धान खेतमा हाँस र माछा पालन सुरू- तिलोत्तमा नगरपालिका,बुटवल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा धान खेतमा हाँस र माछा पालन सुरू भएको छ । तिलोत्तमा-१० उद्यमशील टोलका २६ परिवारले करिब २ बिघा खेतमा हाँस र ६ परिवारले १० कठ्ठा खेतमा माछा पालन शुरु गरेका हुन् ।

स्थानीय इन्नोभेसन कृषि फर्मको अगुवाईमा टोलवासीको २० प्रतिशत र जिल्ला भेटनरी अस्पतताल तथा पशु सेवा केन्द्र रुपन्देहीको ८० प्रतिशत लागत साझेदारी रहेको छ ।

frontline

पहिलो चरणमा ८ सय ५० हाँसका चल्लालाई धान खेतमा चराएर पालन गरिने छ भने एक हजार माछाका भुरा धान खेतमा छाडिने छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले हाँसलाई धान खेतमा छाडेर कार्यक्रम शुभारम्भ गरेका छन् । सो अवसरमा बोल्दै नगरप्रमुख खांणले सरकार र समुदायको साझेदारीमा धान खेतमा हाँस र माछा पालन सम्भवतः नेपालमै पहिलो कार्यक्रम भएको बताए ।

यसले धानको उत्पादन वृद्धि, एउटै खेतबाट धान वाहेक हाँस र र माछाको आम्दानी लिन सकिने र प्रांगारिक खेती गर्न प्रेरित गर्ने बताए ।

हाँस पालनसँगै हाँसको मासु र अण्डा विक्रिका लागि पसल सञ्चालन गर्न सटर भाडा नगरपालिकाले तिरिदिने र बजारिकरणमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

सिंगो तिलोत्तमालाई प्रांगारिक नगर बनाउन अध्ययन भइरहेको भन्दै खांणले विषादीरहित प्रांगारिक खेतीमा लाग्न नगरवासीलाई आग्रह गरे ।

‘श्रीलंका र सिक्किमले प्रांगारिक खेतीका कारण आत्मनिर्भर भई विदेशी पर्यटक आकर्षित गरिरहेका छन्,त्यसबाट सिकेर तिलोत्तमालाई पनि प्रांगारिक नगर बनाउन सकिन्छ’ खांणले भने, ‘प्रांगारिक उत्पादनले मान्छेको आयु समेत लामो बनाउँछ ।’

लुम्बिनी प्रदेश योजना आयोगका पुर्व सदस्य डा. दामोदर भुसालले प्रविधियुक्त व्यवसायिक प्रांगारिक कृषिबाट नागरिकको स्वास्थ्य र खेतीयोग्य जमिनको सुरक्षा हुने बताए ।

प्रांगारिक कृषिले रासायनिक मल आयात घटाउने हुंदा ब्यापार घाटा पनि कम हुने र नागरिकको जीवन सुरक्षित हुने डा. भुसालले बताए ।

टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनले टोललाई पुर्णतः प्रांगारिक खेतीयुक्त बनाउनकै लागि धान खेतमा हाँस र माछा पालन शुरु गरिएको बताए । उत्पादित हाँसको अण्डा र मासु विक्रि गर्न तीनै तहका सरकारको सहयोग चाहिने भन्दै उनले निकट भविष्यमै मौरीपालन गर्न मौरीको आहारा हुने विभिन्न जातका एक हजार बोटबिरुवा रोपिएको बताए ।

टोलवासीलाई उत्पादन र आयआर्जनमा जोड्न स्थानीय इन्नोभेसन कृषि फर्मले स्रोत केन्द्रको रुपमा किसानलाई हाँसका चल्ला,माछाका भुरा सँगै प्राविधिक सहयोग दिएको फर्मकी सञ्चालक विष्णु कंडेल भुसालले बताइन् ।

हाँस पालन गर्ने किसानलाई खेत तारबार गर्न जाली र खोर तथा माछा पालन गर्नेलाई ट्रेन्च निर्माणमा जिल्ला भेटनरी अस्पतताल तथा पशु सेवा केन्द्र रुपन्देहीको सहयोग रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here