नगर प्रहरी प्रमुख पाण्डेविरुद्ध उजुरी, छानविन समिति गठन
१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध उजुरी परेपछि छानविन समिति गठन भएको छ ।
पाण्डेमाथि एक महिला नगर प्रहरी हवल्दारले आफूमाथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन् ।
पाण्डेले सुत्केरी अवस्थाकी महिला नगर प्रहरी हवल्दारको चरित्रमाथि औंला उठाउने गरेको र तथानाम गाली गर्दै ‘तैले मेरो बच्चा पाको होस् र ? जागिर खान मन भए बच्चा घरमै छोडेर आउने, मन नभए राजीनामा दिनू’ भनेर दुर्व्यवहार गरेको आरोप पीडित पक्षको छ ।
मंगलबार महानगरपालिका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
मानन्धरका अनुसार न्याय प्रशासन विभागको कर्मचारी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई सदस्य रहेको समिति गठन भएको हो ।
७ दिनभित्र पाण्डे माथि छानविन गरेर समितिले प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिवेदन बुझाउनुपर्ने छ ।
महिला नगर प्रहरी हवल्दारको निवेदनपछि महानगरले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । पाण्डेले पुस ५ गते आफूबाट गल्ती नभएको भन्दै स्पष्टीकरण बुझाएका थिए ।
समितिको निर्णयको बारेमा प्रतिवेदन आएपछि मात्रै भन्न सकिने मानन्धरले बताए । यस विषयमा विवाद भएपछि नगर प्रहरी प्रमुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै नगर नायब निरीक्षक लोकनाथ चुँडालले राजनीनामा नै दिएका थिए ।
उनले नगर प्रहरीहरुमाथि माथिल्लो तहबाट पटक-पटक पीडा र दुर्व्यवहार भएपछि राजीनामा दिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्