राती खुसुक्क प्रधानमन्त्री भेट्दा रास्वपामा किचलो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यतिबेला सम्पूर्ण शक्ति सभापति ‘रवि लामिछाने बचाऊ अभियान’ मा लगाइरहेको छ । सडक प्रदर्शनदेखि सरकारका मान्छेलाई सुटुक्क भेटेर लामिछाने छुटाउन सो पार्टीका नेताहरु सक्रिय छन् ।
कात्तिक २ गते पार्टी कार्यालयबाटै समातिएका सभापतिको पक्षमा भोलिपल्टैदेखि सडकमा ओर्लिएको रास्वपाले विरोध प्रदर्शन जारी राखेको छ । प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी हुनुका साथै कतिपय ठाउँमा पुत्लासमेत जलाइएको छ ।
यसैबीच उपसभापति डोलप्रसाद उर्फ डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले बालुवाटार पुगेर मध्यराति प्रधानमन्त्री ओलीसँग गुप्त भेटघाट गरेपछि रास्वपा पंक्ति तरंगित भएको छ । हिजो दिनभर सडक प्रदर्शनको अगुवाई गरेका र अँध्यारो परेपछि बालुवाटार छिरेका उनीहरुले राति ८ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्रीसँग भेटवार्ता गरेको खुलेको छ ।
प्रधानमन्त्रीको सचिवालयबाट भेटघाटको खबर बाहिरिएपछि रास्वपामा खैलाबैला मच्चिएको त छ नै, उपसभापति डा. स्वर्णिम वाग्ले समूह असन्तुष्ट रहेको बुझिएको छ ।
‘दिउँसो जसलाई हामीले निरकुंश, तानाशाह,भ्रष्टाचारी जोगाउने भिलेन भनिरहेका छौं,राति उसैलाई भेटेर दयाको भीख माग्न जाँदा जनतामा के सन्देश जान्छ ?’
एमाले नेता विष्णु रिजालको भनाईअनुसार भेटमा अर्याल र परियारले प्रधानमन्त्री ओलीसँग ‘रविलाई बचाइदिनु पर्यो’ भन्दै हारगुहार गरेका थिए । तर,ओलीले रुखो शैलीमा अदालतकै आदेशबमोजिम अनुसन्धान अघि बढेको र आफूले केही गर्न नसक्ने जवाफ दिएपछि उनीहरु निराश भएर फर्किए ।
रवि हिरासतमा पुगेपछि कार्यवाहक सभापतिको लागि अर्याल र वाग्लेबीच आन्तरिक प्रतिष्पर्धा छ । तर,अर्यालले आफूलाई स्वघोषित कार्यवाहकको हैसियतमा उभ्याइसकेका छन् । जुन कुरा वाग्लेलाई नागरिक संवादको जिम्मेवारीमा अल्झाएर आन्दोलनको नेतृत्व आफै लिएका अर्यालको चलाखीबाट पुष्टि हुने कतिपयको विश्लेषण छ ।
पार्टी पंक्तिलाई थाहै नदिई मध्यराति खुसुक्क प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएपछि उपसभापति वाग्ले थप असन्तुष्ट बनेको सो समूहका एक जिल्लास्तरका कार्यकर्ताले बताए । दिनभर प्रधानमन्त्रीविरुद्ध नारा लगाएर राति सुटुक्कै भेट्न जाँदा जनता र कार्यकर्तामा नराम्रो सन्देश जाने र आन्दोलनप्रति बितृष्णा बढ्ने उनको तर्क छ ।
उपसभापति अर्यालको दोहोरो चरित्र र कमजोर नेतृत्वको कारण पार्टीको भविष्य नै जोखिममा परेको वाग्लेनिकट मानिने एक केन्द्रीय सदस्य बताउँछन् । भन्छन्, ‘डिपी सरले राम्रो कोर्डिनेशन गर्नसक्नु भएको छैन,हिजो बालुवाटार जानुअघि कम्तिमा सबै पदाधिकारीलाई खबर गर्नुपर्थ्यो । त्यो भएन । मनमौजी प्रवृति देखाउन थाल्नुभयो ।’
अर्यालकै कारण कार्यकर्तामा निराश छाउन थालेको ती नेताको तर्क छ । साथै, प्रधानमन्त्रीसँगको हिजोको भेटले कार्यकर्ताहरुबीच फाटो ल्याउने खतरा बढेको उनले बताए ।
‘दिउँसो जसलाई हामीले निरकुंश, तानाशाह,भ्रष्टाचारी जोगाउने भिलेन भनिरहेका छौं,राति उसैलाई भेटेर दयाको भीख माग्न जाँदा जनतामा के सन्देश जान्छ ?’, उनले प्रश्न गरे, ‘डिपी सरले सोच्नुपर्दैन ? हाम्रै साथीहरुबीच समेत अहिले यही विषयलाई लिएर वादप्रतिवाद चल्न थालेको छ ।’
प्रतिक्रिया दिनुहोस्