नेपालले जित्यो केन्याविरुद्धको एकदिवसीय शृंखला
१८ भदौ, काठमाडौं । कप्तानको भूमिकामा रहेका रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले शनिबार केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा १७ रनको विजय हासिल गरेको छ ।
योसँगै नेपालले तीन खेलको एकदिवसीय शृंखला २–० ले जितेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । नेपालले यसअघि पनि पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको थियो ।
नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा रोहितकुमारले नेपालको नेतृत्व गरेका छन् । रोहितले नैरोबीस्थित जिमखान क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए ।
रोहितले ७८ रन बनाएपछि नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभरमा सबै विकेट गुमाएर २१३ रन मात्र बनाउन सक्यो ।
योसँगै नेपालले रोहितकुमारको कप्तानीमा पहिलो एकदिवसीय शृंखला जितेको छ । रोहितकुमारले ९५ बलमा सात चौकासहित ७८ रन बनाएका हुन् । ओपनर देव खनालले ३७ रन जोड्दा अर्जुन साउदले पाँच रन बनाए ।
ज्ञानेन्द्र मल्लले २५ रन जोडे । सोमपाल कामीले २६, बासिर अहमदले १७, आदिल अन्सारीले १४ र करण केसीले ११ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरी दुई रन बनाएर आउट भए ।
केन्याका कप्तान शेम एनगोचे, भीराज पटेल र एनएन आधियाम्बोले समान दुई विकेट लिए । लुकास ओलुओच, राकेप पटेल र जेरार्ड एमवेन्दले एक/एक विकेट लिए ।
२३१ रनको लक्ष्य पछ्याएको केन्याका लागि राकेप पटेलले ८१ रन बनाए । कोलिन्स ओबुयाले ३७, नेल्सन ओधियाम्बोले २८, जेरार्ड एमवेन्दले २० तथा नेहेमिह ओभियाम्बो र एनगोचेले समान १२ रन जोडे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । सोमपाल कामीले तीन विकेट लिए । करण, आदिल र पवन सर्राफले एक/एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्