कोविडको संक्रमण विरुद्ध लड्न ७ वटा अस्पतालसँग काठमाडौँ महानगरले गर्यो सम्झौता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोविडको संक्रमण विरुद्ध लड्न शुक्रबार ७ वटा अस्पतालसँग सम्झौता गरेको छ ।
अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका विरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पतालहरुलाई अनुदान दिने गरी सम्झौता गरेको हो ।
यस अघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै बैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन सम्झौता भइसकेको छ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालकातर्फबाट सम्बन्धित अधिकारीहरुले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘ यहाँ कसैलाई जटिल समस्या भयो भने लानु पर्ने अस्पताल नै हो । त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक र सरकारी अस्पतालको क्षमता बढाउने निर्णय गरेका हौँ यसले महामारी विरुद्धको लडाइँ प्रभावकारी हुन्छ भन्ने हामीले ठानेका छौँ ।यो सहकार्य त्यसैका निम्ति हो ।’
सम्झौतापछि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, भन्नुभयो, हामीले अस्पतालहरुसँग गरेको सहकार्यबाट विरामीहरुमा लाभ पुग्ने आशा छ । त्यहीअनुसार सेवा व्यवस्थापन गर्नुहोला ।’
सम्झौता भएका अस्पतालमध्ये वीरेन्द्र सैनिक अस्पताललाई सामाखुशीमा रहेको राधा स्वामी सत्संग ब्यासको भवनमा महानगरपालिकाको नामबाट अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालन गर्नेछ । जेठ १ गतेबाट ६ महिनाका लागि गरिएको सम्झौताबमोजिम काम सुरु गर्न महानगरले पहिलो किस्तास्वरुप २ करोड रुपैयाँ उपलब्ध गराउनेछ । त्यसपछिको अनुदान खर्च फाँटवारीमा आधारित हुनेछ । सम्झौतामा अस्पतालकातर्फबाट सहायक रथी कमाण्डान्ट डा. अरुण शर्माले हस्ताक्षर गर्नुभएको छ ।
महानगरले छत्रपाटी निःशुल्क चिकित्सालयलाई ३५ वेडको काठमाडौँ महानगरको कोविड अस्पतालका रुपमा सञ्चालन गर्नेछ । यसको पूर्वाधार विकासका लागि करीव ३० लाख रुपैयाँ र ३५ बेडको कोविड विशेष अस्पतालको समग्र व्यवस्थापन र आवश्यक जनशक्तिका लागि महानगरले मासिक करीव ४८ लाख रुपैयाँ व्यहार्नेछ । यो सम्झौता कोविडको महामारीका विषयमा महानगरले अर्को निर्णय नगरेसम्मका लागि हो । सम्झौताबमोजिम अस्पतालले खरिद गर्ने ३ वटा भेन्टिलेटरका लागि विलअनुसारको रकम महानगरले अनुदान स्वरुप उपलबध गराउनेछ । सम्झौतामा अस्पतालकातर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौता जेठ ७ गतेबाट लागु हुनेछ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ वटा भेन्टिलेटर र ५० थान मोनिटर खरिद गर्ने रकम महानगरले अनुदान स्वरुप उपलब्ध गराउनेछ । सम्झौताबमोजिम अस्पतालहरुले खरिद गर्ने उपकरणहरुको भुक्तानीका लागि महानगरले विलबमोजिमको रकम अनुदान स्वरुप दिनेछ । सम्झौतामा अस्पतालका निमित्त निर्देशक प्रा.डा.शान्ता कुमारी कँडेल सापकोटाले हस्ताक्षर गर्नुभएको छ ।
निजामति कर्मचारी अस्पतालले महानगरसँग कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप) १०–थान र वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) १०–थान खरिद गर्न सहयोगको माग गरेको थियो । यही मागअनुसार दुवै पक्षविच सम्झौता भएको छ । यसमा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. विधाननिधि पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
महानगरले महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, बसुन्धरा, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चावहिल र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पताल, बागबजारलाई २÷२ थान भेन्टिलेटर मेसिन खरिद गर्न आर्थिक अनुदान दिनेछ । यी अस्पतालहरुलाई दिइने अनुदान रकम पनि विलबमोजिम नै हो । यी अस्पतालकातर्फबाट क्रमशः अध्यक्ष कृष्णकुमार मगर, मेडिकल डाइरेक्टर डा. हेम लिम्बू र मेडिकल डाइरेक्टर डा. विजेन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको थियो ।
महानगरले अनुदान दिएका अस्पतालहरुले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्छ । यस्तै खर्च र लेखा परीक्षण प्रचलित कानुनले दिएको अधिकारबमोजिम गर्नुपर्छ । लेखा परीक्षणको प्रतिवेदन महानगरलाई पनि बुझाउनु पर्छ । यसै गरी महानगरको सहयोगमा खरिद गरिएका उपकरणमा ‘काठमाडौँ महानगरको सहयोगमा’ लेख्नुपर्नेछ । परिस्थिति र आवश्यकताका आधारमा सम्झौता थप गरेर साझेदारिता निरन्तर हुन सक्ने सम्झौतामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्