विभिन्न मुलुकबाट आयात गरी भारतमा निर्यात हुन्छ खाने तेल

काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म १५ अर्ब ५९ करोड १६ लाख १५ हजार रुपैयाँको ११ करोड ५५ लाख ५० हजार लिटर तेल आयात भएको छ । गत आर्थिक वर्ष (२०८०/८१) को असोज मसान्तसम्म १३ अर्ब १७ करोड ८९ लाख २३ हजार रुपैयाँको ९ करोड ५७ लाख ५५ हजार लिटर तेल आयात भएको थियो ।

यसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा २ अर्ब ४१ करोड २७ लाख रुपैयाँभन्दा बढीको तेल आयात भएको देखिन्छ ।

frontline

भारततर्फ निर्यात बढ्दा नेपालमा खाने तेलको आयात बढेको नेपाल तेल चामल उत्पादक संघ कार्यसमिति सदस्य विभोर अग्रवाल बताउँछन् ।

‘भारतले सेप्टेम्बर १४ मा सूचना जारी गर्दै नेपाल बाहेकका देशबाट आयात हुने तेलको भन्सार शुल्क २७ प्रतिशत बनाएको थियो । नेपालबाट निर्यात हुने तेलमा अहिले पनि १० प्रतिशतमात्रै भन्सार लाग्छ,’ अग्रवालले भने, ‘जसले गर्दा भारतीय व्यापारीले अरु मुलुकबाट भन्दा सस्तो पर्ने भएकाले नेपालबाट तेल आयात गर्न थालेका छन् ।’

यसको प्रभाव नेपाली उपभोक्तामा परेको अग्रवाल बताउँछन् । पछिल्लो समय खाने तेल भारततर्फ निर्यात हुन थालेपछि नेपालमा तेलको मूल्य ३० प्रतिशतसम्म बढेको उनको भनाइ छ ।

चालु वर्षको असोज मसान्तसम्ममा आयात भएको तेलमध्ये सबैभन्दा धेरै सूर्यमुखीको तेल रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा ७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ५ करोड ४९ लाख ४० हजार लिटर सूर्यमुखी तेल आयात भएको छ ।

यसैगरी क्रमशः भटमासको तेल, पाम तेल, जैतुनको तेल, तोरीको तेल आयात भएको विभागले जनाएको छ ।

कुन तेल कति आयो ?

3434
कुन–कुन मुलुकबाट गरिन्छ आयात ?

यस अवधिमा नेपालले २१ मुलुकबाट कच्चा तेल आयात गरेको छ । जसमध्ये सबैभन्दा धेरै युक्रेनबाट आयात हुने गरेको विभागको तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा युक्रेनबाट ६ अर्ब २४ करोड २९ लाख २१ हजार रुपैयाँको तेल आयात भएको छ ।

यसैगरी दोस्रोमा अर्जेन्टिनाबाट ४ अर्ब ८६ करोड ६० लाख ७६ हजार रुपैयाँको तेल आयात भएको छ । मलेसियाबाट १ अर्ब ५३ करोड ९३ लाख ६५ हजार रुपैयाँ बराबरको तेल आयात हुँदा ब्राजिलबाट ६९ करोड ७९ लाख ४९ हजारको तेल आयात भएको छ ।

यस्तै, ६० करोड बराबरको तेल थाइल्याण्डबाट आयात भएको छ । बाँकी तेल टोगो, बेनिन, इटाली, स्पेन, इन्डोनेसिया, साइप्रस लगायतका १७ मुलुकबाट १ अर्ब ६४ करोड ५० लाख ८३ हजार रुपैयाँ बराबरको आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

बढ्यो निर्यात

तेलको आयात बढेसँगै निर्यात पनि बढेको विभागको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ बराबरको तेल निर्यात भएको विभागले जनाएको छ ।

गत वर्ष समीक्षा अवधिमा १ अर्ब ४८ करोड ८८ लाख रुपैयाँको तेल निर्यात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष १८ करोड ५७  लाख रुपैयाँभन्दा बढीको तेल निर्यात भएको छ ।

यस अवधिमा सबैभन्दा ठुलो परिमाणमा भारततर्फ निर्यात भएको विभागले जनाएको छ । भारतमा १ अर्ब ६६ करोड ७९ लाख ७ हजार रुपैयाँको तेल निर्यात भएको छ । जसमध्येमा ९४ करोड ८ लाख ५९ हजारको भटमासको तेल, ३७ करोड ४ लाख ४० हजारको पाम तेल, ३४ करोड ९२ लाख ९४ हजारको  सूर्यमुखी तेल र ५ हजार रुपैयाँको रायो/तोरीको तेल निर्यात भएको छ ।

यसैगरी २१ लाख ८६ हजार रुपैयाँको तेल अष्ट्रेलिया, १ लाखको तेल क्यानडा, ४ लाख २५ हजारको अमेरिका र ८८ हजार रुपैयाँको तेल डेनमार्क निर्यात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालले विभिन्न मुलुकबाट तेल आयात गरी भारततर्फ निर्यात गर्ने गरेको गरेको छ ।

आयात निर्यात

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here