कथायात्रामा पौडेलको कथनी
प्रशासकीय चक्षुबाट नेपाली जनजीवन चिहाउँदै विसंगतिहरूलाई यथार्थपरक रूपमा प्रस्तुत गर्ने सिद्धहस्त कथाकार नरेन्द्रराज पौडेलको ७५ औं जन्मोत्सव कथायात्राका यात्रीहरूले पौडेलको बानेश्वरस्थित निवासमा कथाकारको कथनी श्रवण गरी मनाए। उक्त अवसरमा कथाकार नरेन्द्रले माओवादी सशत्र द्वन्दकालीन कालखण्डको आफ्नो सदाबहार कथा ‘गोली’ वाचन गरेका थिए।
कथाकारको कथनीमा सिद्धहस्त कथाकार पौडेलले आफ्ना बाल्यकालका स्मृति, कथा लेखन र प्रकाशनको सुरुवाती संघर्ष, कथा प्रकाशनको खुसी, कथा लेखनमा समकालीन साथीहरूको सद्भभाव र पाठकहरूको मायाको फेहरिस्त सुनाएका थिए।
१७ वर्ष जति प्रमुख जिल्ला अधिकारी भई नेपाली राजनीतिका अनेक उकालीओराली भोगेकाले कथाकार पौडेलका लेखनीमा प्राय: प्रशासिनक दृष्टिकोणबाट नेपाली जनजीवनका पीडा र मर्महरू झल्कने गरेका छन्।
२०२६ सालमा ‘केही दिन केही क्षण’ कथा प्रकाशन गरी कथा लेखन यात्रामा लागेका पौडेलको मेटिएका रेखाहरू, फट्टिकको खम्बा, पर्खालबाहिर, स्वप्नयात्रा, रोबोटको आँखा नामक कथासंग्रहहरू लगायत केही हास्यव्यंग्यसंग्रह र नियात्रासंग्रह पनि प्रकाशित छन्।
केही उपन्यासको प्रकाशक पर्खिरहेका पौडेल निरन्तर कथा, निबन्ध र कविता लेखिरहेका छन्। कथा पढ्नमा जति स्वाद आउँछ, लेखनमा त्यति नै जटिल भएको बताउने नरेन्द्रराज कथामा कथानकको साथसाथै परिवेश, पात्र, चरित्र र द्वन्दको सही संयोजन हुनुपर्ने तर्क गर्छन्।
कथायात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी गरेको छ। कथाकार पौडेल २००६ साल जेष्ठ ९ गते बुद्धजयन्तीमा सिन्धुपाल्चोकमा जन्मिएका थिए।
नियमित गरिने कथा यात्राको यो दोस्रो कदम हो। कथायात्रीहरूमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा.हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुईंकेल, हरिश कल्पित र पवित्रा अधिकारी रहेका छन्। यस कार्यले नेपाली कथालाई थप चलायमान बनाउने आयाेजककाे अपेक्षा छ।
प्रतिक्रिया दिनुहोस्