अमेरिकी सिनेटमा नेपालमा कोरोना भाइरसको असरबारे छलफल

फ्रन्टलाइन विश्व परिवेश । अमेरिकी सिनेट अन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड– १९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राखे ।

frontline

उनले नेपालको करिब तीन करोड जनसङ्ख्या कोरोना भाइरसको मारमा परेको भन्दै यूएसएआईडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरेका थिए । सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन् नाजुक भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

कोभिड महामारीको लागि यूएसएआईडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको सङ्क्रमण पाइएको बताए । यो दर उच्च भएको उनको टिप्पणी थियो । उनले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिए ।

अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले सिनेटमा नेपालको विषयले प्रवेश पाएकोमा खुसी व्यक्त गरे । उनले अहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतमा अन्य तरिकाको गरिएको सहयोगभन्दा पनि महत्वपूर्ण हुने बताए ।

अमेरिकाका सम्बन्धित निकायहरूलाई नेपालको महामारीको असरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपाललाई विभिन्न तरिकाले सहयोगको खाँचो रहेको र त्यसका लागि अमेरिकी सरकारसँग दूतावासले अनुरोध गरिरहेको खतिवडाले बताए ।

अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्टपति जो वाइडेनको प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका छन् । उनले मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटरहरू क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई समेत नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगको लागि सङ्घीय सरकारसँग अनुरोध गर्न पहलकदमी गरेको बताए । भण्डारीले भने, ’सिनेटरहरूले गरेको पहलकदमीले हामीलाई उत्साहित बनाएको छ ।’

अमेरिकाले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि स्वास्थ्य उपकरणहरु सहयोग गर्दै आएको छ । विगत एक बर्षको बीचमा यूएसआईडीले तीन करोड ६८ लाख अमेरिकी डलर सहयोग गरेको छ भने डिपार्टमेन्ट अफ डिफेन्समार्फत ३१ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here