संघिय शिक्षा ऐन २०८० खारेजीको माग गर्दै गौरमा शिक्षकहरुद्वारा वृहद विरोध प्रदर्शन
मेवालाल यादव
रौतहट, ३० साउन । संघिय शिक्षा ऐन २०८० लाई खारेजीको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा रौतहटका शिक्षकहरुले सदरमुकाम गौरमा प्रदर्शन गर्दै सम्बध निकायहरुमा ज्ञापन पत्र बुझाउदै शिक्षा विकास तथा समन्वय इकाईलाई ज्ञापन पत्र बुझाएका छन् ।
रौतहट जिल्लामा रहेका स्थायी, अस्थायी, राहत, साविक उच्च मावि शिक्षक, विशेष शिक्षक, करार, बालविकास तथा कार्यालय कर्मचारीहरु नेपाल शिक्षक महासंघको ब्यानर मुनी मंगलवार गौर नगरको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई कार्यालय गौरमा ज्ञापन पत्र बुझाउदै इकाई कार्यालयमा धर्ना प्रदर्शन गरेका हुन् ।
बुझाइएको ज्ञापन पत्रमा संघियता कार्यान्वयन पछि नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच विभिन्न मितिमा भएको ३१ र ५१ बुंदे सम्झौता विपरित हाल नेपाल सरकारद्वारा शिक्षा क्षेत्रलाई धारासायी बनाउन संघिय शिक्षा ऐन २०८० ल्याएर मुलुकको शिक्षालाई धरापमा पारेकोमा आक्रोश पोख्दै नेपाल शिक्षक महासंघ देशभरी संघर्षमा उत्रिएका छन् ।
सरकारले मन्त्रीपरिषदबाट पारित गरेको शिक्षा ऐनलाई शिक्षक महासंघ संग आबद्ध रहेका संघसंस्थाहरु संग छलफल गरी सबैको स्वीकार्य हुने खालको संघिय शिक्षा ऐन २०८० जारी गर्न तथा नेपाल शिक्षक महासंघ र नेपाल सरकार संग विभिन्न समयमा गरेको सम्झौता लागु गर्न यसै ज्ञापन पत्रको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । यदी नेपाल शिक्षक महासंघको मागलाई समयमा सम्बोधन नभएमा चरणबद्ध रुपमा संघर्षका कार्यक्रम घोषणा गर्ने उक्त ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
प्रधानध्यापक प्रभु पटेलले शिक्षा क्षेत्रलाई समाप्त पार्नका निमित्त यो शिक्षा ऐन आएकोमा आक्रोश पोख्दै स्थानीय तहलाई शिक्षक नियुक्ति देखि लिएर खारेजी सम्मको अधिकार प्रत्योजन गरेर शिक्षा क्षेत्रको मूल्य र मान्यतालाई तहसनहस बनाइदिएको बताए । स्थानीय तहमा खरिदार सहरका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने परम्परा भएको देशमा शिक्षाको सम्पूर्ण सर्वाधिकार स्थानीय तहलाई दिएर शिक्षा क्षेत्रलाई धरासायी बनाई मुलुकलाई मुर्खहरुको देश बनाउने अभियान संघिय सरकारबाट भएकोमा गम्भीर आलोचना गरे । शिक्षक संघका अध्यक्ष रामकृपाल यादव, संघिय शिक्षक फोरम नेपालका कामेश्वर यादव, प्रदेशिक नेपाल शिक्षक संगठनका धर्मेन्द्र सिंह, राष्ट्रिय शिक्षक मञ्चका जयानन्द ठाकुर, नेपाल राष्ट्रिय शिक्षक संगठनका अनिल निधिको, शिक्षक शिवशंकर झा, अनिलगायतका शिक्षकहरुको अगुवाईमा जिल्लाभरीका सयौं शिक्षकहरुले सरकारको संघिय शिक्षा ऐन २०८० को विरुद्ध आफनो आवाज राख्दै व्यापक रुपमा उपस्थिति दर्ज गराएको शिक्षक रमेशकुमार झाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्