यसपालि आए तीजका ३ सय गीत, लगानी ६ करोडभन्दा बढी!

बर्सेनि ठूलो मात्रामा तीजका गीतहरू सार्वजनिक हुने गरेका छन्। यस वर्ष पनि त्यो क्रमले निरन्तरता पाएको छ।

विशेष गरी लोक तथा दोहोरी गीतमा चलेका अधिकांश गायक-गायिकाले तीजगीत गाउने गरेका छन्। अरू विधाका कलाकारले पनि ल्याउँछन्। एक जनाको स्वरमा दर्जनौं तीजगीत पनि सार्वजनिक हुने गरेका छन्।

frontline

यसपालि शान्तिश्री परियारले मात्रै ६० वटाभन्दा बढी गीतमा स्वर दिइन्। त्यसमध्ये एउटा उनी स्वयंले आफ्नो लगानीमा आफ्नै युट्युबमार्फत ल्याएकी छन्।

सुनिता बुढा क्षेत्रीको स्वरमा ४० भन्दा बढी गीत रिलिज छन्। पशुपति शर्मा, खुमन अधिकारी, खेम सेञ्चुरी, रचना रिमाल लगायतका दर्जनभन्दा बढी गीत आएका छन्। उनीहरूले केही गीत आफ्नै आधिकारिक युट्युबबाट सार्वजनिक गरेका छन्।

गीत ल्याउन कतै दर्ता गर्नुपर्ने वा अनुमति लिनुपर्ने नभएकाले पनि कति रिलिज भए भन्ने आधिकारिक तथ्यांक छैन। यद्यपि, यसपालि सर्सर्ती केलाउँदा तीन सयवटा हाराहारी गीत आएको अनुमान भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले बताइन्।

‘यसपालि कम निस्किन्छन् भन्ने थियो। तर धेरै नै आए। तीन सय हाराहारी गीत आएको अनुमान छ,’ उनले भनिन्।

मगरका अनुसार कतिपय कलाकारले अन्य क्षेत्रबाट कमाएर जोगाएको पैसाले पनि तीजगीत ल्याउने गरेका छन्। वर्षमा एकपटक, तीजमा मात्रै गीत ल्याउने कलाकार थुप्रै भएको उनले बताइन्।

‘धेरै दिदीबहिनीहरूले अरू क्षेत्रबाट कमाएर जोगाएको पैसा लगानी गरेर गीत ल्याउने गर्नुहुन्छ,’ अध्यक्ष मगरले भनिन्, ‘उहाँहरूले रहर पूरा गर्न र आत्मसन्तुष्टिका लागि पनि तीजगीत ल्याउनुहुन्छ। त्यसैले तीजमा धेरै गीत आएका हुन् भन्ने लाग्छ।

कतिपय व्यावसायिक गायक/गायिकाले अरू बेला गीत नल्याए पनि तीजमा ल्याउने गरेका कारण संख्यात्मक रूपमा धेरै आउने मगरले बताइन्।

विन्ध्यवासिनी म्युजिक प्रालिका कार्यकारी निर्देशक सुवास रेग्मी धेरैले रहर र पहिचानका लागि तीजगीतमा लगानी गरिरहेको बताउँछन्। उनका अनुसार कतिपय गीतमा ४-५ लाखदेखि ८-१० लाख रूपैयाँसम्म लगानी हुने गरेको छ।

उनले यसपालि आफ्नो लगानीमा ल्याएको ‘मै छोरीलाई गाह्रो भो’ मा ५ लाख रूपैयाँ खर्च गरेका छन्।

‘चालीस जना कोरस, सेट लगाएर भिडिओ बनाएकाले लगानी बढेको हो। त्यति र त्योभन्दा बढी लगानीका गीतहरू सीमित छन्,’ रेग्मीले भने, ‘कतिले दुई लाखभित्र अडिओ, भिडिओका काम सकेका छन्। कतिपयले डेढ लाख मात्रै खर्च गरेका छन्। तीन लाखभन्दा बढी लगानी गर्नेहरू पनि छन्।’

कलाकारदेखि अरू कुरामा सम्झौता नगरी काम गर्दा लगानी बढ्ने उनी बताउँछन्। नभए, औसतमा दुईदेखि ३ लाख रूपैयाँसम्म लगानी हुन आउँछ।

निर्देशक एवं कोरियोग्राफर मौसम हिमाली भिडिओको लगानी यकिन नहुने बताउँछन्। यस वर्ष उनको कोरियोग्राफी एवं निर्देशनमा तयार १५ वटाभन्दा बढी तीजगीत सार्वजनिक छन्।

‘कुनैमा डेढ लाख त कुनैमा ३ लाख ५० हजारसम्म लगानी भएको छ,’ उनले भने, ‘सम्झौता गरेर काम गर्ने हो भने सस्तोमा पनि बन्छ। कलाकार, कोरस, सेट अनुसार लगानी तय हुन्छ।’

दुईदेखि तीन लाख रूपैयाँलाई औसत लगानी मानेर हिसाब गर्दा ३ सय गीतमा ६ करोडदेखि ९ करोड रूपैयाँसम्म लगानी हुन आउँछ।

तीजका गीतमा यति धेरै लगानी भए पनि प्रतिफल र मुनाफा भने न्यून मात्रै हुने गरेको छ। गीतमा गरिएको लगानीले धेरैलाई रोजगारी प्रदान गरेको हुन्छ। तर लगानीकर्ताका लागि भने यो लगानी बालुवामा पानी खन्याएजस्तै भएको छ।

व्यावसायिक कलाकारले स्टेज कार्यक्रमलाई लक्षित गरेर गीत ल्याउने गरेका छन्। युट्युब लगायत प्लेटफर्मबाट लगानी उठाउने गीत कमै हुन्छन्। विन्ध्यवासिनी म्युजिकका कार्यकारी निर्देशक सुवास रेग्मी ७५ प्रतिशत गीतले लगानी उठाउन नसक्ने बताउँछन्।

‘२५ प्रतिशतले लगानी उठाउँछन्। बाँकीको त डुब्ने नै हो,’ उनले भने। 

दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष थापा मगर पनि धेरै गीतले लगानी उठाउन नसक्ने बताउँछिन्।

उनले भनिन्, ‘तीन सयमा दसवटाले लगानी उठाएर नाफामा जालान्। अरू बीसवटाले लगानीसम्म उठाउलान्। बाँकीको लगानी घाटामै जाने हो।’

यसपालि तीन सय हाराहारी तीजगीत आए पनि विगतमा जस्तो चर्चा छैन। राम्राभन्दा उच्छृंखल गीतलाई लिएर धेरै चर्चा भइरहेको प्रतिष्ठानकी अध्यक्ष मगरले गुनासो गरिन्।

‘विगतमा तीजगीतको चर्चा राम्रो हुन्थ्यो। यसपालि दर्शक-स्रोताले छाडा भनेका गीतको चर्चा भइरहेको छ। मौलिक तीजगीतहरू पछाडि परेका हुन् कि भन्ने लागिरहेको छ। तीज पनि नजिकिएकाले अब चाहिँ राम्रा गीत अगाडि आउँछन् कि भन्ने आशा छ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here