खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालन
नुवाकोट। तादी गाँउपालिका–३ खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको समन्वय तथा तादी गाउँपालिकाको सहयोगमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।
आँखाको स्वास्थ्य जाँच गराउन यसअघि नुवाकोटको सदरमुकाम विदुर तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता केन्द्र सञ्चालनमा आएसँगै अन्त्य भएको र यसबाट बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिए।
केन्द्रमा हाल नेत्र सहायक, अप्टिकलको सुविधा सहित आवश्यक औषधि र चस्मा सेवा उपलब्ध छ । केन्द्र सञ्चालनको लागि फर्निचरसहितको बन्दोबस्ती तादी गाउँपालिकाले मिलाएको हो ।
एक वर्षसम्मको लागि केन्द्रको आर्थिक व्यवस्थापन तिलगङ्गा आँखा प्रष्तिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको दायित्व हुने र त्यसपश्चात् सम्बन्धित तादी गाउँपालिकालाई हस्तान्तरण गरिने समझदारी भएको छ । नुवाकोटमा यसअघि सामुदायिक आँखा केन्द्रको समन्वयमा लिखुको चौघडा र दुप्चेश्वर गाँउपालिकाको समुद्रटारमा ग्रामीण आँखा केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्