मेयर भन्छन् : नि:शुल्क उपचार, नागरिक भन्छन् – पैसा तिर्दा पनि पाइएन
सोलुदूधकुण्ड नगरपालिकाले कोरोना संक्रमित नगरबासीको निःशुल्क उपचार गर्ने भएको छ । नगरपालिकाको समुदायस्तरमै कोरोना फैलिएको पुष्टि भएसँगै संक्रमितको उपचार नगरपालिकाले गर्ने मेयर नाम्गेल जाङबु शेर्पाले बताए ।
वडा अध्यक्षदेखि स्वास्थ्यकर्मी, कर्मचारी र व्यवसायीसमेत संक्रमित भेटिएपछि बजार सिल गरेर थप रणनीतिका साथ काम गर्नुपर्ने स्थानीयको माग भए पनि मेयर शेर्पाले भने परीक्षणको दायरा बढाउने तर बजार क्षेत्रलाई सिल नगर्ने बताए ।
नगरबासीको उपचार निःशुल्क गर्ने तर बजार बन्द नगराउने नीति लिएको उनको भनाइ छ । यता, सर्वसाधारण नागरिकले भने नगरपालिकाले स्थानीय नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन् ।
स्थानीय डुण्डिराज घिमिरेले कार्यापालिका बैठक बसेर थप योजना बनाउनुपर्ने नगरपालिकाले समुदायस्तरमा कोरोना संक्रमण देखिए पनि मौन बसेको बताए । स्वाब परीक्षणलाई फराकिलो बनाउने मेयर शेर्पाले दाबी गरिरहँदा स्थानीयले भने रकम खर्च गरेर परीक्षण गराउनसमेत पाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्