वर्षाले धादिङको बैरेनी खण्डमा रातभर सवारी जाम
गएरातिको पानीले बाटो अवरुद्ध हुँदा धादिङको बैरेनी क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ ।
गल्छी गाउँपालिका वडा नम्बर ६ बर्दखोला बैरेनी पुल नेर लेदो माटो जम्मा भएपछि सवारी साधनको जाम भएको हो । त्यहाँ पुलको दुवैतर्फ निर्माणकार्य जारी छ ।
राति पानी परेपछि बाटो पूर्णरुपमा बन्द थियो । सामान्य मर्मत गरेर केहीबेर एकतर्फी बाटो खुलाए पनि फेरि बन्द हुँदा सवारी साधनको लामो लाइन लागेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र कुमार मिश्रले सो क्षेत्रमा बाटो खुल्ने र बन्द हुने क्रम जारी रहेकाले सवारी साधन सहज रुपमा सञ्चालन हुन नसकेको बताए । ‘अहिले पनि बाटो डिस्टर्ब नै छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्