कोरोना देखिएपछि भोजपुरको टेम्केमैयु गाउँपालिकाका तीन विद्यालय बन्द

सान्केतिक तस्बिर

२३ साउन, खोटाङ । कोरोना संक्रमण देखिएपछि भोजपुरको टेम्केमैयु गाउँपालिकाका तीनवटा विद्यालय बन्द गरिएको छ ।

उक्त पालिकाको वडा नं. ३ अन्नपूर्णस्थित बाघधन रणदीपा राई माध्यमिक विद्यालय, छाङछाहाङ प्रावि र वडा नं. ७ को जनोदय मावि बन्द गरिएको हो ।

frontline

बाघधन रणदीपा राई माविका पाँच विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि साउन २७ गतेसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक डम्बर राईले बताए ।

२७ गतेसम्म कोरोना संक्रमणको अवस्था हेरेर विद्यालयको पठनपाठन सञ्चालन गर्ने या बन्द लम्ब्याउने भन्नेबारे टुङ्गो लगाइने उनको भनाइ छ ।

‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको देखियो‚’ राईले भने‚ ‘त्यसैले २७ गतेसम्मका लागि विद्यलाय बन्द गरियो ।’

उक्त वडाकै छाङछाहाङ प्राविकी एक शिक्षिका र दुई विद्यार्थीमा समेत कोरोना देखिएपछि दुई दिनका लागि विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द गरिएको प्रअ लक्ष्मी घिमिरेले बताए ।

विद्यार्थीको अवस्था हेरेर बिदा लम्ब्याउने वा विद्यालय सञ्चालन गर्ने भन्नेबारे टुङ्गो हुने घिमिरेको भनाइ छ । उक्त विद्यालयमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउनेलगायत लक्षण देखिएका बिरामी बढेको घिमिरेले सुनाए ।

सोही पालिकाकै वडा नं. ७ कोटको जनोदय माविका प्रअसहित १३ जनामा कोरोना देखिएपछि २७ गतेसम्मकै लागि विद्यालय बन्द गरिएको छ ।

प्रअ अरुण चौधरीका अनुसार आफूसहित दुई शिक्षक र ११ विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको हो ।

उक्त पालिकाको वडा नं. ८ गोगनेमा पनि कोरोना संक्रमितको संख्या बढेको छ । बिरामीको संख्या बढेको जानकारीपछि परीक्षणको तयारी गरिएको टेम्केमैयु गाउँपालिका शिक्षा शाखा प्रमुख राजन ढकालले बताए ।

बालबालिकाले कोरोनाको खोप पनि नलगाएकाले समस्या पैदा हुने अवस्था आएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here