मनाङको कोतोमा सडक बगाएपछि बेसीशहर–चामे सडक अवरुद्ध, सचेत रहन आग्रह
१६ साउन, काठमाडौं । निरन्तरको वर्षासँगै आइतबार रातिदेखि आएको बाढीपहिराले सडक बगाएपछि हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ ।
बाढीपहिराले लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारस्थित घोप्टेभिर र मनाङको कोतोमा सडक बगाएपछि सोमबार विहानैदेखि बेसीशहर–चामे सडक अवरुद्ध भएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयका सवइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिनुभयो ।
सडक बगाएपछि चामेको कोतोमा मानिस वारपार गर्न समस्या भएको उहाँले बताउनुभयो । खोल्सीको बाढीले कोतोमा २० मिटरजति सडक बगाएको अधिकारीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सदरमुकाम चामे नजिकै खोल्सीमा आएको बाढीले कोतोको सडक बगाएको बताउनुभयो ।
सडक खुलाउनका लागि काम भइरहेको छ । लगातार वर्षा भइरहेकाले सचेत रहन उहाँले जिल्लावासीलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्