बाढी पहिरोले नुवाकोटका अधिकांश स्थानमा यातायात अवरुद्ध

२५ साउन, नुवाकोट  । बाढी र पहिरोले नुवाकोटका विभिन्न स्थानमा क्षति पुगेको छ । बाढीले सडक र पुल बगाउँदा अधिकांश स्थानमा यातायात अवरुद्ध भएको छ । 

नुवाकोटको पूर्वी भेगमा आएको बाढीले पुल बगाउनुका साथै एक जलविद्युत आयोजनमा क्षति पुर्‍याएको छ । बाढीले सातविसेस्थित वुद्धभूमि जलविद्युत आयोजनाको ड्याममा क्षति गरेका कारण विद्युत उत्पादन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

frontline

प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार ड्याममा थुनिएका तीनजना कामदारको उद्धार गरिएको छ । पुलमा क्षति पुगेका कारण छहरे–ढिकुरे सडकमार्ग अवरुद्ध भएको छ । 

यस्तै तादी खोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका ३ राउतवेसी, तादी ४ सातविसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पुल, पञ्चकन्या २ आपार र तादी ५ वाहुनवेशी जोड्ने पुल र पञ्चकन्या १ को सिमरा फाँट र लिखु गापा ३ सुर्यमति र  ढिकुरे बजार  जोड्ने पुलमा क्षति पुगेको छ।

अवरोध हटाएर यातायात सञ्चालनको पहल भइरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले सम्बन्धित निकायलाई पहिरो पन्छाउनुका साथै पुलका संरचना मर्मत गरेर यातायात सञ्‍चालनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए । 

यता, तादी खोलामा आएको बाढीले विदुर नगरपालिका देवीघाटस्थित जालपादेवी मन्दिर क्षेत्रमा क्षति गरेको छ । 

बाढीले मन्दिर नजिकै रहेको किरियापुत्री भवनमा समेत क्षति पुग्नुको साथै सितल ताप्ने पाटी बगाएको छ । 

बाढीले जालपादेवी मन्दिर आसपास बनाइएका टहरा तथा संरचनामा क्षति पुगेको छ।सो क्षेत्रमा घरहरु समेत उच्च जोखिममा पारेको स्थानीय युवा नवीन चित्रकारले बताए । मन्दिरको पूर्वतर्फ रहेको हनुमान ढुंगाबाट पर्खाल भत्काएर बाढी पसेर क्षति गरेको उनले बताए । 

बाढीका कारण त्रिदेशीय मार्ग अवरद्ध भएको छ । पहिरोका कारण सडक बगाउँदा त्रिशूली–वेत्रावति–मैलुङ–रसुवागढी तथा पासाङल्हामु सडकमार्ग अन्तर्गत  वेत्रावति–राम्चे सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोले रसुवाको उत्तरगया गाउँपालिका- ५ नौविसे नयाँबस्तीमा सात घरमा क्षति पुर्‍याएको छ ।  

पहिरोले स्थानीय मानबहादुर थापामगर, दिपबहादुर थापामगर, विष्णुबहादुर थापामगर, सम्झना घले, कान्छी थापामगर, रवि थापामगर, राजु थापामगरको घरमा क्षति पुगेको वडाध्यक्ष यमनाथ आचार्यले जानकारी दिए । 

 पहिरोले पासाङल्हामु सडकमार्ग अन्‍तरगत रसुवाको उत्तरगया ५ वनुवाघुम्तीस्थित सडक बगाउँदा यातायात पूर्णरुपमा ठप्प भएको छ । 

पासाङल्हामु मार्गको वेत्रावति–राम्चे र सोही पहिरोले तल रहेको त्रिदेशिय सडकमार्ग अन्र्तगतको वेत्रावति–मैलुङ–रसुवागढी सडक अवरुद्ध भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले जानकारी दिए । 

उनका अनुसार पहिरो पन्छाएर छिटोभन्दा छिटो यातायात सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको  छ। गोसाइकुण्डमा जनैपूर्णीमाका अवसरमा लाग्ने मेलामा गएका तीर्थयात्री बीच बाटोमै रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here