सरकारले तोकेको मूल्यमा धान खरिद प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रिने किसानको चेतावनी

१ पुस, मोरङ । प्रदेश १ मा सरकारले तोकेको समर्थन मूल्यमा तत्काल धान खरिद प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रिने किसानहरूले चेतावनी दिएका छन् । कांग्रेसको भ्रातृ संगठन किसान संघ र एमालेका भ्रातृ संगठन अखिल नेपाल किसान संघमा आबद्धहरूले बुधबार पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् । 

किसानको दबाबमा २०७९ कात्तिक १६ को मन्त्रिपरिषद् बैठकले चालु आवका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको ३ हजार १ सय २८ रुपैयाँ समर्थन मूल्य तोकेको छ । समर्थन मूल्य कार्यान्वयनको माग गर्दै किसानसम्वद्ध संघ/महासंघका प्रतिनिधिहरूले विराटनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालयका प्रमुख महेन्द्र सिटौलालाई ज्ञापनपत्र बुझाएका छन् ।

frontline

समयमा सरकारले धान खरिद नगर्दा सस्तोमा व्यापारीलाई धान बेच्न बाध्य भएको किसानको गुनासो छ । सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमा धानको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने, कम मूल्यमा बिक्री गर्नु परे त्यस्तो फरक मूल्य समेत शोधभर्ना दिने प्रतिबद्धता जनाएको छ । तर मंसिर बित्न लाग्दा पनि धान खरिदको प्रक्रिया सुरु नगरेकाले किसानहरू दुखी छन् ।

किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराईले समर्थन मूल्य तोक्दा पनि सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान किन्न नचाहेको आरोप लगाए । उनले भने, ‘किसानको धान अब पनि खरिद गर्न ढिलाई भए आन्दोलनमा उत्रिनुको विकल्प रहँदैन ।’ केन्द्रमा पटकपटक ध्यानाकर्षण गराइसक्दा पनि धान खरिद प्रक्रिया सुरु नभएकाले जिल्ला जिल्लाबाट आन्दोलनको तयारीमा जुटेको उनले बताए ।

अखिल किसान संघ मोरङका अध्यक्ष देवेन्द्र पौडेलले उत्पादित धान खरिद प्रक्रिया सुरु नभए पछि व्यापारीको काँटामा पुग्दा पनि सरकार मुकदर्शक बनेको गुनासो पोखे । ‘कृषि क्षेत्र र किसानप्रति राज्यको यो तहको उपेक्षा कहिलेसम्म भोग्नुपर्ने हो ?,’ उनले भने, ‘खेती लगाउने समयमा मल बीउको अभाव, उत्पादित उपजको बजार मूल्यमा मनोमानी हुँदा पनि सरकार कहिले सम्म मूकदर्शक भएर बस्ने हो, के किसान सधैं निरिह भएर बस्छ, अब यसरी चल्दैन, कडा आन्दोलनमा उत्रिन्छौं ।’

उक्त कम्पनी लिमिटेड प्रदेश कार्यालयले किसानको ध्यानाकर्षणपछि धान खरिद प्रक्रिया अघि बढाउन प्राथमिक खरिद समितिको बुधबार बैठक गरेर आइतबारदेखि खरिद प्रक्रिया अघि बढाउने जनाएको छ । कम्पनीका प्रदेश १ प्रमुख सिटौलाले समितिको बैठकले निर्णय गरी आइतबारबाट सुनसरी र मोरङमा धान खरिद पक्रिया सुरु गर्ने बताए ।

अघिल्लो बर्ष १५ हजार क्विन्टल धान खरिद गरिए पनि चालु आवमा १० हजार क्वीन्टल मात्रै सोना मन्सुली धान खरिद गर्ने कोटा प्राप्त भएको सिटौलाले बताए । उनले सम्बन्धित स्थानीय तहका किसानबाट वडा कार्यालय वा पालिकाको सिफारिसका आधारमा किसानको मात्रै धान खरिद गर्ने बताए ।

कम्पनीले गत वर्ष १५ हजार क्वीन्टल धान खरिद गर्ने कोटा प्राप्त गरेकोमा १४ हजार ९ सय ६० क्विन्टल ९६ किलो खरिद गरेको थियो । त्यस्तै आव २०७७/७८ मा २२ हजार २ सय ३४ क्विन्टल धान खरिद गरेकोमा वर्षेनी खरिदको कोटा घट्दै गइरहेको उक्त कार्यालयको तथ्यांकले जनाएको छ ।

कम्पनीको विराटनगरस्थित प्रादेशिक कार्यालयमा अहिले मौज्दात रहेको ५ हजार ७ सय ६८ क्विन्टल १० किलो चामलमध्ये कारागारका कैदी बन्दी र आवश्यकता अनुसार पहाडी क्षेत्रमा पठाउने गरेको छ । विराटनगरस्थित प्रदेश कार्यालयले खरिद गरेको धानलाई टेन्डरमार्फत मिलमा कुटाएर तयार पारिएको चामल संखुवासभाको खाँदारी डिपोमा एक हजार क्विन्टल र हटियागोला डिपोमा सात सय क्विन्टल र भोजपुरमा एक हजार क्विन्टल पठाउने पठाउने कोटा प्राप्त भएको सिटौलाले बताए । उनले बाँकी चामल मागको आधारमा काठमाडौं र सुर्खेत पठाउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here