केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छ :कोइराला
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन्।
अहिले नयाँ सत्ता समिकरण केन्द्रमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने जिकिर गरे।
नेपाली कांग्रेस विपक्षी भएको नाताले सत्तामा जानका लागि कोसिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोइरालाको भनाई थियो।
शनिबार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत राखे।
राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरे मात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिनसक्ने नेता कोइरालाले सुनाए।
उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राखे। नेता कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सरकार र सत्तारुढ दलले संसद्बाट पास गरेपनि त्यसलाई लागू हुन नदिने उल्लेख गरे।
नेता कोइरालाले पीडित मैत्री भए मात्रै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न नेपाली कांग्रेसले साथ दिने स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्