त्रिभुवन विश्वविद्यालयमा उत्तरपुस्तिका हराउन जिम्मेवारमाथि कारबाही गर्न ढिलाइ

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराउन जिम्मेवार रहेकामाथि कारबाही गर्न ढिलाइ गरेको छ । उत्तरपुस्तिका संरक्षण गर्न नसकेर लापरबाही गरेको भन्दै छानबिन समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहितका अधिकारीहरूमाथि कारबाही गर्न सिफारिस गरेको थियो ।

छानबिन समितिले सिफारिस गरेको लामो समय बितिसक्दा समेत कसैमाथि पनि कारबाही हुन सकेको छैन । जबकि, विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने र दोषी सबैमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

frontline

त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को २०८१ साउन ३ गतेको बैठकले परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकसहितलाई १५ दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसका लागि कर्मचारी प्रशासन महाशाखालाई १५ दिने स्पष्टीकरण लेख्न निर्देशन दिएको थियो ।

परिषद् बैठकले सावधिक पदाधिकारीहरू परीक्षा नियन्त्रक, सहायक नियन्त्रक, मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ काम गर्ने कर्मचारीहरूलाई १५ दिनभित्र स्पष्टीकरणसहितको प्रक्रिया अगाडि बढाउन भनेको थियो ।

सोही अनुसार परिषद् सचिवालयले २०८१ भदौ ६ गते महाशाखालाई पत्र लेख्दै १५ दिनभित्र स्पष्टीकरण सोध्न भनेको थियो । तर, एक महिनाभन्दा बढी समय बितिसक्दा समेत स्पष्टीकरण सोधिएको छैन ।

‘२०८१ साउन ३ गते बसेको परिषद् बैठकले १५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो । त्यसका लागि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन कर्मचारी प्रशासनलाई निर्देशन दिने निर्णय भएको थियो,’ त्रिभुवन विश्वविद्यालय स्रोतले भन्यो ।  

यो पनिबारम्बार कसरी हराउँछन् त्रिभुवन विश्वविद्यालयका उत्तरपुस्तिका ?परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिसउत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

महाशाखाले स्पष्टीकरण सोध्न नसक्नुको कारण राजनीतिक दबाब नै रहेको देखिएको छ । राजनीतिक तहबाट कारबाही प्रक्रिया अगाडि नबढाउन दबाब आएको विश्वविद्यालय स्रोतको दाबी छ ।

‘बाहिरी कुरा जे भने पनि भित्री कुरा भनेको राजनीतिक दबाब देखिन्छ । कुनै एक पार्टी निकट भएर काम गर्दा स्पष्टीकरण सोध्न नसकेको देखिन्छ । यसमा त्रिवि पदाधिकारीभन्दा पनि कर्मचारीले आनाकानी गर्ने गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘१५ दिनभित्र स्पष्टीकरण सोध्नु भनेको कुरा एक महिना बितिसक्दा पनि किन भएन त ? यसमा राजनीतिक कारणमात्रै हो ।’

कारबाही किन नगर्ने भन्दै सोधिने स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएको खण्डमा विश्वविद्यालयले थप कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो । तर, हालसम्म स्पष्टीकरण नआएकाले केही गर्न सकेको छैन ।

परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले उत्तरपुस्तिका हराएका विषयमा गुपचुप रहेकै अवस्थामा पुनः परीक्षा गरेको थियो । २०८० चैत २१ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो ।

स्पष्टीकरण सोधिएकाहरूलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार कारबाही गरिनेछ । चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा सोही आधारमा कारबाही गर्ने तयारी त्रिविको छ ।

२०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (४१२) का उत्तर पुस्तिका हराएका थिए ।

नतिजा प्रकाशन गर्ने बेला उत्तरपुस्तिका हराएपछि परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षाको तयारी गरेको थियो । त्यो बेला त्रिवि र परीक्षा नियन्त्रण कार्यालयको व्यापक आलोचना भएपछि त्रिविले २०८० चैत १५ गते छानबिन समिति गठन गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष तथा त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय उच्चस्तरीय समितिले त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकसहित विभिन्न व्यक्तिलाई कारबाही सिफारिस गरेको थियो । समितिले प्रतिवेदन बुझाएको सात महिना हुँदासमेत कारबाही हुन सकेको छैन ।

उपकुलपति प्राडा केशरजंग बरालले कारबाही प्रक्रिया अगाडि बढेको बताए । प्रक्रियागत कारणले केही ढिलाइ भइरहेको बताउँदै उनले चाँडै टुङ्गो लाग्ने जानकारी दिए ।

keshar jung baral

‘मलाई उत्तरपुस्तिका हराउँछ भन्ने थाहा थिएन । तर, धेरै पहिलादेखि नै यस्तो हुँदै आएको रहेछ । अनुसन्धानका क्रममा बयान लिँदा धेरै समयदेखि यस्तो भएको भन्ने आएको थियो ।  यसमा अहिलेसम्म कुनै कारबाही भएको थिएन,’ रातोपाटीसँग कुरा गर्दै उपकुलपति बरालले भने ।  

बाहिर कारबाही नगरेको देखिए पनि विश्वविद्यालयको नियम अनुसार काम भइरहेको उनको भनाइ छ । कारबाही गरेपछि विश्वविद्यालयभित्रै पुनरावेदन गर्न पाउने कानुनी प्रावधान छ । विश्वविद्यालयले गरेको कारबाहीमा चित्त नबुझेको खण्डमा सम्बन्धित व्यक्तिले पुनरावेदन गर्न पाउने व्यवस्था छ ।

पुनरावेदनमा समेत चित्त नबुझेको खण्डमा बाहिरको अदालतमा समेत पुनरावेदन गर्न पाउने व्यवस्था छ । विश्वविद्यालयमा वर्षौँदेखिका समस्या थुप्रिएर रहेको बताउँदै उपकुलपति बरालले ती समस्या क्रमिक रूपमा समाधान हुने बताए ।

‘वर्षौँदेखि थुप्रिएका समस्या छन् । ती समस्या समाधान गर्न त समय लाग्छ,’ उनले भने, ‘अप्रत्यक्ष रूपमा यसमा अप्रत्यक्ष रूपमा सिस्टमको फल्ट देखिएको छ । अव्यवस्थित रूपमा बसेको सिस्टमलाई समेत सिम्टम मान्नुपर्ने अवस्था छ । त्यसलाई व्यवस्थित गर्नुपर्ने समेत चुनौती छ ।’

परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले उत्तरपुस्तिका हराएका विषयमा गुपचुप रहेकै अवस्थामा पुनः परीक्षा गरेको थियो । २०८० चैत २१ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । २०८० वैशाख महिनामा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ विषयको उत्तर पुस्तिका हराएको थियो । उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा गर्न क्याम्पसहरूलाई निर्देशन दिएको थियो ।

  • उत्तरपुस्तिका हराउने बारम्बारको समस्या  

त्रिविमा उत्तरपुस्तिका हराएको यो पहिलो पटक भने होइन । विगतदेखि नै उत्तरपुस्तिका हराउने र पुनः परीक्षा गराउने परिपाटी चल्दै आएको हो ।

उत्तरपुस्तिका हराउने तर, त्यसमा संलग्नलाई कारबाही नगर्ने परिपाटीले यो समस्या बारम्बार दोहोरिने गरेको हो । यो पटक भने उत्तरपुस्तिका हराएको विषय सञ्चारमाध्यममा व्यापक रूपमा आएपछि त्रिविले छानबिनका लागि समिति गठन गरेको थियो ।

पनिकाले कुनै पनि विषयको परीक्षा सञ्चालन गरिसकेपछि उत्तरपुस्तिका परीक्षणका लागि प्राध्यापकहरूलाई दिन्छ । प्राध्यापकहरूलाई उत्तरपुस्तिकाको गणना गरी पोको पारेर परीक्षण गर्न घर लैजाने सुविधा हुन्छ । तर, कतिपय प्राध्यापकले घरमा लगेर राखेको लामो समयसम्म पनि परीक्षण नगर्ने समस्या रहेको पनिकाको तर्क छ ।

एक सहायक परीक्षा नियन्त्रकका अनुसार उनीहरू कापी थन्क्याएर अन्य काममा नै व्यस्त हुने र उत्तरपुस्तिका परीक्षणमा निकै लामो समय लगाउँछन् । लामो समयसम्म परीक्षण नगरी बस्ने र परीक्षण गर्नुपरे हतारमा परीक्षण गर्ने कारण नतिजामा लापरबाही हुने गरेको ती सहायक परीक्षा नियन्त्रकको भनाइ छ ।

उत्तर पुस्तिका हराउने विभिन्न कारण छन् । घरमा लगेर मनपरी गर्ने, परीक्षण गरिसकेका उत्तरपुस्तिका सम्बन्धित कार्यालयमा बुझाइसकेपछि पनि हराउने गरेका छन् ।

‘ठुलो सङ्ख्यामा उत्तरपुस्तिका हुँदा कहिलेकाहीँ हराउनु सामान्य मानिन्छ । त्यसमा विभिन्न कारण हुन्छन्,’ ती सहायक नियन्त्रकले भने, ‘उत्तरपुस्तिका परीक्षण गराउनेका हातबाट पनि हराउन सक्छ । यता आइसकेपछि पुराना र नयाँ उत्तरपुस्तिका मिसिएर पनि हराउन सक्छन् ।’

काम गर्ने क्रममा कहीँ कतै कमजोरी हुने गरेको भन्दै उनले यस्ता खालका गल्ती नदोहोर्‍याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय त्रिविले परीक्षामा व्यापक सुधार गरेको छ । हालका पदाधिकारीहरूले परीक्षा सकिएको १०० दिनभित्रमा नतिजा प्रकाशन गर्ने गरी काम गर्दै आएका छन् ।

उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता नै नतिजामा सुधार रहेको बताए । त्यसका लागि हाल कापी परीक्षणको काम सम्बन्धित क्षेत्रीय कार्यालयहरूबाट गर्न थालिएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here