बाँदरको टोकाइबाट मझुवागढी नगरपालिका–५ लफ्याङका १२ वर्षीय बालक घाइते
२८ साउन, काठमाडौं । बाँदरको टोकाइबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ काफ्लेगाउँका १२ वर्षीय नातीकाली कट्वाल घाइते भएका छन् । मकैबारीमा हुल बाँधिएर पसेको बाँदर धपाउने क्रममा कट्वाललाई लाखुले टोकेको हो ।
बाँदरको टोकाइबाट देब्रे खुट्टाको पिँडुलाको अगाडि र पछाडि गहिरो चोट लागेका कट्वालको टेकु अस्पतालमा उपचार भइरहेको लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले बताए ।
बाँदरको टोकाइबाट सख्त घाइते भएका कट्वालाई जिल्ला अस्पतालले रेफर गरेपछि काठमाडौं लगिएको हो । स्थानीय देबिस्थान सामुदायिक वनआसपासको मकैबारीमा पसेको बाँदर धपाउने क्रममा उनलाई टोकेको हो ।
धपाउन गएका मान्छेलाई नै बाँदरले टोकेपछि स्थानीय त्रसित छन् । १० स्थानीय तह रहेको खोटाङका अधिकांश ठाउँमा बाँदरको समस्या छ ।
०७५ फागुनमा बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्याउने भन्दै भारतको खुसीनगर उत्तरप्रदेशका पेसेवार सिकारी ल्याएर लफ्याङको छार्का, लुछिम लगायतका स्थानबाट दर्जनौं बाँदर समातिएको थियो ।
नगरपालिकाकै आर्थिक सहयोगमा लफ्याङमा ७ फागुन ०७५ देखि ‘बाँदर समाउ’ अभियान थालिएको थियो । तर, निकुञ्जमा लैजान भन्दै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानुनी प्रावधानले जटिलता आइपरेको थियो ।
त्यसपछि १ चैत २०७६ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका बाँदर पीडित किसानले नगरपालिका समक्ष तारजालीको खोर बनाएर बाँदरलाई थुन्ने व्यवस्थाको माग गरेका थिए ।
१९ फागुन २०७६मा दिक्तेलको हेलिप्याडमा भएको भेलाको निर्णय अनुसार किसानले बाँदरलाई खोरमा थुनेर राख्ने व्यवस्थाका लागि नगरसमक्ष बजेट माग गरेका थिए ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले किसानले बाँदरको समस्या हल गर्न माग गर्दै १ चैत ०७६ मा हलो, जुवा, दाँते र कोदालोसहित र्याली प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्