घामपानी बस्तीका सात घर पहिरोको उच्च जोखिममा
बागलुङ । निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–२ को घामपानी बस्तीका सात घर पहिरोको उच्च जोखिममा परेका छन् ।
गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले यहाँ रहेका सात घर पहिरोको जोखिमा रहेको जनाउँदै ती घरका परिवारहरुलाई सुरक्षित स्थानमा सार्न माग गरे ।
“निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा बस्न लगाएका छौँ,” उनले भने, “अझै ठूलो वर्षा भयो भने यहाँको बस्ती पहिराले बगाउन सक्ने देखिन्छ । बस्ती पहिराको बीचमा रहेको हुँदा पानी पर्दा यहाँ बस्न निकै जोखिमपूर्ण छ ।”
उनका अनुसार वर्षाका कारण वडा कार्यालयदेखि गाउँ–गाउँसम्म पुग्ने ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक खुलाउन अझै केही समय लाग्ने जनाइएको छ ।
अध्यक्ष भण्डारीका अनुसार वडा नम्बर २ कै खालीखोलामा पहिरोसहितको बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गएराति आएको पहिरोसहितको बाढीले दुई सय रोपनी धानबाली लगाएको खेत पुरिएको हो ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको भ्यूटावर क्षेत्रमा सडकको नाली थुनिएपछि भीषण पहिरोसहित आएको बाढीले स्थानीय कृषकको धानबाली लगाएको खेत पुरिएको हो । बाढीले धानबालीसहित सयौँ रोपनी खेत पुरिँदा करोड बढीको नोक्सानी भएको अध्यक्ष भण्डारीले बताए ।
“किसानले लगाएको धान भर्खर सप्रिन थालेको थियो, पहिराले सबै पुरिदियो । पहिरोले खेत र धानबाली पुरिँदा करोडौँ रुपैयाँको नोक्सानी भएको छ,” उनले भने, “लोकमार्गको भ्यूटावरनेर नाली सबै बन्द भएको छ । माथिबाट आएको भल सबै खेतमा आयो र पहिरो पनि ठूलो आयो त्यसले गर्दा यति धेरै नोक्सानी भयो । रासस
प्रतिक्रिया दिनुहोस्