सुरक्षित आवास निर्माण सुरु भजनी नगर
बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ।
भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो ।
वर्षौंदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताए।
उनले नगरपालिकाका अधिकांश क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए।
नगरपालिकाले गत वर्ष वडा नं ५ मा १६ वटा सुरक्षित उच्च आवास निर्माण गरेको थियो ।
बर्सेनि अन्य सङ्घसंस्थाको साझेदारीमा नगरपालिकाले आवास निर्माणलाई निरन्तरता दिएको नगरप्रमुख चौधरीले बताए।
स्थानीय छेदु डगौराले उच्च घर निर्माण भएपछि बर्सेनिको बाढी र डुबानबाट छुटकारा पाइने विश्वास व्यक्त गरे।
उनले वर्षौंदेखिको सरकारसँगको माग अहिले आएर पूरा भएको पनि बताए।
प्रतिक्रिया दिनुहोस्