साउदी–कतारकै सपना देखाएर २ करोड ठगी, ठगेर पत्नीको नाममा घर
काठमाडौँ । वैदेशिक रोजगारीमा सहज रूपमा जान र काम गर्न पाइने मुलुक भए पनि काठमाडौँमा बसेर बिचौलियाहरूले कतार, साउदी अरब, युएई र कुवेतकै नाममा ठग्ने गरेका छन् । अरबको खाँडीमा पठाइदिने सपना बेचेर ठगेको आरोपमा प्रहरीले सिराहाका गुनेशकुमार ठाकुरलाई पक्राउ गरेको छ ।
ललितपुरको इमाडोल बस्ने ३२ वर्षीय ठाकुरले साउदी–कतारकै सपना देखाएर १ करोड ९७ लाख ठगेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता ९एसपी० काजीकुमार आचार्यले बताए । ठाकुरविरुद्ध वैदेशिक रोजगार विभागमा ८५ जनाले उजुर गरेका छन् ।
प्रहरीको खोजी सूचीमा रहेका ठाकुर साउन २१ मा पक्राउ परेपछि थाहा भयो उनी अरू धेरै मुद्दामा फरार रहेछन् । बैंकिङ र ठगीसम्बन्धी ८ वटा कसुरमा उनी फरार रहेको अपराध रेकर्ड फेला परेको छ । बसुन्धारास्थित ‘ओम इन्टरनेशनल’ मेनपावरको कर्मचारी हुँ भनेर ठाकुरले पीडितहरूसँग रकम असुल्ने गरेका थिए । यसअघि प्रहरी वृत्त गौशालाको टोलीले उनलाई मेनपावरको परिचय पत्र सहित पक्राउ गरेको थियो ।
आरोपीले ठगेको रकमले पत्नीको नाममा घर खरिद गरेका छन् । उनकी पत्नी माध्यमिक विद्यालयकी शिक्षिका हुन् । विराटनगरमा उनले पत्नीको नाममा ८० लाखमा घर खरिद गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
कतार र साउदी बाहेक गुनेशले पोल्यान्ड पठाउने सपना बेचेर पनि ठगेको अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीले बताए । उनले भने– ‘पोल्यान्ड सपना देखाएर ठाकुरले एउटै व्यक्तिबाट २१ लाख ठगेको देखिन्छ ।’
विदेश पठाउने नाममा एउटै गिरोहले १५ करोडसम्म ठगेको भेटिएको छ । २०८१ जेठमा उपत्यका अपराध अनुसन्धान कार्यालयले राजकुमार भट्ट, नवीन बिक र पवन पन्तलाई पक्राउ गरेको थियो । उनीहरुले ३ सय जनाबाट करिब १५ करोड ठगेको अनुसन्धान अधिकृतहरू बताउँछन् । चितवन घर भएका भट्ट, पोखरा घर भएका पन्त र विकले कम्बोडिया, न्युजिल्याण्ड र फ्रान्स पठाउने सपना देखाएर ठगेका थिए । सो समूहले सामाजिक सञ्जाललाई ठग्ने माध्यम बनाएको डीएसपी पन्थीले बताए ।
एक वर्षमा ३ सय ४८ पक्राउ
वैदेशिक रोजगारी ठगीका घटना उपत्यकामा अत्यधिक छन् । पछिल्लो एक वर्षमा विदेश पठाउने नाममा ठगेको आरोपमा प्रहरीले ३४८ जनालाई पक्राउ गरेको छ । ठगीमा संलग्न ८४० जनाविरुद्ध वैदेशिक रोजगार विभाग र अदालतबाट पुर्जी जारी भएको छ ।
२०८० साउनदेखि २०८१ असार मसान्त सम्ममा विदेशमा जाने लोभमा पीडितहरूले ६४ करोड १२ लाख २५ हजार गुमाएको अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यले बताए । उनले भने– ‘एक वर्षमा ६४ करोड १२ लाख भन्दा धेरै ठगीको बिगो रकम देखिएको छ ।’
साउन महिनामा मात्र उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट १० जना पीडित भएका छन् । २०८१ साउन महिनामा मात्र वैदेशिक रोजगार विभाग र अदालतबाट १३६ जनाविरुद्ध पक्राउ अनुमति आएको एसपी आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस्