पोल्ट्री व्यवसाय धमाधम पलायन हुँदै

१७ पुष, चितवन । पछिल्लो समय पोल्ट्री व्यवसायमा समस्या थपिएसँगै यो व्यवसाय गर्नेहरु पलायन हुँदै गएका छन् । कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयू)का सहप्रध्यापक  रेवन्तकुमार भट्टराईले नेपालमा पोल्ट्री क्षेत्रमा डेढ खर्ब रूपैयाँ  लगानी भएको जानकारी दिए । पोल्ट्री उद्योगका कारण पाँच लाख जनाले रोजगार पाएको उनको दाबी छ ।

तर पछिल्लो समय संकट बढेका कारण चल्ला उत्पादन हुने हृयाचरी नै बन्द भएको उनले सुनाए । केही वर्षअघि देशभर ३४८ हृयाचरी रहेकोमा अहिले मुश्किलले दुई सय हृयाचरीले मात्रै चल्ला उत्पादन गरेको उनले बताए ।

frontline

आइतबार दशौं राष्ट्रिय पोल्ट्री दिवस मनाउन चितवन भरतपुरमा जुटेका व्यवसायी तथा सरकारी अधिकारीहरूले समस्याहरू सुनाउँदै समाधानका उपायबारे चर्चा गरेका छन् ।

बर्डफ्लु लगायतका संक्रामक रोगका कारण समस्यामा पर्दै आएको पोल्ट्री क्षेत्र कोरानाका कारण थप संकटमा परेको र पछिल्लो समय बैंकको ब्याजदर बढेका कारण अप्ठ्यारो अवस्थामा पुगेको नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीका पोखरेलले बताए ।

‘बैंकले चर्को ब्याज लिन्छन्, कच्चा पदार्थको भाउ बढ्यो भनेर दानाको मूल्य पनि बढेको छ । तर कुखुराको मासुको भाउ नबढेपछि संकट गहिरिएको छ’ पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भने ।

वाग्मती प्रदेशका पशु विकास अधिकृत निशान्त शर्मा गेलालले नीतिगत सुधार, गुणस्तरीय उत्पादन, वैज्ञानिक मूल्य निर्धारण, बजारीकरण, उत्पादनको विविधिकरण र उपभोग बढाउने अभियान ल्याएर संकटबाट बचाउन प्रयास गरिएको बताए ।

वाग्मती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पोल्ट्री विकास बोर्ड स्थापना र सञ्चालनको प्रकृया अगाडि बढाएको, किसान सूचीकरण र परिचयपत्र वितरण प्रकृया अगाडि बढाउने, कृषि उपज खरिद बिक्रीमा अनुमतिपत्र लिनुपर्ने प्रवधान राख्ने, न्यूनतम समर्थन मूल्य तोक्ने र उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न लागिएको गेलालले जानकारी दिए । यी प्रावधानले कुखुरापालन व्यवसायलाई पनि संरक्षण र प्रोत्साहन गर्ने उनको भनाइ छ ।

नेपालमा वि.सं. २०१७ साल पुस १७ मा बारा जिल्लाको परवानीपुरमा सरकारले नै सेन्ट्रल हृयाचरी स्थापना गरी कुखुरा पालन व्यवसायलाई आधुनिक र प्रविधियुक्त बनाउन खोजेको थियो ।

सोही दिनको सम्झनामा १० वर्षयता नेपालमा राष्ट्रिय पोल्ट्री दिवस मनाइँदै आइएको छ । भरतपुरमा वाग्मती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र नेपाल कुखुरा व्यावसायी मञ्चले संयुक्त रूपमा १० औं पोल्ट्री दिवसको कार्यक्रम आयोजना गरेका हुन् । चितवन कुखुरा पालन हुने प्रमुख जिल्लामा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here