पशु बीमा गर्न किसानको घरमै पुग्छन् जनप्रतिनिधि – शिवसताक्षी,झापा

शिवसताक्षीका चौपाया पाल्ने किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन्। नगरको वडा नम्बर ६ का किसान वडाले निःशुल्क पशुबीमा कार्यक्रम संचालन गरेपछि उत्साहित देखिएका हुन्।

वडाका जनप्रतिनिधि, पशु प्राविधिक, बीमा कम्पनीका कर्मचारी किसानका घरघरै पुगेर पशुको बीमा गरिदिएको वडा सचिव विमल बाँस्कोटाले बताए। उनका अनुसार पशु बीमा गर्ने ईच्छुक किसानका लागि वडाले सार्वजनिक सूचना जारी गरेको थियो। किसानले वडामा दिएको निवेदनका आधारमा वडा कार्यालयले पशुको बीमा गर्न किसान खोज्दै घरघरै गएको उनले बताए।

frontline

वडाले तीन वर्षदेखि पशु बीमा कार्यक्रम वडामा संचालन गरेको थियो। वडाध्यक्ष मनोज खुलालले शिवसताक्षी नगरपालिकाका पशुपालक किसान यो कार्यक्रमबाट उत्साहित भएका बताए। ०७७ देखि सुरु भएको यो कार्यक्रममा पहिलो वर्ष १ लाख विनियोजन गरेर कार्यक्रम संचालन भएको वडाध्यक्ष खुलालले बताए।

वडामा पशु बीमा कार्यक्रम प्रभावकारी र किसानले राहत महशुस गरेपछि ०७८ र ०७९ मा ५० हजार थप गरेर १ लाख ५० हजार बजेट छुट्याईएको वडाध्यक्ष खुलाल बताउँछन्। ‘आगामी आर्थिक वर्षमा पनि वडा सिलिङ बजेट घटेपनि यो कार्यक्रमले निरन्तरता पाउने छ,’ उनले भने।

वडाका ठग बस्ती, शिवगञ्ज बजार, हवल्दार चोक, किसन गाँउ, निपत्रिया, हल्दिबारी, श्रीलङका टोल, पुल चोक, सगरमाथा चोक लगायतका बस्तीमा पशुपालन व्यवसाय तीन वर्षयता फस्टाएको छ। पहिला एकदुई वटा मात्र  पाल्ने किसानका गोठमा यतिबेला कम्तीमा ५ वटा सम्म पशु देखिएका छन्। गाई, भौसी, कोरली, बंगुर, माउ बाख्राको बीमा गर्ने गरिएकोे वडाध्यक्ष खुलालले बताए।

अघिल्ला तीन वर्षमा बीमा गरिएका करिव ७५ पशु मरेका थिए। ती पशुको बीमा वापतको रकम किसानले पाएको वडा कार्यालयले जनाएको छ। ठग बस्तीका कृष्णबहादुर थापाले वडाले ल्याएको पशुबीमा कार्यक्रम प्रभावकारी र यसबाट किसानले राहत पाउन थालेपछि घरमा पालिएका पशुमध्ये दुई गाईको बीमा गरेको बताए। उनले भने, ‘यो कार्यक्रमले किसानको लगानी बचाउने रहेछ।’

‘पहिला बीमा कार्यक्रम वडाले ल्याउदा किसानले कुतर्क गर्थे। कतिपयले खिसीट्युरी गर्थे। यतिबेला किसान आफै कार्यक्रमबारे बुझ्न वडा कार्यालय आउन थालेको वडाकी कर्मचारी अनिता चौधरीले बताइन्।

वडाका २ सय ५० किसानका कम्तिमा ४ सय पशुको बीमा गर्ने लक्ष्य राखिएको वडाले  जानकारी दिएको छ। त्यसका लागि वडाले बीमा कम्पनीलाई एकमुष्ठ १ लाख ५० हजार भुत्तानी दिनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here