मिटरब्याजी पीडितसँगको सहमति पूर्ण कार्यान्वयन गरिन्छ: गृहमन्त्री
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजी पीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन्।
सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबिच सोमबार जाँचबुझ आयोग बनाउनेसहितका चार बुँदे सहमतिपछि मिटरब्याजी पीडित बसिरहेको स्थानमा पुगेर सम्बोधन गर्दै उपप्रधानमन्त्री लामिछानेले सो कुरा बताएका हुन्।
उपप्रधानमन्त्री लामिछानेले परिस्थिति कल्पना गरेभन्दा फरक आए पनि एकै ठाउँमा उभिने उल्लेख गर्दै यो सुरुआत भएको र अझै सङ्घर्ष बाँकी नै रहेको उल्लेख गरे। हिँडेर खुट्टा पट्पटी फुट्ने अवस्था नआओस् भन्नेतर्फ सरकार सचेत रहेको उनको भनाइ थियो।
असमान व्यवस्था अन्त्य होस् भनेर हामीले सहमति गरेको बताउँदै उपप्रधानमन्त्री लामिछानेले मिटरब्याजी पीडितसामु भने ‘हामीले तपाईंहरुलाई दुःख दिएको र दिन नसकेको सुख प्रति क्षमा माग्छौँ।’
उनले आयोगले विभिन्न उपायसहित सरकारलाई सुझाव दिने र त्यही आधारमा सरकार अघि बढ्ने जानकारी दिए।
आज भएको सम्झौताको विषयमा समेत प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराइसकेको उपप्रधानमन्त्री लामिछानेले बताए।
‘सहमतिलाई कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ, अलिकति समय दिनुहोला, अन्याय पर्दा खबरदारी गर्न भने नछाड्नुहोला’, उनले भने।
प्रतिक्रिया दिनुहोस्