१ फिट लामो ३ वटा जोडिएको सुइराेले जिब्राे छेडेर नगर परिक्रमा गरेर जात्रा सम्पन्न
२६ भदौ, मध्यपुर थिमि । येयाः पुन्ही (इन्द्रजात्रा) का अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर अगाडिको डबलीमा जिब्रो छेड्ने जात्रा सम्पन्न गरियाे ।
मध्यपुर थिमि न.पा.- ४ बालकुमारीका वीरेन्द्र भक्त गजु श्रेष्ठले जिब्राे छेडेका हुन् । फलामको करिब १ फिट लामो ३ वटा जोडिएको सुइराेले उक्त जिब्राे छेडिएको हो ।
जिब्राे छेडसिकेपछि दिगु भैरव, दुईपोखरी, बालकुमारी, शङखचोक, सूर्यविनायक नपाको दक्षिण बाराही, परिक्रमा गरेर पुनः मध्यपुर थिमिको चपाचो, बाहाखा, नगदेश, बोडे हुँदै बालकुमारी मन्दिरमा पुगेर सियो निकालिएको थियो ।
जिब्राे छेडेर करिब २० केजीको १७ वटा दीपसहितको अर्ध चन्द्राकार भ्ये (दीप) काँधमा बोकेर करिब ४ घण्टासम्म उनले नगरका विभिन्न ठाउँ परिक्रमा गरे । यसअघि २०७४ मा पनि उनले नै जिब्रो छेडेका थिए ।
प्रतिक्रिया दिनुहोस्