भारतमा अटो र ट्याक्सी चालकहरूद्वारा हडताल

नयाँदिल्ली । दिल्लीमा अटो तथा ट्याक्सी चालकहरूले अनुचित प्रतिस्पर्धा र थोरै कमाइ हुने भन्दै एपमा आधारित क्याब सेवाविरुद्ध दुई दिने हडतालको आह्वान गरेका छन् ।

बिहीबारदेखि सुरु भएको हडतालबाट यात्रीहरूलाई असुविधा भएको छ भने धेरै चालकले सवारी लिन अस्वीकार गरेका छन् ।
एपमा आधारित क्याब सेवाहरू अवैध रूपमा सञ्चालन भइरहेको र स्थानीय चालकहरूको शोषण गरिरहेको दिल्ली अटो ट्याक्सी ट्रान्सपोर्ट कांग्रेस युनियनका उपाध्यक्ष आरएस राठौडले बताए ।

frontline

‘ओला र उबर जस्ता कम्पनीहरूले हाम्रो पैसा खाइरहेका छन्, हामीले ओला र उबर जस्ता एपमा आधारित क्याब सेवाविरुद्ध हडताल गरेका छौँ, यी कम्पनीहरू अवैध रूपमा चलिरहेका छन् र स्थानीय चालकहरूले आफूले पाउनुपर्ने पारिश्रमिक पाइरहेका छैनन्’, उनले भने, ‘यी एपले अटो र बाइक जस्ता सबै सवारी साधनलाई लिएका छन्, यसबाट स्थानीय चालकहरूलाई अहिले कुनै व्यवसाय छैन ।’

उनले सरकारले ध्यान नदिए भविष्यमा विध्वंश हुने सम्भावना रहेको बताए । ‘हाम्रो अत्यन्त सरल मागहरू छन्– हामी ओला र उबरलाई बन्द गर्न माग गर्दछौँ’, उनले भने ।

एपमा आधारित सेवाहरूले सवारी खोसेर आफ्नो आम्दानी घटाएको चालकहरूले गुनासो गरेका छन् । केही चालकले दैनिक खर्च पनि पूरा गर्न नपाइरहेको दाबी गरेका छन् ।

यसैबीच हडतालका कारण यात्रीहरूले कठिनाइको सामना गर्नुपरेको छ र धेरैले क्याब बुक गर्न समस्या भएको गुनासो गरेका छन् । हडतालले दिल्लीमा परम्परागत ट्याक्सी चालकहरू र एपमा आधारित सेवाहरूबीच चलिरहेको तनावलाई प्रकाश पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here