महानगरको सूचना नमान्नेविरुद्ध मेयर शाह फिल्डमै

फाइल तस्बिर

१० भदौ, काठमाडौं । ‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो।  मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ मैले के बिराएँ ? अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनुहोला।  नक्सा जसरी पास भएको छ।  त्यहीअनुसार बनाइदिनु होला। ’ बिहीबार दिउसो काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटस हो, यो।  अनधिकृत रूपमा बनेका संरचना हटाउन उनले बाध्य भएर डोजर चलाउनुपरेको बताएका छन्।  

अन्डरग्राउण्ड पार्किङलाई अरू प्रयोजनमा नलगाउन भनेर महानगरले ३५ दिने सूचना जारी गरेको बताउँदै महानगरको सूचना नमान्नेविरुद्ध मेयर शाह फिल्डमै उत्रिएका छन्।  बिहीबार दिउँसो बबरमहलस्थित अल्फाबिटा हाउसको पार्किङ एरियामा व्यवसाय सञ्चालन गरेको पाइएपछि नक्सासहित उनी त्यहाँ पुगेका थिए।  अल्फाबिटा हाउसले सडकपेटीमा पार्किङ गराएको, नक्साविपरीत संरचना बनाएको र पार्किङको ठाउँमा पसल सञ्चालन गरेको पाइएपछि अल्फाबिटाका निर्देशक द्विराज शर्मा र मेयर बालेन्द्रबीच भनाभनसमेत परेको थियो।  

frontline

निर्देशक शर्माले अल्फाबिटाले नक्सा पासअनुसार नै संरचना बनाएको बताएपछि मेयर शाहले नगरपालिका पुगेर नक्सा निकालेर पुनः डोजरसहित अल्फाबिटा पुगेका थिए।  बिहीबार अल्फाबिटाको अनधिकृत संरचना महानगरले भत्काएको छ।  

काठमाडौं महानगरले अन्डरग्राउन्ड पर्किङलाई अन्य प्रयोजनमा प्रयोग नगर्न र प्रयोगमा भएको भए हटाउन भन्दै ३५ दिने सूचना जारी गरेको थियो।  सूचनाको म्याद सकिएकै दिन महानगरले बानेश्वर, कोटेश्वर क्षेत्रमा संरचना हटाउन सुरु गरेको थियो।  बुधबार काठमाडौं मल, न्युरोडको आरबी कम्प्लेक्सलगायतका भवनको पार्किङ एरियामा डोजर चलाइएको थियो।  शुक्रबार भने मेयर बालेन्द्र आफैं नक्सा लिएर अल्फाबिटामा पुगेका थिए।  

चाडपर्वको मुखमै पसल भएको एरिया महानगरले भत्काउँदा व्यवसायी भने आक्रोशित देखिए पनि स्थानीयवासी भने खुसी देखिएको छन्।  युवाहरूको ठूलो झुण्डले शाहलाई साथ दिइरहेको देखिन्थ्यो।  मेयरसँगै काठमाडौं उपत्यका ट्राफिक महाशाखा प्रमुख डीआईजी मीरा चौधरी टोलीसहित उपस्थित जनाएकी थिइन्।  

मेयर शाहले पार्किङ भनेर नक्सा पास भएका तर अन्य रूपमा प्रयोगमा आएका संरचनाहरूको खोजी, अनुगमन र कारबाही सुरु हुने बताएका छन्।  यसका साथै पार्किङको अभावमा सडकमा सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता हटाउन सहरको वास्तविक समस्या थाहा पाउन र नायँ योजना बनाउन सहज हुने बताएका छन्।  कारबाहीभन्दा पनि महानगरप्रतिको जिम्मेवारीले पनि उपत्यकावासी सबैलाई सजक हुन आग्रह गरेका छन्।  

कीर्तिपुर नगरपालिकाले पनि चलायो डोजर कीर्तिपुर नगरपालिकाले पनि शुक्रबार मापदण्ड नपुर्‍याइ बनाइएका संरचनामा डोजर लगाएको छ।  कीर्तिपुर नगरपालिकाको भवन रहेको स्थान नजिकै रहेको संरचनामा शुक्रबार दिउँसो डोजर चलेको छ।  नगरपालिकाका कानुन शाखा प्रमुख सुजिन्द्र महर्जनका अनुसार पालिका भवन छेउमा रहेको एक घरले मापदण्ड पूरा नगरी बाटो नै छेकिने गरी सिमेन्ट संरचना बनाएपछि भत्काउन पटक–पटक आग्रह गरिएको थियो।  स्थानीय जय महर्जनले बाटोको भागै मेटिनेगरी संरचना निर्माण गरेका थिए।  उक्त संरचनामा फोटोकपी, प्रिन्टलगायतका पसल सञ्चालनमा थिए।  

‘मापदण्ड पूरा नगरेको संरचना हटाउन पटक–पटक छलफल गरेका हौं।  लिखित रूपमै समय दिएका हौं।  समय सकिएको ३ दिन भइसक्दा पनि संरचना घरधनीले नभत्काएपछि डोजर लगाउन बाध्य भयौं,’ महर्जनले भने।  उक्त संरचनामा डोजर लगाउँदै गर्दा घरधनी महर्जनले डोजरमै चढेर अवरोध गरेका थिए।  फिल्डमै उत्रिएर अवरोध गरेका थिए।  नगर परिसरमा उपस्थित भएका प्रहरी र नगर प्रहरीले घरधनीलाई रोकेका थिए।  काठमाडौं महानगरको नगर प्रहरी प्रमुख रोजनाथ पाण्डेले सहरका सडक खाली गर्नु महानगरको जिम्मेवारी भएको बताए।  उनले उपत्यकावासी सवैलाई महानगरको नियम मान्न आग्रह गरेका छन्।  

‘एक प्रयोजनमा निर्माण गर्ने, अर्को प्रयोजनमा प्रयोग गर्ने छुट कसैलाई पनि छैन।  गलत काम घरधनीले गरेको हो भने क्षतिपूर्ति पनि उनीहरूसँगै माग्नुपर्छ।  यसका लागि महानगरले समन्वयकारी भूमिका खेल्नेछ,’ उनी भन्छन्, ‘कागजात हेरेर, भेरिफाइ भएर मात्रै पसल सञ्चालन र लगानी गर्नुपर्‍यो नि। ’ विभिन्न सञ्चार माध्यममा सूचना दिएर म्याद जारी गर्दा पनि घरधनीले थाहा पाइनँ भनेर भन्नु लज्जास्पद भएको बताउँदै पसल सञ्चालकलाई परेको हानिको क्षतिपूर्ति उनीहरूले नै दिनुपर्ने नैतिक दायित्व भएको पाण्डेले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here