फुटबल हेर्न भनेर निस्किएका तीनजना बालिका सम्पर्कविहीन

२६ भदौ, विराटनगर । मोरङको लेटाङमा फुटबल हेर्न भनेर अघिल्लो दिन घरबाट निस्किएका तीनजना बालिका सम्पर्कविहीन बनेका छन् । 

प्रहरीका अनुसार लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई शनिबार बिहानदेखि सम्पर्कविहीन बनेका हुन् ।

frontline

घरबाट फुटबल हेर्न भनेर अभिभावकलाई ढाँटेर उनीहरु बिहान ११ बजेतिर घरबाट निस्किएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार लेटाङ वरपर फुटबललगायत खेलकुदका कुनै प्रतियोगिता आयोजना गरिएको जानकारी छैन । 

‘गाउँमा खेलकुदका कुनै प्रतियोगिता आयोजना गरिएको पाइएन । तर बालिकाहरु फुटबल हेर्न भन्दै अभिभावकलाई ढाँटेर घरबाट निस्किएको खुलेको छ,’ श्रेष्ठले भने, ‘अभिभावक र स्थानीय बासिन्दाको सहयोगमा खोजी तीव्र पारिएको छ । तर फेला पार्न सकिएको छैन ।’ 

तीनैजना बालिका लेटाङकै शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत छन् । 

बिहान घरबाट निस्किएका छोरीहरु नफर्किएपछि अभिभावकले खोजी थालेका थिए । प्रहरीले भने घटनाका बारेमा आइतबार बिहान ६ बजेतिर मात्रै जानकारी पाएको डीएसपी श्रेष्ठको भनाइ छ ।

उनका अनुसार घरबाट हिँडेका बालिकाहरु साँझसम्म नफर्किएपछि अभिभावकले रातभर खोजी गरेको पाइएको छ । अवस्था पत्ता लाग्न नसकेपछि अभिभावकले प्रहरीलाई जानकारी गराएको उनले बताए ।  

डीएसपी श्रेष्ठका अनुसार ढिलो गरेर घटनाको जानकारी आएकाले पनि खोजीमा समस्या भइरहेको छ । अभिभावक र स्थानीयको सहयोगमा खोजी तीव्र पारिएको भए पनि उनीहरुको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त हुन नसकिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here