक भत्काउने तयारी छ ।

सडक खनेर निर्माण कार्य माघदेखि मात्रै शुरु हुने बताउँदै आयोजना प्रमुख न्यौपानेले भनिन्, ‘बुटवल–नारायणगढ सडकमा जस्तो सवारी साधन र यात्रुलाई सास्ती हुन नदिन अहिलेको पिच नभत्काइ दायाँ–वायाँको काम गरेर मात्र बीचको सडक पछि बनाउने तयारी छ ।’

सडक विस्तार क्षेत्रभित्रका पालिकाहरुले बुटवल-नारायणगढ सडक निर्माणका क्रममा भोग्नुपरेको जस्तो सास्ती फेरि नहोस् भनेर आयोजनाका अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए ।

आयोजनाका अनुसार ५० किलोमिटर सडकखण्ड दुई चरणमा २५–२५ किलोमिटरमा विभाजन गरी विस्तार गर्न लागिएको हो । पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको छ ।

पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछ भने १४९ वटा कल्भर्ट पनि निर्माण हुनेछ ।

वन्यजन्तुमैत्री सडक बनाइने

यो सडकमा गाडी गुडाउन मिल्ने ६ वटा अण्डरपास, पैदल यात्रुका लागि १२ वटा अण्डर पास र ११ वटा ओभरहेड ब्रिज तथा वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा अण्डर पास बनाइने छ । विस्तारपछि सडक फराकिलो हुने र सवारीसाधनको गति पनि बढी हुने हुँदा वन्यजन्तु आवतजावत गर्दा अवरोध नहोस् र उनीहरूलाई कुनै प्रकारको क्षति नहोस् भनेर वन्यजन्तुमैत्री अन्डरपास बनाउन लागिएको हो ।

जंगल क्षेत्रमा बनाइने १९ अन्डरपासमध्ये सालझन्डी–पिपरा खण्डमा चारवटा र कोइली–घेरुवा–बनगाई–गोरुसिंगे खण्डमा १० वटा अन्डरपास बनाइने छ ।

बाक्लो बस्ती भएका सहरी क्षेत्रका चोकहरुमा सडकलाई ५० मिटरमा फराकिलो बनाइने र रणनीतिक सडकहरु जोडिने क्षेत्रमा अध्ययन पश्चात गाडी नै वारपार गर्न मिल्नेगरी ‘भेहिकल अण्डरपास’ निर्माण गरिने आयोजनाका कार्यालय प्रमुख इन्जिनियर न्यौपानेले बताइन् ।

रुपन्देहीमा पर्ने जितगढी बेलबास चोक, नयाँगाउँ चोक, तामनगर चोक, सैनामैनाका मुर्गिया बजार र बुद्धनगर चोक तथा कपिलवस्तुको चार नम्बर जीतपुर चोकमा ‘भेहिकल अण्डरपास’ बनाउनका लागि माटो परीक्षणको काम भइरहेको न्यौपानेले बताइन् । यस्तो ‘भेहिकल अण्डरपास’ पुल अहिले ललितपुरको ग्वार्कोमा बनिरहेको छ ।

बुटवलदेखि गोरुसिंगे सम्मको करिब ५० किलोमिटर खण्ड विस्तारको काम पूरा भएलगत्तै कपिलवस्तुको चन्द्रौटासम्मको सडकखण्ड विस्तारको प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ । गोरुसिंगे–चन्द्रौटा सडकखण्ड १९ किलोमिटर छ । अहिले सो सडकखण्ड डिजाइनको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here