बंगलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा

२० कात्तिक, एडेलेड । आईसीसी टी–ट्वेन्टी विश्वकपको समूह ‘दुई’अन्तर्गत आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको छ। एडेलेड ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले पाकिस्तानलाई सेमिफाइनलमा पुग्न एक सय २८ रनको लक्ष्य दिएको थियो।

एडिलेड ओभलमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २७ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १८.१ ओभरमा चार विकेट गुमाएर एक सय २८ रनसहित लक्ष्य पूरा गर्यो।

frontline

पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै पाकिस्तानी ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमले राम्रो सुरुआत दिलाएका थिए। पाकिस्तानका लागि ३२ बल सामना गरेका रिजावान दुई चौका र एक छक्कासहित ३२ रन बनाएर पेभेलियन फर्केका थिए। यस्तै, कप्तान आजम ३३ बलमा दुई चौकासहित २५ रन बनाएर आउट भए।

वान् डाउनमा क्रिजमा उत्रिएका मोहम्मद नवाज चार रनमा आउट हुँदा मोहम्मद ह्यारिसले आक्रमक ब्याटिङ गर्दै १८ बलमा ३१ रन जोडेका थिए। पाकिस्तानलाई लगातार दोस्रो पटक सेमिफाइनलमा पुर्याउन शान मसुदले १३ बलमा दुई चौकासहित २२ रनको इनिङ खेल्दा सादाब खान शून्यमा अविजित रहे।

बलिङतर्फ बंगलादेशका लागि मुस्ताफिजुर रहमान, इबादोत होसेन, कप्तान शकिब अल हसन र नासुम अहमदले एक–एक विकेट लिए।

बंगलादेशका लागि ओपनर सान्तोले ४८ बलमा चार चौका र सात छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेले। अफिफ होसेनले अविजित २४ रनको मद्दत गर्दा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेको थिएन।

पाकिस्तानका लागि शहीन साह अफ्रिदीले चार ओभरमा २२ रन खर्चेर सर्वाधिक चार विकेट लिएका थिए। पाकिस्तानका लागि आफ्नो ओभरको पूरा चार–चार ओभर बलिङ गरेका ह्यारिस रौफले एक तथा सादाब खानले दुई विकेट लिए।

यस्तै, इफ्तिखार अहमदले तीन ओभरमा १५ रन खर्चेर एक विकेट लिए। आइतबार नै भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएपछि दक्षिण अफ्रिका नाटकीय रुपमा समूह चरणबाटै बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here