अवैध संरचना हटाउन रत्नपार्क क्षेत्र पुग्यो महानगर टोली
१२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोलीले आइतबार रत्नपार्क क्षेत्रका अवैध संरचना हटाउन थालेको छ।
गत सोमबार काठमाडौंको नयाँ बानेश्वरबाट सुरु गरेको सो अभियानलाई आज पनि निरन्तरता दिएको छ। भोटाहिटी र रत्नपार्क जोडिने अन्डरपास माथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो।
पैदलयात्रु हिँड्ने सबवेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन लागिएको उनले बताए।
रत्नपार्क नजिकैको सबवेमा बनाएको अनाधिकृत संरचना नगर प्रहरीको टोलीले फलामको रडले भत्काएको छ। सडकमा नक्सापास बिनाका संरचना बनाइ व्यवसाय सञ्चालन गरीएको छ।
सबवेको तल रहेको सात वटा सटर बाहेकका संरचना हटाइने नगर प्रहरीले जनाएको छ। सबवेमा सटर निर्माण गरिएको थियो। अहिले थोरै भत्काइएको छ। बेलुकासम्ममा डोजर लगाएर भत्काउने महानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्