ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी
५ पुस, काठमाडौं । राष्ट्रपति कार्यालयले नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार शपथ ग्रहण गराउने तयारी गरेको छ ।
राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार बिहीबार राष्ट्रपति भण्डारी बुटवल जाने कार्यक्रम छ । त्यसकारण बुधबार नै शपथ ग्रहण गराउने तयारी भएको हो ।
तर, समय तय हुन बाँकी छ । ‘बुधबार शपथ हुन सक्छ, वा बिहीबार बिहानै पनि हुन सक्छ । ठ्याक्कै समय तय भएको छैन’, ढकालले भने ।
प्रतिनिधिसभामा निर्वाचित भएका २७५ सांसदलाई शपथ ग्रहण गराउनुअघि ज्येष्ठ सदस्य आफैंले शपथ लिनुपर्नेछ । संघीय संसद सचिवालयले सांसदहरुको शपथ कार्यक्रम ७ पुसको दिउँसो १ बजे तय गरेको छ ।
संघीय संसद सचिवालयका अनुसार सोमबार बेलुकी ज्येष्ठ सदस्य पहिचान गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको थियो । ज्येष्ठ सदस्यले अन्य सांसदहरुलाई शपथ ग्रहण गराउनुका साथैसभामुख चयन नहुँदासम्म प्रतिनिधिसभाको अध्यक्षता गर्नेछन् ।
राष्ट्रिय पञ्चायतदेखि नेपालको विधि निर्माणमा संलग्न जबरा ८१ वर्षमा भए । २०३० मंसिर २४ गते जारी भएको जबराको नागरिकतामा उमेर ३२ वर्ष लेखिएको छ । संघीय संसद सचिवालयले जारी भएको मिति अनुसार जन्ममिति तय गरेर जेष्ठ सदस्य पहिचान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्