रामपुरमा उत्कृष्ट कृषक पुरस्कृत
पाल्पा। रामपुरमा सञ्चालित कृषि मेला प्रदर्शनी, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा गरिएको प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ट कृषक पुरस्कृत भएका छन् । तरकारी बाली, फलफूल बाली, मसला बाली, जरे बाली, पुष्प बाली, खाद्यान्न बाली, व्यावसायिक च्याउ खेती, बोकापालन, बाख्राको खोर व्यवस्थापन, बङ्गुरपालन, गाईभैँसीपालनमा विधा तोकेर उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।
मसला बालीतर्फ अदुवा खेतीमा राममाया लामिछाने, बेसार खेतीमा शिवप्रसाद बस्याल, माया पाठक, लसुन खेतीमा घनश्याम देवकोटा, खाद्यान्नतर्फ मकै खेतीमा चित्रादेवी देवकोटा, फापर खेतीमा जगन्नाथ गैरे र बालिकादेवी रेग्मी, च्याउ खेतीमा सेरबहादुर सोती, पुष्प खेतीमा सुकमाया सारु, शान्ति चितौरे, लालबहादुर थापा पुरस्कृत भएका छन्।
जरे बालीतर्फ मुलाखेती भगवती बस्याल, तरुलखेती घनश्याम बस्याल, गाँजरखेती बन्दना पोखरेल, पिँडालुखेती जिता सार्की उत्कृष्ट भई पुरस्कार प्राप्त गरेका छन् । पशुपालनतर्फ गाईभैँसीपालनमा प्रथम भट्टराई उन्नत गाईफार्म, द्वितीय होलस्टिन गाई तथा भैँसीफार्म, तृतीय चूरामणि कृषि तथा पशुपन्छी कृषिफार्म भएको छ ।
‘कृषि उत्पादन बढाउन र कृषकलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्नेछ, कार्यालयले सानादेखि ठूला कृषकलाई विभिन्न विधामा सहयोग गर्दै आइरहेको छ’, उनले भनिन्। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद रु चार हजार, तीन हजार, दुई हजार र एक हजार पाँच सय साथमा प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।
बालीको शुद्धता, रोग किराको अवस्था, बालीको परिपक्वता, स्थानीय बाली, रङका आधारमा कृषकलाई उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । यहाँ आयोजना गरिएको कृषि तथा पशु मेलाले कृषकमा हौसला बढाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्