औषधिमा भइरहेको कालोबजारीको नयाँ तथ्य

श्रोत : ईन्टरनेट

काठमाडौं । विराटनगर  सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ४५ वर्षीय रामनारायण मुखियाले बुहारी सपना मुखियालाई प्रसूतिका लागि वैशाख २५ गते विराट नर्सिङ होम एवं विराटनगर अस्पताल भर्ना गरे।  विराटनगर महानगरपालिका–३ स्थित अस्पतालमा वैशाख ३० गतेसम्म बस्नु पर्‍यो। चिकित्सकले सिफारिस गरेको आधारमा आवश्यक औषधि रामनारायणले अस्पताल नजिककै पश्चिमवासी फार्मेसी (औषधि पसल) बाट खरिद गरे। 

तर डिस्चार्ज पाएर घर फर्किन लाग्दा फार्मेसीले थमाएको बिल उनलाई अस्वाभाविक लाग्यो। त्यत्रो पैसा औषधिमा खर्च भएको उनलाई विश्वास भएन। फार्मेसीले ५३ हजार ३ सय ४५ रुपैयाँको बिल थमाएको थियो। त्यतिबेला हतार भएकाले उनी बिलअनुसार पैसा बुझाएर घर फर्किए। तर पछि प्रहरीको शरणमा पुगे। 

frontline

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रामनारायणले उक्त फार्मेसीबाट वैशाख २५ गतेदेखि ३० गतेसम्म औषधि खरिद गरेको देखिन्छ। प्रहरीले अनुसन्धान थाल्दा उनीसँग बढी पैसा असुलेको खुल्यो। उपचारमा ३५ हजार ४ सय ५६ रुपैयाँ मात्रै खर्च भएको पत्ता लागेको डीएसपी राईले बताए। 

उनका अनुसार फार्मेसी सञ्चालक रवीन्द्र महतोले रामनारायणसँग १७ हजार ८ सय ८९ रुपैयाँ बढी लिएको खुलेको छ। डीएसपी राईले औषधिमा बढी मूल्य लिने पश्चिमवासी फार्मेसीका सञ्चालक २२ वर्षीय महतोलाई पक्राउ गरिएको जानकारी दिए। 

सिरहाको धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर भएका रवीन्द्र विराटनगरमा फार्मेसी सञ्चालन गरेका बसेका छन्। सञ्चालक नै बिहीबार साँझ पक्राउ परेपछि फार्मेसी बन्द भएको छ। उनीविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारबाही अघि बढाउन शुक्रबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको राईको भनाइ छ। 

फार्मेसी सञ्चालक महतोका दुवै खाता प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै खाताको विस्तृतमा अध्ययन गरेर ठगीमा परेका अरू बिरामीको विवरण निकाल्न थालिएको एसपी सन्तोष खड्काले बताए। ४० रुपैयाँ पर्ने औषधिलाई १ सय ४० रुपैयाँसम्ममा बिक्री गरेको तथ्य फेला परेको उनको भनाइ छ। 

सर्वसाधारण कोरोना महामारीको चपेटामा परिरहेका बेला विराटनगरका फार्मेसीले बिरामीलाई बजार मूल्यभन्दा महँगोमा औषधि बिक्री गरेर चरम कालोबजारी गरिरहेको पाइएको खड्काले बताए। ‘कोरोना महामारीको चपेटामा सर्वसाधारण छन्।

तर फार्मेसीले भने बजार मूल्यभन्दा महँगोमा औषधि बेच्दै कालोबजारी गरिरहेको पाइयो,’ उनले भने, ‘धेरैतिरबाट गुनासो आएको आधारमा अनुसन्धान थाल्दा औषधिमा भइरहेको कालोबजारीको नयाँ तथ्य फेला पर्‍यो। बदमासी गरिरहेको सूचनाका आधारमा अरू फार्मेसीमाथि पनि निगरानी बढाइएको छ।’

जाहेरी नपर्दा अर्का सञ्चालक छुटे 
प्रहरीले रवीन्द्रकै छेउमा रहेको अर्को गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतोलाई पनि पक्राउ गरेको थियो। तर बिरामीलाई महँगोमा औषधि बेचेको पाइएपछि पक्राउ परेका जितेन्द्र किटानी जाहेरी नपर्दा छुटेका छन्। उनले २६ दिन अस्पताल बसेका बिरामीको उपचारमा ४ लाख ५५ हजार रुपैयाँको औषधि प्रयोग भएको भन्दै आफन्तलाई बिल थमाएको पाइएको थियो। 

प्रयोग भएको भन्दा औषधिको मूल्य धेरै आएपछि बिरामीका आफन्तले प्रहरीमा खबर गरेका थिए। उनले ठगी गरेको भनिएका बिरामीको निधन शुक्रबार बिहान भएको छ। त्यसपछि  जाहेरी दिन आफन्त आएनन्। 

प्रहरीका अनुसार मोरङको पथरी शनिश्चरेका ८४ वर्षीय पूर्णबहादुर लिम्बूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। २६ दिनसम्म अस्पताल राख्दा परिवारका सदस्यले गोलबजार फार्मेसीबाट औषधि खरिद गरेका थिए। डिस्चार्ज भएर घर जाने बेलामा ४ लाख ५५ हजार रुपैयाँको बिल थमाएपछि आफन्त आश्चर्यमा परे। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here