अमेरिकामा पहिलो अभ्यास खेलमा नेपाललाई सफलता
आगामी टि-२० विश्वकपको तयारीका लागि अमेरिकाको ह्युस्टन सहर पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित दर्ता गरेको छ । ह्युस्टन स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेन्स विरुद्ध भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो ।
नेपालले दिएको १४७ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा १४० रन मात्र बनाउन सक्यो । ह्युस्टनका लागि लाहिरु मिलान्थाले २२ बल खेल्दै सर्वाधिक ३३ रनको इनिङ खेले । यस्तै अलि शेखले २३, स्मित पटेलले १९ तथा आकर्षित गोमेलले १८ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चिदै २ विकेट लिए । यस्तै करन केसीले ३ ओभरमा २७ रन दिएर २ विकेट नै लिए । रोहित पौडेल, अविनाश बोहोरा, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि अनिल साहले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा सर्वाधिक ४७ रन बनाएका थिए । यस्तै कप्तान रोहित पौडेलले १८ बलमा २३ रन जोडे । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख सस्तैमा पेभेलियन फर्किएपछि अनिल र रोहित मिलेर तेस्रो विकेटका लागि ५१ रन जोडेका थिए ।
यस्तै नेपालका लागि सन्दिप जोराले २१ तथा गुलशन झाले २० रन बनाए। कुशल मल्लले १२ र करन केसीले १० रन जोडे ।
ह्युस्टनका लागि उसमान शिनवारी र इमरान खान जूनियरले २-२ विकेट लिए भने जोश ट्रोम्प, अलि शेख र जिया शेहजादले १-१ विकेट लिए ।
खेलमा विजयी भएपनि विश्वकपका लागि तयारीमा निम्ति खेलपश्चात सुपर ओभर समेत खेलाईएको थियो । सो सुपर ओभरमा पनि नेपाल नै विजयी भएको थियो ।
ह्युस्टनमा शनिबार अभ्यास खेलपछि नेपाली टोली ड्यालस जानेछ । त्यहाँ क्यानाडासँग मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ। त्यसपछि सोही स्थानमा नेपालले जुन ४ मा टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।
आउँदो टि-२० विश्वकपका आफ्ना दुई खेल हुने स्थान सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा विन्डवार्ड भोल्क्यानोज विरुद्ध टिम अभ्यास खेल खेलेर ह्युस्टन प्रस्थान गरेको थियो । सो तीन खेलको शृंखलामा नेपाल २-१ ले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्