मकवानपुरका खोला तथा खहरेमा पानीको सतह र बहाव बढ्यो,सतर्क रहन आग्रह
१६ साउन, हेटौंडा । आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ।
खोला तथा खहरेको शिरमा निरन्तर पानी परिहेकोले नदी तथा खहरेमा पानीको बहाव बढेको छ। आज बिहान १०:२० सम्म मनहरी रजैयामा राप्ती खोलामा पानीको तह २.४८१ मिटर मापन गरिएको छ। जहाँ पानीको तह ३.३० मिटर पुगे सतर्कता रहन जरुरी देखिन्छ ।
त्यसैगरी आज बिहान १०:४० बजे सम्म लोथर खोलामा पानीको तह ३.३४३ मिटर मापन गरिएको छ। जहाँ पानीको तह ६.५० मिटर पुगे सतर्कता रहन जरुरी देखिन्छ।
अघिल्लो २४ घण्टाको तुलनामा मकवानपुर भएर बग्ने सामरी खोला,कर्रा खोला,कुखरेनी खोला लोथर तथा मनहरी खोलामा सोमबार बिहान पानीको बहाव बढेको हो।
यता मकवानपुर प्रशासनले बहाव बढेकोले नदि तटीय आसपास क्षेत्रमा सतर्क रहन तथा सम्भावित खतराबाट जोगिन भनेको छ।
मकवानपुरका प्रजिअ राजेन्द्र देव पाण्डेले प्रष्ट खबरसँग कुरा गर्दै लगातारको बर्षाले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरेर विपद व्यवस्थापनको टोलीलाई तयारी अवस्थामा राखिएको बताएका छन्।
उनले बिहान १०:३० सम्म कुनै अप्रिय खबर प्राप्त नभएको समेत बताएका छन्।
प्रतिक्रिया दिनुहोस्