पुरुष भलिबलकाे स्वर्ण एपीएफलाई

३ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)ले बिहीबार त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुरुष भलिबलकाे स्वर्ण पदक जितेको छ । 

पहिलो सेट २५–२१ को स्कोरमा जितको एपीएफले दोस्रो सेट २७–२५ ले बाजी मार्‍याे । तेस्रो सेट २६–२४ को स्कोरमा हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो । 

frontline

एपीएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभ कमजोर हुँदा आफ्नो टिमलाई अंक जोड्न सहज भएको बताए ।

‘‘आर्मीको खेल नराम्रो भन्न मिल्दैन,’’ उनले भने, ‘‘हाम्रो ब्लक र डिफेन्स बलियो हुँदा यसपल्ट आर्मीको दबदबालाई तोडेर जित हात पार्न सफल भएका छौं ।’’

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो ।

एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो । 

एपीएफको महिला टोलीले नवौँ राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लबलाई हराएर स्वर्ण जितेको थियो । 

बिहीबार नै पुरुष भलिबलमा पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै कांस्य पदक जित्यो । पुलिसले २६–२४, २५–१४, २५–१८ को सेटमा विजय हासिल गरेको हो । 

प्रतियोगिता अवधिभर कुनै खेल पनि पाँच सेटसम्म पुगेन । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here