सुचना उपलब्ध गराउन आनाकानी गर्दै हेटौंडा उपमहानगरपालिका
१३ भदौ, हेटौंडा । सार्वजनिक महत्व बोकेका बिषयमा हेटौंडा उपमहानगरपालिकाले सुचना उपलब्ध गराउन आनाकानी गरेको छ । नेपालको संबिधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार हेटौंडा उपमहानगरपालिका संग माग गरिएको सूचना प्राप्त नभएको हो ।
पत्रकार अनिल पराजुलीले २०७९ भदौ ५ गते हेटौंडा उपमहानगरपालिका संग सार्वजनिक महत्वका बिषयमा सूचना माग गरेका थिए । उनले हेटौंडा उपमहानगरपालिका संग आर्थिक बर्ष २०७४ देखि २०७९ सम्म हेटौंडा उपमहानगरपालिकाले चिया, नास्ता, खाना, खाजा, होटलवास, अतिथी सत्कारको लागि गरेको खर्चको प्रमाणित प्रतिलिपि, सुचना तथा संचारको नाममा टेलिभिजन, पत्रपत्रिका, रेडियो, अनलाइन, भिडियो, फोटो लगायतका बिषयमा गरेको खर्चको विवरण, हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र रोपण गरिएको विरुवा, बिरुवाको जात, रोपिएको स्थान, टुप्पो काट्न तथा बिरुवा हुर्काउन ५ बर्षमा लागेको खर्च विवरण माग गरेका थिए ।
त्यस्तै नव निर्वाचित जनप्रतिनिधिका लागि खरिद गरिएको फर्निचर, साजसज्जाको सामाग्री खरिदको सम्पूर्ण विवरण पनि माग गरेका थिए ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र रहेका नीजि तथा सामुदायिक बिद्यालयको सम्पूर्ण विवरण, बिद्यार्थी संख्या, शिक्षक दरबन्दी, करारमा राखिएका कर्मचारी, बिद्यार्थीले तिर्ने शुल्क विवरण, प्रदान गरिएको छात्रबृत्ति सम्बन्धी विवरण, हेटौंडा उपमहानगरपालिकाले निर्माण गरेको पसल क्वलको सम्पूर्ण विवरण, मासिक भाडादर, हेटौंडा ४ मा भत्काईएको सभाहलको निर्माण खर्च, भुटनदेवी माविले निर्माण गरेको सटरहरु भवन इजाजत र हेटौंडा उपमहानगरभित्र निर्माण भएका व्यवसायिक भवनको अन्डग्राउण्ड पार्किङ भए÷नभएको तथा भवन निर्माण गर्दा दिईएको इजाजतका बिषयमा सूचना माग गरिएको थियो ।
सार्वजनिक चासोका बिषयमा माग गरिएको सूचना एक सात बित्दा पनि उपलब्ध गराउन हेटौंडा उपमहानगरपालिकाले आनाकानी गरेको छ । हेटौंडा उपमहानगरपालिकाका सुचना अधिकारी भानुभक्त थपलियाले सम्बन्धीत शाखा र महाशाखाहरुमा सूचनाका लागि पत्र काटि सकेको भएपनि सम्बन्धीत शाखा र महाशाखाले सूचना नदिएकाले माग गरिएको सूचना उपलब्ध गराउन नसकिएको उनले बताए ।
एक सात बित्दा पनि सूचना अधिकारी मार्फत माग गरिएको सूचना प्राप्त नभएपछि प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईलाई जानकारी गराईएको थियो । उनी बिदामा रहेकाले निमित्त प्रमुख गंगाधर रिमाललाई जानकारी गराउँदा उनले मौखिक रुपमा आगामी एक साताभित्र सबै सूचना उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
सार्वजनिक चासोको बिषयमा माग गरिएको सूचना दिन हेटौंडा उपमहानगरपालिकाले आनाकानी गर्नु शंकास्पद भएको जानकारहरुको भनाई छ । सम्पन्न भईसकेका कार्यको विवरण लुकाउन खोज्नुले हेटौंडा उपमहानगरपालिकाको पारर्दशिता प्रति प्रश्न चिन्ह खडा भएको छ अहिले ? हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक महत्व वोकेका महत्वपूर्ण सूचनाहरु सार्वजनिक नगरी लुकाउन थालेपछि सुचना माग गरिएको हो । सार्वजनिक रुपमा प्रकासित गर्नुपर्ने जनसरोकारका महत्वपूर्ण सूचनाहरु लुकाउनाले जिल्लामा दण्डहिनता र भ्रष्टाचार समेत चरम रुपमा मौल्याएको भान हुन्छ ।
प्रतिक्रिया दिनुहोस्