भृकुटीमण्डप खुला बजारको तीनदिने बहाल कर बुझाउने अल्टिमेटम सकियो

२४ भदो, काठमाडौं ।  समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयले जारी गरेको तीनदिने बहाल कर बुझाउने अल्टिमेटम सकिएको छ।

कार्यालयले  गत मंगलबार तीन दिनभित्र भृकुटीमण्डप क्षेत्रभित्रका खुला बजार,पक्की स्टल, बुथ, घुम्ती तथा साना पसल, जग्गा भाडामा लिई बसेका व्यक्ति, संस्था एवं भाडामा बस्ने कार्यालयहरूलाई बहाल कर बुझाउन निर्देशन दिएको थियो।

frontline

भृकुटीमण्डप सञ्चालन कार्यालयले ती क्षेत्रका पसल, कार्यालयमै सूचना टाँसेको थियो तर कर बुझाउने अल्टिमेटम सकिँदा पनि कसैले कर नबुझाएको भृकुटीमण्डप सञ्चालन कार्यालयले जनाएको छ।

भृकुटीमण्डप सञ्चालन कार्यालय प्रमुख दुर्गाप्रसाद भट्टराईले तीनदिने सूचना जारी गर्दा पनि कोही सम्पर्कमा नआएको जानकारी दिए। 

‘कार्यालयहरूलाई नियमअनुसार बुझाउनुपर्ने हालसम्मको बहाल कर बुझाएको भए भौचरको प्रति यस  कार्यालयमा पेश गर्न र नबुझाएको भए सम्बन्धित निकायमा गई बुझाउन भनेका थियौँ तर कसैले बुझाएनन्’‚ उनले भने।

उनका अनुसार भृकुटीमण्डपभित्र एक हजार चार सय पसल सञ्चालनमा छन्। त्यस्तै विभिन्न संघसंस्थाले कार्यालयहरू भाडामा लिएर चलाएका छन् तर उनीहरूले समयमा भाडा पनि तिरेका छैनन्।

‘७ सय पसल व्यवसायीले पहिलै कर बुझाएको भन्ने छ तर हामीकहाँ भौचर आएको छैन’‚ उनले भने।

उनले कति बहाल कर बक्यौता छ भनी यकिन तथ्यांक नभएको बताए। ‘विवरण नै बुझाएका छैनन्’, उनले भने, ‘त्यसैले यति बहाल कर उठ्न बाँकी छ भनेर भन्न सकिने अवस्था छैन।’

तत्कालीन भृकुटीमण्डप सञ्चालन कार्यालय प्रमुख रामराज भट्टराईका अनुसार उनको कार्यकालमा ५० लाखभन्दा बढी बाँकी बहाल कर उठेको जानकारी दिए। पटक पटक कर बुझाउन निर्देशन दिए पनि ती कार्यालय, पसलले अटेर गर्ने गरेको उनको भनाइ छ। 

कर नतिर्ने पसल र कार्यालय बन्द गरिने

काठमाडौं महानगरपालिकाले यतिखेर अनधिकृत संरचना भत्काउने अभियानलाई निरन्तरता दिइरहेको छ। महानगरपालिकाले बिहीवार पशुपति क्षेत्रको अनधिकृत संरचना भत्काउन निर्देशन दिएको छ।

महानगरपालिकाले भदौ ६ गतेदेखि नक्साविपरीत अवैध रूपमा सञ्चालन गरेका अन्डरग्राउण्ड पार्किङ खाली गराउँदै आएको छ।

मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड पनि हटाउने अभियानमा छ महानगरपालिका। महानगरपालिका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले कर नबुझाउने, अनधिकृत संरचना भत्काउने अभियान निरन्तता हुने बताएका छन्।

यही अभियान अनुरूप अब महानगरपालिका र भृकुटीमण्डप सञ्चालन कार्यालयले कर तिर्न बेवास्ता गर्ने पसल, कार्यालय सबै बन्द गर्ने प्रक्रिया थालेको छ।

भृकुटीमण्डप सञ्चालन कार्यालय प्रमुख भट्टराईले महानगरपालिकाबाट नै कर नबुझाए बन्द गर्न पत्र आएकाले त्यही अनुसार अघि बढ्ने जानकारी दिए।

उनले भने, ‘हामीले धेरै पटक पसल व्यवसायी, कार्यालय भाडामा लिएका सबैलाई तत्काल बहाल कर बुझाउनु भनी निर्देशन दिएका थियौँ तर यसको बेवास्ता भयो,अब महानगरपालिकाले बन्द गर्ने भनेको छ। अब ती पसल,कार्यालयमा ताला लाग्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here