बुटवलमा गुणस्तरहीन दुध बिक्री–वितरण

बुटवल, २३ साउनःबुटवलका बजारमा गुणस्तरहीन दुध बिक्री हुने गरेको पाइएको छ। दुधमा व्यवसायीले अत्यधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर बेच्ने गरेको भेटिएको हो।

बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितिमा अनुगमन गरेको थियो । टोलीले बुटवलका दुध उद्योग, वितरण गर्ने सहकारी र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा पठाएको थियो। तीमध्ये सबै नमुना फेल आएका उपमहानगरपालिकाले जनाएको छ।

frontline

जाँच गरेका नमुनामा दुधबाट अधिक फ्याटको मात्र झिकिएको वा अधिक पानी मिसाएर बेच्ने गरेको पुष्टि भएको हो । सरकारले भैँसीको दुधमा न्यूनतम ५ प्रतिशत फ्याट र एसएनएफ आठ, गाईको दुधमा ३.५ प्रतिशत फ्याट र एसएनएफ सात तथा मिक्स दुधमा ३.५ प्रतिशत फ्याट एसएनएफ मात्रा आठ तोकेको छ। तर, बुटवलमा १.८ प्रतिशत मात्रै फ्याट भएको दुध बिक्री–वितरण भइरहेको छ।

दुधको गुणस्तरमा कमी आएको गुनासो आउन थालेपछि उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तीव्रता दिएको छ। दुधको अवस्थाका विषयमा पहिले डेरी व्यवसायीलाई सचेत गराउने र त्यसपछि पनि  मापदण्डविपरीत पाइए कारबाही गर्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्। मापदण्डविपरीत दुध बेच्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना लिन सक्ने व्यवस्था रहेको अर्यालले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here