मधेश बन्दआजपाको : दर्जनौं नेता तथा कार्यकर्ता पक्राउ
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आह्वान गरेको एक दिने मधेश बन्दको प्रभाव आंशिक परेको छ ।
राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको थियो । बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले बिहीबार एक दिने मधेश बन्दको आयोजना गरेको थियो ।
बन्दलाई सफल बनाउन आजपाका नेता तथा कार्यकर्ता बिहीबार बिहानैदेखि मधेशका विभिन्न जिल्लामा टायर बालेर प्रदर्शनमा देखिएका थिए । मुख्य सडकमा अवरोध गरेका थिए ।
तर, प्रशासनको हस्तक्षेपपछि बन्दको प्रभाव कम बन्दै गएको छ । मधेश केही भागमा प्रभाव देखिएपनि अन्यमा प्रभाव कमजोर रहेको जनाइएको छ ।
योबीचमा प्रहरीले दर्जनौं आजपाका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । आजपाका नेता धमेन्द्र सापकोटाका अनुसार जनकपुर, वीरगञ्ज, रौतहटलगायतबाट दर्जनौं नेताहरु पक्राउ परेका छन् ।
प्रहरीले आजपाका उपाध्यक्ष तिकल थापासहित महासचिव उपेन्द्र साह, पार्टी प्रवक्ता चन्द्रभूषण साहलगायतलाई पक्राउ गरेको उनले जनाए ।
प्रतिक्रिया दिनुहोस्