प्लास्टिकमुक्त नगरपालिका कार्यान्वयनमा चुनौती
प्लाष्टिक झोला निषेध गर्ने सुदुरपश्चिमकै पहिलो पालिका बनेको बेलौरी नगरपालिकामा प्लाष्टिकको झोला प्रयोग पूर्ण रुपमा नियन्त्रण हुन सकेको छैन । नगरपालिकाले गत वर्षको साउनदेखि प्लाष्टिक झोलाको प्रयोगमा निषेध गरेको थियो । प्लाष्टिकको झोलाले पालिकाको फोहोर व्यवस्थापनमा समस्या ल्याएको भन्दै नगरपालिकाले नियन्त्रण गरेर प्लाष्टिकमुक्त पालिका घोषणा गरेको थियो ।
बेलौरी भारतीय नाका नजिकैको पालिका रहेकाले प्लाष्टिकजन्य झोलाको नियन्त्रण गर्न चुनौति बनेको नगरपालिकाका उपप्रमुख जोगराम चौधरी बताउँछन् । पालिकाको नियम कतिपय नागरिकले पालना गरिरहँदा कतिपयले अटेर गरेको उनले बताए । उनले भने, ‘भारतबाट लुकिछिपी ल्याएर प्रयोग हुने गरेको छ । हामी अनुगमनमा जाँदा प्लाष्टिकको झोला प्रयोग गरेको थाहा पाएमा नगर्न आग्रह गछौं ।’
पालिकाले प्लाष्टिकको झोला प्रयोगमा निषेध गरेको विषयमा सबै स्थानीयलाई जानकारी नभएर समेत यसको प्रयोग नरोकिएको उनले बताए । ‘कानुनी प्रकृया र नगरपालिकाको सूचना सबैले हेर्न नसक्नु हुँदैन । त्यही भएका प्लाष्टिक झोलाको प्रयोग भएको भेटिएमा पहिलोपटक सजक गराउने र राम्रोसँग सम्झाउने गछौं । तर, सम्झाइबुझाइ गर्दा पनि मानेनन् भने नगरपालिकाको कानुनअनुसार कारबाही गरिन्छ ।
व्यापारीले बिक्री गरेर नै सर्वसाधरणले प्लाष्टिकको प्रयोग गर्ने भएकाले प्लाष्टिक झोला प्रयोग र बिक्री गर्ने व्यापारीलाई कारबाही गर्ने गरेको उनले बताए । दाल, चिनीजस्ता दैनिक उपभोग्य सामाग्री कागजको झोलामा खरिद बिक्री गर्न गाह्रो हुने जनगुनासो आउने गरेको उनले सुनाए । उनले भने, ‘घरबाट कपडाको झोला ल्याएर सामान किनेर लैजानुस् । घरमा बट्टामा सामान राख्नुस् भनेर सम्झाउने गरेका छौँ ।’ प्लाष्टिकको झोला बेच्नुको सट्टामा ग्राहकलाई घरबाट कपडाको झोला ल्याउन अनुरोध गर्न व्यापारीलाई सुझाव दिने गरेको उनले बताए ।
नगरपालिकाले स्थानीय गरिब तथा विपन्न महिलालाई सिलाइ कटाइको तालिम दिएकाले कपडाको झोला बनाउन समस्या नहुने उनले सुनाए । ‘सिलाइ कटाइ तालिम लिएर टेलर खोलेर बस्नुभएको छ । उहाँहरु झोला सिउनुहुन्छ,’ पालिकाबाट फाइबरका झोलाहरू खरिद गरेर स्थानीयले प्रयोग गरिरहेको उनले बताए ।
पछिल्लो समयमा नगरपालिकाले अनुगमन तीव्र बनाएको छ । प्रत्येक दुईदेखि तीन अन्तरालमा बजार अनुगमन गर्नुका साथै प्लाष्टिकको झोलाको प्रयोग भएको छ कि छैन अनुगमन गरिएको उनले बताए । ‘प्लाष्टिकको झोलाको प्रयोग नै भएको छ की छैन भनेर तीनपटक अनुगमन गर्यौँ,’ उनले भने ।
पर्यावरणसँग जोडिएको विषय भएकाले ठाउँठाउँमा प्लाष्टिकको फोहोर फाल्दा वातावरण प्रदूषित हुने र फोहोर व्यवस्थापनमा समेत समस्या हुने भएकाले प्लाष्टिक झोलाको निषेध गरेको उनको भनाइ छ ।
फोहोर व्यवस्थापनका लागि नगरपालिकाले ठाउँठाउँमा फोहोर फाल्ने ड्रम राखेको छ । सामान्यतः कुहिने फोहोरहरू बंगुर पालन गरेको ठाउँमा र प्राङ्गारिक मल बनाउन प्रयोग हुने गरेको उपप्रमुख चौधरीले बताए ।
उनका अनुसार बाँकी फोहोर स्थानीयले पालिकाले ठाउँठाउँमा राखेको ड्रममा जम्मा गरिदिन्छन् । सो फोहोरलाई नगरपालिकाको गाडी र कर्मचारीले हरेक दिन संकलन गरेर फोहोरलाई डम्पिङ गरेर व्यवस्थापन गर्दै आएको उनले बताए । दैनिक रुपमा करिब २ क्विन्टल फोहोर नगरपालिकाभित्र उत्पादन हुने उनले जानकारी दिए ।
एक ठाउँमा फोहोर संकलन गरेर त्यसको रिसाइकलिङ गर्ने तथा फोहोरबाट अन्य सामाग्री बनाएर फोहोरको व्यवस्थापन गर्ने योजना नगरपालिकाको छ । बेलौरी नगरपालिकासँग सो कामको लागि आवश्यक जमिन नभएकाले जमिनको खोजी भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्